‘मेलम्ची बन्द भए पनि वैकल्पिक स्रोतबाट पानी’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताउनुभएको छ । खानेपानी मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मेलम्चीको पानी बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिनभित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ ।

अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाइभर्सनस्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावका आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ ।’

मन्त्री चौधरीले मेलम्चीको नदीबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि विकल्पका रूपमा बागमतीबाट दैनिक छ करोड लिटर पानी थप गरिने र नपुग सात करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ति गरिने बताउनुभयो ।

काठमाडौंको पानीको समस्यालाई दिगोरूपमा समाधान गर्न सरकारले याङ्ग्री, लार्के, सिस्नेरी, ठोस्ने खोला, महादेव खोलालगायतका सम्भाव्य सबै स्रोतबाट पानी उपलब्ध गराउन कार्यक्रम क्रमशः कार्यान्वयन गर्दै लैजाने उहाँको भनाइ थियो ।

आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको एक नम्बर ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्बर ढोका बन्द गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?