इलाम र माईजोगमाई जोड्ने पुल नौ वर्षमा आधा काम, स्थानीय आक्रोशित

हिमालय टाइम्स
Read Time = 4 mins

प्रकाश नेपाल/हिटा
इलाम । निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्ने पक्की पुल सम्पन्न नहुँदा स्थानीय निराश भएका छन् । २०७४ सालमा नै सम्पन्न गर्नेगरी ठेक्का प्रक्रियामा अघि बढेको पुल हालसम्म पनि निर्माण सम्पन्न नहुँदा स्थानीय निराश भएका हुन् । इलाम नगरपालिका-५ र माइजोगमाई गाउँपालिकाको सोयाङ जोड्ने दुधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भयो । हालसम्म पुलको आधा काम मात्र भएको स्थानीय बताउँछन् ।

पटक–पटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशा उत्तिकै निराशा भएको छ । हिउँमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारिको गाडी पारि नै वारिको वारि नै हुने हुँदा खाद्यान्न ढुवानी र बिरामी हुँदा समस्या हुने गरेको छ । इलाम सदरमुकामबाट माईजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी चल्छन् । इलाम र नयाँबजार करिब २२ किलो मिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीय तथा चालकहरूको भनाइ छ ।

डिभिजन सडक कार्यालय इलामका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलोपटक म्याद थपिएको हो । निर्माण कम्पनीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न नसकेको हो । यो पुलको एकातर्फ नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व–प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो । देश हाँक्ने नेताको क्षेत्रमा नै निर्माण थालिएको वर्षौंसम्म पुल नबन्दा स्थानीय दुःखी भएका छन् । यस पुल सञ्चालनका लागि पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको भनाइ छ ।

निर्माणधीन पुलबाट इलाम नगरपालिका तथा माईजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवं भारतका विभिन्न ठाउँका स्थानीयलाई सहज हुनेछ । स्थानीयको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने इलाम नगरपालिका मेयर केदार थापाको भनाइ छ ।

इलाम सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँ बजारसम्म पुग्ने मोटरबाटो ग्राभेल भएको छ । दुःखसुख बर्खायाममा पनि सवारी सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । काम गर्ने ठेकेदार कम्पनीले नै हो । तर, स्थानीय तथा जनप्रतिनिधिले खबरदारी गर्न नसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?