प्रजातन्त्रको भविष्य र जनसहभागिता

हिमालय टाइम्स
Read Time = 16 mins
A A- A+

✍️ प्रा.डा.कुलप्रसाद कोइराला
आजको विश्वमा भएका १९५ वटा राज्यमध्ये सबैभन्दा राम्रो निर्वाचन पद्धति भएको देश कुन हो ? भनेर तपाईंका दिमागमा कुरो आयो भने दिमाग निरुत्तर हुँदो रहेछ । धेरै निर्वाचन पद्धतिका बीचमा छान्नुपर्दा एक व्यक्ति एक मत, र जसले धेरै ल्याउँछ त्यही विजयी हुने पद्धति हाम्रा देशका निमित्त उपयुक्त थियो । किनभने स्तरहीन शिक्षा, अपर्याप्त र प्रवचन प्रणालीबाट पाएका शिक्षाले दिमागलाई कति तिखार्छ मैले बुझ्न सकिन । हाम्रा समाजमा नै एक सयवटा सिक्नुपर्ने कुरा निर्धारण गरेर बालबालिकालाई शिक्षा दिनलाग्दा अहिले हाम्रा बालबालिकाले विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा बिताउने समयमै रामलक्ष्मण, कृष्णबलराम, लक्ष्मीसरस्ती, गायत्री, गार्गी, उत्पला, घोषाजस्ता नारी उत्पादित हुन्थे ।

उर्वशीले मैथुन याचना गर्दा पनि माता भनेर वयस्क नारीको पनि सम्मान गर्ने अर्जुन र अत्रीजस्ता आदर्श पुरुष पनि उत्पादन हुन्थे । तर, हाम्रा शासकका दिमागमा चन्द्रशमशेरको भूत जागेर आई बसिदिएका कारणले यो पद्धति विकलांग हुनपुगेको छ । जनतालाई धम्क्याएर आउँदा दिन अप्ठ्यारा हुन्छन् भनेर करोडौं करोड रुपैयाँ बाँड्दाबाँड्दै जनताले समातेर प्रहरीका जिम्मा लाएका एउटा ऐतिहासिक भूमिका निर्वाह गरेको पार्टीको जिल्ला सभापति नै पूज्य वरेण्य ठान्नुपर्ने बाध्यताका पाशामा परेका हुन्छन् जनता ।

त्यो देशको जनमतको के शक्ति र प्रभाव रहला मलाई आशंका लाग्न लागेको छ हाम्रो नैतिक स्तरमा । नेपालका लामो समय शासन गर्ने शासकमध्य चन्द्रशमशेर, भीमसेन थापाले ३०/३१ वर्षसम्म शासन गरेथे तिनको पनि चाहना पूरा नहुँदै गद्दी छाड्नु परेको थियो । पञ्चले पनि ३२ वर्ष शासन गरे तर तिनको पनि संस्कार होइन महत्वाकांक्षा मात्रै चुलिएको कुरो त पूर्वमहापञ्चका चिन्तन र क्रियाकलापले परिपुष्ट पारेको देखिएकै छ । सत्तामा नगएर त्याग गरेका एकजना हाम्रा नेताले पार्टीमात्रै छाडेनन् केही कुराका निमित्त जेहादै छेडेका थिए । बीजानुकूलको बिरुवा हुन्छ भन्ने कुरो सत्य नै अनुभूत भयो ।

नेपालमा गणतन्त्र आएपछिको दोस्रो निर्वाचनमा गएका नेपाली जनताको उत्साह, उमंग र योजना राम्ररी प्रकट भएको देखिएन । नदेखिनुका कारण खोज्दा जनतातिर भन्दा दलीय क्रियाकलाप नै कारणका रूपमा अगाडि आउँछन् । संसद बाहुबलको प्रयोगस्थल देखिनु, संसदको अवधिसम्म चल्न नदिनका निमित्त संवैधानिक दायराभन्दा पनि बाहिर गएर संसदको पटक-पटक अन्त्य गरिनुजस्ता कुरालाई असंसदीय व्यवस्थाका पक्षधरले गर्दा खास आश्चर्य मान्न मिल्दैन पनि । जसले संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भनेर संसदलाई दूषित शब्ददोष देखाउँछ ।

