स्थानीय निर्वाचन र बालेनहरूको सन्देश

Read Time = 12 mins
A A- A+

✍️ मेघनाथ दाहाल
आममानिसले सोचेभन्दा पृथक तर अत्यन्त शान्त एवं शालीन किसिमले बालेन्द्रजीलाई काठमाडौं महानगरपालिकाका लागि बडो इज्जतिलो मतान्तरका साथ अबको पाँच वर्षको कार्यकालका लागि मेयरको कुर्सीको हकदार मतदाताले बनाइदिएका छन् । त्यसैगरी अझ अचम्म त अत्यन्त शान्त स्वाभाव र तामझाम नगरिकन नै धरानको मेयरमा हर्क राईले बाजी मारेका छन् । यही मेसोमा राजनीतिमा लागेका तर स्वतन्त्र उम्मेदवारीका साथ धनगढी र जनकपुरका मेयरसाहव बाजी मार्न सफल हुनुभएको छ । राजनीतिको नाममा विगत तीन दशकभन्दा बढीको समयमा मुलुकमा भएका बेथिति तथा बद्नियतपूर्ण कामहरूको बारेमा यहाँ केही कुरा गर्न खोजिएको छ ।

नेपाली राजनीति तथा सामाजिक जीवनमा मुख्य गरी दुई प्रकारको सैद्धान्तिक विचारको प्रभुत्व रहँदै आएको पाइन्छ । पहिलो मुलुकको सामाजिक-सांस्कृतिक मूल्य, मान्यता तथा विधिलाई विघटन नगरी तर नयाँ प्रविधि र विश्वव्यापी आधारभूत मानवाधिकारका मूल्य मान्यताको प्रत्याभूतिसहित प्रजातान्त्रिक विधिमा आधारित भएर जाने कुरा गर्दछ । यस तरिकाको मोडलमा समाज, राजनीति, विकास तथा समृद्धिको बाटोमा अगाडि बड्ने कुरा एउटा राजनीतिक शक्ति छ भने अर्को शक्ति जहिले पनि मुलुकमा आमूल परिवर्तन जसलाई उनीहरू आफ्नै शब्दमा क्रान्तिकारी परिवर्तन नगरी सर्वसाधारणको जीवनमा कुनै किसिमको चामत्कारिक परिवर्तन सम्भव नभएको तर्क गर्दछन् ।

पहिलोको राजनीतिक बटमलाइन प्रजातान्त्रिक विचार, पद्धति हो भने दोस्रो कित्ताले प्रजातान्त्रिक विधि, प्रक्रियालाई सत्ता र शक्तिको हतियारका रूपमा मात्र प्रयोग गरिएको कुरा उनीहरूकै नेताहरू बेलाबेलामा सार्वजनिक रूपमा व्यक्त गरिरहेका हुन्छन् । यी दुई फ्रन्टलाइनका समूहलाई प्रजातान्त्रिक र कम्युनिष्ट धारको रूपमा आजको दिनसम्म बुझ्दै आएका छौं । तर, यी दुवै समूहमा सैद्धान्तिक हिसाबले कुरा गर्ने हो भने कुनै तात्विक किसिमको फरकपन पाइँदैन । यिनीहरूको दर्शन, संगठन, पहुँच, अन्तर्राष्ट्रिय छवि तथा आर्थिक स्रोत एवं तिनको परिचालनमा लगभग समानता भेटिएकाले नेपाली राजनीतिमा एक किसिमको द्विविधा कायम रहन गएको छ । तीन दशक लामो प्रजातान्त्रिक पद्धतिमा त्रिसठ्ठी सालको शान्ति सम्झौतामार्फत राजनीतिको मूलधारमा र्‍याडिकल कम्युनिष्टको रूपमा आएका माओवादीको क्रियाकलापले क्रान्तिकारिताको धार छोड्दै भुत्ते बन्दै गएकाले वर्तमान नेपाली राजनीति स्पष्ट रूपमा दुई धारमा विभक्त हुँदै गएको छ ।

