बाँकेको नरैनापुरमा दमकल सहायक बने वडाध्यक्ष

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा दमकलका सहायक वडाध्यक्ष बन्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमार्फत् नरैनापुर–३ का अजयकुमार मिश्र वडाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ वैशाख पहिलो सातासम्म गाउँपालिकाको दमकल सहायक हुनुहुन्थ्यो । मिश्रले मनोनयनको दिन उक्त पदबाट राजीनामा दिएर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

जनता समाजवादी पार्टीको बलियो पकड रहेको नरैनापुर–३ मा उहाँले जित्नुभएको हो । ३७ वर्षीय मिश्रले वैशाख ३० गते भएको चुनावमा ६५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ताज मोहम्मद खाँले ५२५ र नेपाली कांग्रेसका राजकुमार मौर्यले ४६५ मत ल्याउनुभएको थियो ।

जंगल वा बस्तीमा आगलागी हुँदा पुग्ने उहाँको दैनिकी अहिले भने फेरिएको छ । वडाध्यक्ष निर्वाचित भएसँगै उहाँको दैनिकी फेरिएको हो । उहाँ भन्नुहुन्छ, ‘म त सामान्य मान्छे, परिवार पाल्न जागिर गरिरहेको थिएँ । जनताले यो स्थानमा पुर्याए । अब पाँच वर्ष उहाँहरूको सेवा गर्छु ।’

उसो त उहाँ मनोनयन दर्तापछि दुई दिनमात्र निर्वाचनको प्रचारप्रसारमा जान पाउनुभयो । चुनाव प्रसारकै क्रममा बिरामी भए पनि उहाँ बीचमै औषधि गर्न जानुभएको थियो । तर, जनताले जिताए । अहिले भने उहाँ सन्चो भएर गाउँ फर्किनुभएको छ । उहाँले जति सक्दो जनताको पक्षमा काम गर्ने उद्देश्य रहेको बताउनुभयो ।

१२ कक्षासम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका मिश्रले शिक्षालाई पहिलो प्राथमिकता दिने बताउनुभयो । त्यसबेला नरैनापुरमा कक्षा आठसम्म मात्रै पढाइ हुन्थ्यो । उहाँले उच्च शिक्षा भारतबाट हासिल गर्नुभएको हो । उतिबेला नरैनापुरबाट जिल्ला सदरमुकाम नेपालगञ्ज आउनसमेत सहज थिएन । अहिले उहाँ जनताकै घरदैलोमा हुनुहुन्छ । जनताले उहाँलाई खाना खान बोलाइरहेका छन् । आफ्नो घरमा समेत जान नपाएको उहाँले बताउनुभयो । यसले जनताको समस्या बुझ्ने मौका मिलेको पनि वडाध्यक्ष मिश्रको भनाइ छ । नरैनापुरमा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

बाँकेमा चुनावमा देखिएका फरक दृश्यमध्ये एक हो, मिश्रको विजय । यस्तै बाँकेका कोहलपुर र नेपालगञ्जमा सहोदर दाजुभाइबीच पनि प्रतिस्पर्धा भएको थियो । त्यहाँ वडाध्यक्षमा दाजु पराजित हुँदा भाइ विजयी हुनुभयो । यस्तै कोहलपुरका २ वडामा महिला अध्यक्ष चुनिएका छन् । आगामी पाँच वर्षसम्म आफूले सकेसम्म जनताको सेवा निस्वार्थरूपमा गर्ने मिश्रको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?