सुरुङको ढोका बन्द गरियो, अब मेलम्चीको पानी वर्षापछि मात्रै आउने

हिमालय टाइम्स
Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । मेलम्चीबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरिएको छ । वर्षा सुरु भएसँगै मंगलबार बिहानदेखि मेलम्ची खानेपानी आयोजनाले पानी पठाउन बन्द गरेको हो । वर्षाले सुरुङ र हेडबक्र्समा क्षति पु¥याउन सक्ने भन्दै पानी पठाउन बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको पानी बन्द गरिएको हो । यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको उहाँले बताउनुभयो ।

वैशाख ११ गतेदेखि अस्थायी संरचनाबाट पानी काठमाडौं ल्याउन थालिएको थियो । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीका कारण आयोजना क्षतिग्रस्त बनेको थियो । गत माघ १४ गतेदेखि आयोजना सफाइ तथा मर्मतको काम सुरु भएको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । गत वर्ष फागुनमा पहिलोपटक पानी पथान्तरण सुरु गरिएको थियो ।

उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो । सोही दिनमा आएको बाढीले यहाँका हेडबक्र्स लगायतका विभिन्न संरचनामा क्षति पुगेको थियो । मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन । वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन । सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो । मेलम्ची आयोजना निर्माण सुरु भएको दुई दशकपछि गत वर्ष अस्थायी रूपमा पानी काठमाडौं आइपुगेको थियो ।

मेलम्चीको पानी बन्द गरिए पनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा बागमतीकोे पानी प्रशोधन गरी राजधानीवासीलाई दिने योजना छ । मेलम्चीको पानी बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आफ्ना स्रोतहरू प्रयोग गरेर नियमित रूपमा पानी वितरण गर्ने योजना बनाएको छ । उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । यसअघि मेलम्चीको पानी थपिँदा उपत्यकामा झण्डै २७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो ।

पुनः कहिलेदेखि मेलम्चीको पानी आउन थाल्छ ?
मंगलबारदेखि बन्द गरिएको पानी कहिलेदेखि पुनः आउन थाल्छ भन्ने यकिन छैन । तर, मनसुन सकिएपछि फेरि वैकल्पिक प्रणालीबाट पठाउन थालिले मेलम्ची आयोजनाले जनाएको छ । मनसुन कति लम्बिन्छ त्यही आधारमा मेलम्चीको पानी रोकिने आयोजनाको भनाइ छ । सामान्यतः नेपालमा ११२ दिन मनसुन रहन्छ । यो वर्ष मनसुन असोज मध्य आसपासमा सकिने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यस वर्ष मनसुनको अवधि जेठदेखि असोजसम्म रहनेछ । विभागले यस वर्ष मुलुकका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । यसर्थ अब दशैँपछि मात्रै काठमाडौंमा पुनः मेलम्चीको पानी आउने अनुमान गर्न सकिन्छ ।

बर्खा सकिएपछि पुनः खोल्छौँ : पौडेल
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौडेलले बर्खा सकिनेबित्तिकै पुनः अस्थायी रूपमा काठमाडौं पानी पठाउन थालिने बताउनुभयो । तर, त्यसको मिति भने यकिन गर्न नसकिने उहाँको भनाइ छ । ‘वर्षा सुरु भयो । टनेलको सुरक्षाको लागि बन्द गरिएको हो,’ उहाँले भन्नुभयो, ‘वर्षा नसिद्धिन्जेल खोल्दैनौँ । पानी पर्न रोकिएपछि खोल्छौँ र वैकल्पिक माध्यमबाटै पानी पठाउन थाल्नेछौँ । तर, पानी पर्न कहिलेबाट रोकिन्छ भन्ने कुरा हामीले भन्न सक्ने कुरा भएन ।’ निर्माण कार्य भने अझै पूरा भइनसकेको उहाँले जानकारी दिनुभयो । गत वर्ष पनि निर्माण नसकिँदै पानी पठाइएको बताउँदै उहाँले अब बर्खापछि पुनर्निर्माणको काम हुने बताउनुभयो । ‘गत वर्ष पनि इन्टेक निर्माण नसकिँदै पानी पथान्तरण गरेको हो । गत वर्ष बाढी नआएको भए निर्माण पूर्ण हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘निर्माण नसकिँदै बाढीले डुबाइदियो । पूरै बाढीले पुरिएको छ । अब बर्खा रोकिएपछि पुनः निर्माण हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?