काठमाडौं उपत्यका आफैंमा सांस्कृतिक नगरी भएको कुरा यहाँ भएका विविध मठ, मन्दिर तथा स्तुपा र पाइलैपिच्छेका फरक–फरक संस्कृति झल्काउने विशेषताले दर्शाउँछ । आज उपत्यका आन्तरिक बसाइँ सराइको केन्द्रबिन्दु हुनपुगेको छ । रैथाने स्थानबाट अर्को स्थानमा बसाइँसराइ जो कोहीको पनि मन पर्ने विषय होइन तर आफ्ना विविध परिवेश, मानवीय क्षमता तथा चाहनानुरूप कसैलाई एक स्थानबाट अर्को स्थानम जान बन्देज लगाउन पाइँदैन र सकिँदैन । यो उपत्यकाको हकमा मात्र नभएर विश्वव्यापी मान्यतामा तथ्य हो ।

हाम्रो शहरी बसाइ धेरै लामो भएको छैन । काठमाडौं उपत्यका लिच्छविकालीन समयमा आजकोभन्दा माथिल्लोस्तरमा विकासित तथा व्यवस्थित रहेको तथ्य छन् तर त्यसले हामीलाई आजको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । हाम्रो केन्द्रीकृत मानसिकता तथा विकासको प्रारूपको कारण उपत्यका सबैको चासो तथा गन्तव्यको केन्द्र बन्दा जनसंख्याको चाप र पूर्वाधारको उचित व्यवस्था हुन नसक्दाको परिणाम राजधानी भन्न नसुहाउने अवस्थामा पुगिसकेको छ । तैपनि बसाइँसराइको चाप कम हुन सकेको छैन ।

राजनधानीवासीले न्यूनतम आवश्कयताका पूर्वाधारजन्य सुविधाको अभाव कत्तिको अनुभव गरेका रहेछन् भन्ने कुराको पछिल्लो उदाहरण भर्खरै सम्पन्न स्थानीय निर्वाचन हो । व्यवस्थापनको चुनावी मुद्दा कति पेचिलो रहेछ भन्ने कुराको अन्दाज बालेनजीको जितले देखाएको छ । उपत्यकाको रैथाने हुनुपर्ने, उमेरका कारण परिपक्क्वता नपुगेको, राजनीति नबुझेको, गीत गाउने मान्छे, कतिपयले त जातीयता तथा क्षेत्रीयताको नारा उचाल्नपछि नपरेको अवश्थाका बीचमा पनि राजधानीवासीले बालेनजीलाई जिताइदिएका छन् । तर, थोरै राजधानीको वास्तविकता बुझेको मानिसका लागि यो त्यति धेरै अस्वाभाविक विषयवस्तु होइन ।

बालेनहरूको जित लगभग सुनिस्चित गरिदिएका अरूहरूले नभएर स्वयं मूलधारका नेकपा एमाले र नेपाली कांग्रेसका विगत तथा वर्तमानका विविध क्रियाकलापले नै हो । हाल राजनीतीकरण भन्दा दलीयकरण यति घिनलाग्दो भयो कि हुने काम यसैको कारण बिगँ्रदै गएको छ । मूलधारका राजनीतिक दलहरू र तिनका हरेक क्रियाकलापमा सर्वसाधारणले विश्वास गरिहाल्ने ठाउँ नरहेको आभाष हुन थालेको उदाहरण हो । राजनीतिक नेतृत्वले जहिले पनि जनता र मतदातालाई नजरअन्दाज गर्ने, भन्न चाँहि जनता जनार्दन भन्ने तर व्यवहार रैतीको जस्तो गर्दाको परिणाम विस्तारै अगाडि बढेको छ ।

काठमाडौंको भौगोलिक तथा वातावरणीय स्थितिमा प्राकृतिकपन ल्याउन सकेमा शायदै यतिको मानव बस्तीका लागि अत्यन्त उपयुक्त स्थानहरू विश्वका अरू ठाउँमा होलान् । दक्षिणतर्फ पानीढलो भएको भौगोलिक बनावट, उत्तरतर्फका हिमशृंखला र उचाइको हिसाबमा औसतमा १३ मिटर तथा न त जाडो न त गर्मीको बीचमा अवस्थित यस सुन्दर नगरीलाई राम्रा मान्छेहरूको हातमा परेमा बनाउन धेरै समय नलाग्ने हो ।