यस्ताले न प्रेसको सम्मान गर्छन् न त देश र जनताका निमित्त आवश्यक कुराको प्राथमिकता नै बुझ्न सक्छन् । डाँडाका टाउकामा टावर बनाउने मनोरेल चलाएर, पानी जहाजमा नेपाली झण्डा फहराउने, मंगलग्रहमा च्याउ खेती गर्ने जस्ता हावादारी कुरा गरेर कोरोनाले देशलाई ठप्प पारेका बेला बेसारपानीले कोरोना खल्यात्खुलुत जस्ता गोठाले गफ गर्ने प्रधानमन्त्री देशले पायो । अर्कातिर प्रतिपक्षी नेता पनि मुखमा पानी हालेर ओलीका बोलीमा लोली मिलाएर बसे । जनता यस प्रकारका क्रियाकलापबाट आजित भएर योग्य स्वतन्त्र उम्मेदवारले पो काम गर्छ कि भनेर विकल्प खोज्ने मनःस्थितिमा पुगेका थिए ।

यो मौका छोपेर पुराना खेलाडी खेल्नथालेछन् । यसै बेलामा एकजना महान् सपुतका पुत्रले पारिवारिक बिरादर स्थापना गर्नखोज्दा अब उठ्न नसक्नेगरी उनी पछारिएका मात्रै छैनन् आफ्ना स्वनामधन्य पितामातालाई पनि कल्मषयुक्त बनाउन पुगे । कांग्रेसमा पनि पुराना तर जीवनमै राम्रो काम गर्न नसकेका मान्छे नेतृत्वमा आए । उनले टिकट दिँदा यो पटक पनि परिवार, बृफकेस, चाकडीचाप्लुसी आदिलाई प्राथमिकता दिएको देखियो । यसो भएको हुनाले पहिला ७५ प्रतिशत भन्दामाथि जनसहभागिता भएको थियो तर यो पटक ५५ प्रतिशत भन्दामाथि पुग्न सकेन ।

मतपत्र पनि अत्यन्तै लामो, भ्रममूलक अव्यावहारिक बनायो निर्वाचन आयोगले । निर्वाचन आयोग लोभानी पापानीमा नपरेको भए मतपत्र यस्तो पक्कै हुनेथिएन । यो व्यवस्थापिकीय कमजोरी हो । वैदेशिक सेवामा या रोजगारीका निमित्त विदेश गएका नेपाली होइनन् ? तिनलाई मतदान गर्ने व्यवस्था मिलाउनु सरकार, दल र निर्वाचन आयोगकै पनि परम कर्तव्य होइन र ? चन्द्रशमशेरको मानसिक सोच जसले जनतालाई हेप्छ, कार्यकर्ता र अरू मानवलाई पनि मान्छे नै ठान्दैन । संस्था व्यक्ति र दलका नायिकेबाट पनि यस प्रकारको सोच नगएको देखियो ।

न सरकार सरकारजस्तो देखियो नदल दलजस्ता देखिए न निर्वाचन आयोग निर्वाचन आयोग जस्तो व्यवस्थपकीय दक्षता भएको देखियो । यी सारा विसंगतिको अभिव्यक्ति काठमाडौं, धरान र धनगढीका मतदाताले स्पष्ट चुनौती दिएको देखियो । जनता नेताजसरी मञ्चमा गएर बोल्दैन उसलाई अवसर छैन हुँदैन पनि एउटा निश्चित अवसरमा उसले आफ्नो अभिमत दिन्छ त्यो नमान्ने भडखालामा पर्छ किनभने जनतानै देशका मालिक हुन् ।

