एन्फा निर्वाचन: उजुरी परेका दश मध्ये चार बदर

Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को असार ६ गते हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा मंगलबार परेको दाबी विरोधका विभिन्न दश मध्य चार उजुरी बदर भएका छन् ।

आसन्न निर्वाचन तालिका अनुसार मंगलबार दाबी विरोधको समय सीमा रहेको थियो । बुधबार निर्वाचन समितिले उजुरीमाथि छानबिन गर्दै चार मताधिकार खोसेको समिति स्रोतले बतायो ।

जसमा महिला समिति, सिराहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् । यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको ८ मध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको छ ।

योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा जान सक्नेछ ।

यस्तो छ दाबी विरोधबाट हटाइएको चार निर्णय

१ महिला फुटबल समितिको वैशाख २६ गतेको बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरिएकोमा किर्ते गरी विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रूपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

२ सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी स्वतः खारेज हुने हुनुपर्ने ।

३ सिराहा जिल्ला फुटबल संघका महासचिव प्रवीणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने ।

४ सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको एन्फा सामाजिक उत्तरदायित्व समितिको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरूको कार्यकाल चार वर्ष हुने र त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार भण्डारीको मताधिकार खारेज हुनुपर्ने ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?