राजधानीवासीले कम्तीमा पानी, फोहोर र ट्राफिक व्यवस्थापनमा मात्र बालेन नामको अत्यन्त शालिन ठिटाको क्षमता जाँच्नका लागि मताधिकारको प्रयोग गरेका हुन् । जानेको, बुझेको, पढेलेखेको तथा उसका कतिपय विचार र दर्शन जस्तो उपत्यका टोकियो, मुम्बई वासिंटन जस्तो नभएर भक्तपुर जस्तो सांस्कृतिक नगरी हुनुपर्ने कुरामा मतदाताले मत दिएका हुन् ।

उपत्यकाबाट बालेन्द्र शाह, धरानको हर्क राई (साम्पाङ), धनगढी, जनकपुरलगायत स्थानहरूमा स्वतन्त्र उम्मेदवारले जसरी जित हासिल गरेका छन् यसले हामीलाई मूलधारको राजनीति, तिनका क्रियाकलाप तथा नेतृत्वको सोच्ने तरिकाको बारेमा पुनर्विचार गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । राजनीति तथा यसको केन्द्रको शक्तिले जहिले पनि आफू सर्बेसर्र्वा भन्ने मानसिकता र अत्यन्त नराम्रो स्तरको दलीयकरणका कारण भएका संस्थाको गिर्दो कार्यक्षमता तथा टिकाउपनमै शंका रहेको छ ।

स्वतन्त्र उम्मेदवारहरूको विजय यात्राले यदि संसदीय निर्वाचनमा पनि निरन्तरता पाएको खण्डमा को कुन बेला कसरी बढारिने हुन् पत्तो छैन । संघीय तथा प्रान्तीय निर्वाचनमा पनि त काठमाडौं जनकपुर धनगढीका जस्ता स्वतन्त्रहरूको उम्मेदवारी पर्नसक्ने सम्भावना उत्तिकै छ । त्यसैगरी धरानका हर्कराज राईका सामाजिक कामहरूमा निरन्तरताको खबरदारी तथा अत्यन्तै अपत्यारिलो चुनावी अभियानका बीचमा जसरी धराने जनताहरूले माटो चिनेको र वास्तविकताको नजिक भएको व्यक्तिलाई हृदयदेखि नै मन पराएका छन् । यसलाई कम्तीमा लोकतन्त्रको साँचो प्रयोगको रूपमा लिएमात्र हाम्रो भलो हुने देखिन्छ । यद्यपि सबै स्वतन्त्रले कुनै दलविशेषको नजिक भएको कुरा आजका दिनसम्म बाहिर ल्याउनुभएको छैन र यो पाँच वर्षीय कार्यकालभरिमा नगर्दा नै राम्रो हुनेछ ।

राजधानीकै कुरा गर्ने हो भने धेरै ठूला र संसार हल्लाउने कुतर्कहरू भन्दा बालेनजीका पालामा उपत्यकावासीले पानीको वितरण, ट्राफिक व्यवस्थापन र फोहोरमैलाको दीर्घकालीन समाधानको बाटोमा महसुस हुने किसिमको काम गर्नसकेको खण्डमा हामी धन्य हुने थियौं किनभने कूटनीतिक तथा अन्य हिसाबमा नेपालको पहिचान उपत्यकाबाटै सुरु हुन्छ । आजको उपत्यका लगभग दैनिक रूपमा साठी लाख जनसंख्याको चाप धान्ने किसिमले तयार पार्नुपर्ने जिम्मेवारी बालेनजीको काँधमा छ भने भोलि उपत्यकाको भर्टिकल विस्तारले यो जनसंख्या दोब्बरभन्दा माथि पुग्नसक्ने हुनाले योजना निर्माण तथा दूरदृष्टिका साथमा काम गर्नुपर्ने हुन्छ ।

अन्त्यमा, काम गर्न सक्दैनन् भन्ने मुखहरूलाई जवाफ दिने किसिमले काम गर्न सफल हुनुहोस् । तपाईंहरूको संयम, धैर्य तथा कार्यक्षमताले भोलि पनि नयाँ पिँढी राजनीतिमा आउने साहस तथा चाहना राख्न सक्ने छ भन्ने कुरालाई नबिर्सिदिनु होला । वाचा गरेका काम गर्न सफल हुनु होला, शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?