अबका दिनमा सरकार, राजनीतिकदल, निर्वाचित प्रतिनिधि, विद्वान् बौद्धिकजमात, निजी आर्थिक उद्योगपति र व्यापारी, निर्वाचन आयोग आदि लगायत सबै मिलेर (क) नोभोटको व्यवस्था गनुपर्छ (ख) उम्मेदवार छान्दा आकांक्षीका बीचमा दलहरूले प्रतिस्पद्र्धा गराएर जो बहुजनले रुचाएको हुन्छ त्यसलाई टिकट दिने व्यवस्था गर्नैपर्छ (ग) व्यक्तिको योग्यता, क्षमता, आबद्धता, सक्रियता र लोक प्रियताबाहेक अन्य कुनै पनि आधार उम्मेदवार छान्ने आधार बनाइनु हुँदैन (घ) जनताको प्रतिनिधि बन्न चाहनेले पहिले र कार्यकाल सकेर फर्कंदा पनि चलअचल सम्पति सार्वजनिक गर्ने परिपाटी बसाउनुपर्छ (ङ) आ-आफ्ना दलका विधानले तोकेका सर्त कठोरतापूर्वक पालन गर्नैपर्छ ।

शेबदेले सारे झैं जस्तोसुकै परिस्थिति आइपरे पनि सार्न निषेध गर्नैपर्छ (च) सरकारी, गैरसरकारी सेवामा बहाल रहेका व्यक्तिलाई कुनै पनि राजनीतिक पार्टीमा सक्रिय या सङ्गठित आदि प्रकारका सदस्य बन्न निषेध गर्नैपर्छ (छ) मन्त्री बनाउँदा पनि सम्भव भएसम्म विषयगत दक्षता र विज्ञता हेरेर मन्त्रालय तोक्ने काम लागू गर्दै लैजानुपर्दछ (ज) आजका युगमा निर्वाचनपछि १५ दिन परिणाम पर्खने अवस्थालाई अन्त्य गर्न सजिलो, वैज्ञानिक मतदान विधि अवलम्बन गर्नुपर्छ । दल, सरकार तथा निर्वाचन आयोगले जनतालाई मतदान शिक्षा प्रभावकारी किसिमले चलाउनुपर्छ र यसलाई नियमित जस्तै गर्नु पनि पर्छ ।

यी कुराका अभावमा अब प्रजातन्त्रको सुदृढीकरण दिवास्वप्नबत् बन्दै जानेछ । अति भयो दलका नेताले मुखछाडेर एकअर्कालाई होच्याउने प्रयासको प्रदर्शन गरेको अब तिनले पनि छातीमा हात राखेर सुध्रनैपर्छ । हिजो राजसंस्थाले जनता र दललाई नगन्दा २४० वर्षदेखि जनताको प्रिय गर्ने र भलो चिताउने ठानिएको संस्था जसरी आत्मस्वीकृतिपूर्वक खुम्चिएर राज्यसत्ता परित्याग गरेर बस्नु परेको थियो भोलि दलको विकल्पमा दलै आए पनि आज भाँडभैलो गर्ने दलका मान्छे भने किनारा लागेर बस्नुपर्ने दिन आउनसक्छ । भारतीय राष्ट्रिय कांग्रेसमा पन्पिएको परिवारवादको दादागिरीले वैधानिक प्रतिपक्षको हैसियतसम्म नपाउने अवस्थामा पुर्‍याएको हामी सबैले देखेका छौं । राजा नहुषले इन्द्रपत्नीसँगको मिलनका हतारले सप्तर्षिलाई डोली बोकाएर आफू त्यो डोलीमा चढेर ‘सर्पगच्छ सर्पगच्छ’ चाँडो हिँड चाँडो हिँडभन्दा ऋषिहरू रिसाएर समवेत स्वरमा सर्पो भव भन्नेबित्तिकै इन्द्रपदमा आसीन भएको राजा नहुष यामानको अजिंगर बनेर पतन भएको थियो । बाबुबाजेको इतिहासका आडमा आज आफू, आफ्नै स्वास्नी र छोरा ज्वाइँ, सम्धी सम्धिनी राजनीतिमा स्थापित गर्ने दुष्चेष्टा कसैले प्रदर्शन नगरे हुन्छ । अब ती दिन छैनन् । जंग एउटामात्रै सिंह थियो र पो उगर्जेपछि जंगलका साराजीव थर्कायमान् हुन्थे ।

