अबदेखि विमान सञ्चालनमा कडा नियम, मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो ।

‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौँ,’ प्रवक्ता कर्णले भन्नुभयो । अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो । अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उहाँको भनाइ छ ।

यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ । भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आइएफआर विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागू नहुने उहाँको भनाइ छ । आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै प्राधिकरणले विमान उडानसम्बन्धी कडा नियम ल्याएको हो ।

शव संकलन कार्य सम्पन्न, ब्ल्याकबक्स पनि भेटियो
तारा एयरको विमान दुर्घटनास्थलबाट थप १२ यात्रुको शव मंगलबार काठमाडौं ल्याइएको छ । ती सबै शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ । यसअघि सोमबार साँझ १० वटा शव काठमाडौं ल्याइएको थियो । थप १२ जनाको शव भने घटनास्थलमै संकलन गरी मंगलबार मात्रै काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सानोसोरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार दिनभर उद्धार प्रयास गरिए पनि सोमबार मात्रै उक्त विमान मुस्ताङको थासाङ दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत दुर्घटनास्थलबाट सबै २२ जना यात्रुको शव संकलन गरी पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।

दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव संकलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्सागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका-७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो ।

मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई प्राथमिकता नदिनु दुर्भाग्यपूर्ण’
मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनै पनि विमानहरू थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रिय रूपमा अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विगतमा पनि अधिकांश विमान दुर्घटना मौसम प्रतिकूलमा चलाएका कारण भएको बताउनुभयो । जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्व-सूचना प्रणालीलाई प्राथमिकता नदिएको टिप्पणी गर्नुभयो ।

उहाँले आगामी दिनमा पूर्व-सूचना प्रणाली कार्यान्वयन भए नभएको सूक्ष्म नियमन नगरे ठूलो जोखिम निम्तिने चेतावनी दिनुभयो । उहाँले जल तथा मौसम विज्ञान विभाग र निजी एयरलाइन्स बीचको तलमेल नमिल्दा पनि यस्तो दुर्घटना हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा जलवायु सम्बन्धित भएका विमान दुर्घटना नियाल्ने हो भने मौसमलाई आधार मानेर निर्णय लिने प्रक्रिया भएको छैन । यस्तो निर्णयमा पूर्व–सूचना प्रणालीलाई मानेको देखिँदैन । तर, यो मान्नुपर्छ । संसारमा जहाँ पनि यसलाई जलवायुको अवस्थालाई मध्यनजर गरेर विमान उडाइन्छ । हामीले यसलाई सूक्ष्म तरिकाले अनुगमन गरेनौँ भने यसले जोखिम निम्त्याउँछ ।’ यता, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभागले तीन दिनको पूर्वानुमान सम्बन्धित सरोकारवाला निकायहरूलाई सही समयमा गराइरहेको बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभागले तीन दिनको पूर्वानुमान सम्बन्धित सरोकारवाला निकायहरूलाई सही समयमा गराइरहेको बताउनुभयो । उहाँले ग्राउण्डमा रहेका विभागका अवलोकनका नेटवर्कहरूबाट प्राप्त सूचनालाई सही समयमै सम्बन्धित निकायलाई हरेक दिन बिहान र बेलुका ६ बजे उपलब्ध गराइएको बताउनुभयो । महानिर्देशक जोशीले कृषि, जलस्रोत विकास पूर्वाधार, पर्यटन र विपद् न्यूनीकरणको लागि सम्बन्धित निकायहरूमा पूर्व-सूचना दिने गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो ग्राउण्डमा हाम्रा अब्जर्बेसन नेटवर्क स्टेसनहरू छन् । त्यसको आधारमा प्राप्त सूचनाहरूलाई अहिलेको प्रविधि र उपकरणहरूको माध्यमले मोडेलको आधारमा हामीले प्रोसेस गरेर पूर्वानुमान गरिरहेका छौँ । नेपालमा अहिले पूर्वानुमानको एनडब्ल्युपी प्रोडक्ट प्रयोग भइरहेको छ । सोही आधारमा तीन दिनको पूर्वानुमान बिहान ६ र बेलुका ६ बजे सरोकारवाला निकायहरूको लागि सही समयमा सही सूचना दिने गरेका छौँ । तर, सही सूचना सही समयमा प्राप्त भएर पनि सही निर्णय समयमा हुँदैन भने त्यो सूचनाको खासै महत्व रहँदैन ।’

महानिर्देशक जोशीले गत वर्षको मनसुनपछि पनि विभागले पूर्वानुमानको सूचना निकालेको तर पालना गर्न नसक्दा कृषिमा ठूलो क्षति भएको बताउनुभयो । उहाँले अझै पनि आम नागरिकहरूमा मौसम पूर्वानुमानबारे बुझाइको कमी भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?