तापनि आफ्नो पुत्र स्थापित गर्न उसले पनि दामोदर गौतम, तीर्थ डंगोल, पीएल सिंह, हरिबोल भट्टराई, मनमोहन भट्टराई, ...ढकालजस्ता नेपाली कांग्रेसका मान्छेलाई प्रांगारिक मल बनाएर एउटा अन्धकार प्रकृतिको वृक्षरोपण गर्नुपरेको थियो । स्याल नीलो मसीमा डुबेर वनको राजा हुँ भनेर कतिन्जेल ठग्ने जब अर्को कुनै स्याल कराउँछ अनि त प्रकृति वबशात् स्याल हुइँयाँ त निक्लिहाल्दोरहेछ । यस पल्टको स्थानीय तहका निर्वाचनमा यस्तै अवस्था देखियो ।

अहिले नेपालमा त्रिकोणात्मक शक्ति संघर्षको तयारी भइरहेको देखिन्छ । पहिलो हो प्रजातान्त्रिक मूल्य र पद्धतिमा आस्था राख्ने भारतीय उपमहाद्वीपलगायत विश्वका प्रजातान्त्रिक शक्ति, दोस्रो हो चीनका नेतृत्वमा संगठित हुन चाहने विश्व वामशक्ति, तेस्रो हो साना र असंगठित शक्ति जसलाई हिजोअस्तिदेखि अविकसित, विकासोन्मुख, असंलग्न मुलुक भनेर औंल्याइने गरिन्थ्यो । शेबदे अमेरिकाबाट आश्वस्त र संरक्षित हुन् भन्ने यो देशको सबैभन्दा लाटालाई पनि थाह छ । ओली भारतीय राष्ट्रिय कांग्रेसका पोष्यपुत्र थिए अहिले त्यो शक्ति तिरोहित भएको हुना ठारी र पशुपति काण्ड चलाएरै भए पनि भारतीय जनता पार्टीको नजिक हुन चाहिरहेका छन् सफलता मिलेको छैन ।

यो चाहिँ उनको मौकापरस्त बोली र व्यवहार गर्ने ढुलमुले चरित्र र कार्यशैलीका कारणले । प्रचण्ड, झनाथ र माकुने धर्मले कृस्चियन भए पनि बाहुन कुलको जन्म र कम्युनिष्ट विचारका कारणले चीनका विश्वासपात्र देखापरिरहेकै छन् । अब विश्वकै प्रजातन्त्रवादीले नेपालमा प्रजातान्त्रिक शक्तिलाई राष्ट्रको तालासाँचो दिलाउन सही उम्मेदवार कांग्रेसभित्रबाट या त प्रजातन्त्र मान्ने कुनै स्वतन्त्र व्यक्ति ल्याएर कम्युनिष्टलाई साइजमा राख्न चाहेको देखियो ।

बालेन्द्र, सुनिता (एमालेको छातामुनि अन्तिममा ल्याइए पनि) मनोज, गापी र हर्क साम्पाङ यी सबै परीक्षणका निमित्त ठीक पारिएका पात्र हुन् झैँ लाग्न थाले । कांग्रेसभित्र शेबदेपछि जनताको विश्वास भएको राजनीतिक चरित्र पनि भएको परम्परित स्थापित शक्तिपरिवारको पनि नजिकको व्यक्तित्व डा.शशांकलाई उपयोग गर्न खोजेका पनि हुन् तर परीक्षण डा. शशांक उतीर्ण हुनसकेको देखिएन । विप्र र गिरिजाप्रसादलाई आँट गर्न सकेका थिएनन् त्यसैले खासखास कुरामा फसाएर हेर्ने नीति लिएका थिए ।

सुशीललाई उपयोग गर्न खोज्दा उनले ठाडै अस्वीकार गरेको हुनाले उनीप्रति भारतीय बक्रदृष्टि आजीवन रहिरहृयो । अब परीक्षाका हलमा डा.शेखर कोइरालालाई प्रवेश गराएर परीक्षा लिन खोजिरहेका छन् तर उनीसँग प्रत्यक्ष कुरा गर्ने हिम्मत भइरहेको छैन । उनको राष्ट्रवादी शैली र जनतासँगको सिधा सम्पर्कका कारण बाहृयशक्तिलाई प्रवेश गर्न अप्ठ्यारो भएको देखिन्छ । हेरौं समय र परिस्थितिले कता लैजाँदोरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?