अदुवा खेती प्रवद्र्धनमा भ्रष्टाचार, एनजिओको अध्यक्ष र कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार आयोगले अध्यक्ष लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध जनही १३ लाख ३७ हजार २० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूले सुर्खेतको गढी, लेखगाउँ र कुनाथरिमा आय आर्जनका लागि व्यावसायिक अदुवा खेतीसम्बन्धी तालिम तथा गोष्ठी गरेको भनी नक्कली बिल भरपाई बनाएर रकम भुक्तानी लिई भ्रष्टाचार गरेका थिए ।

विसं २०७३ चैत २७ गते राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपालले गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रवद्र्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा लामिछाने र घिमिरेले मिलेमतोमा खाई मास्न नक्कली बिल बनाएर १३ लाख ३७ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले पुष्टि गरेको छ । सुर्खेतको गढी, कुनाथरि र लेखगाउँमा अदुवा खेती प्रवद्र्धनका लागि उनीहरूले सो रकम लिएका थिए ।

यसैबीच, आयोगले नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपुर, मुर्ली, वीरगञ्ज, पर्साका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठसहित दुई जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । आयोगले तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र विद्यालय कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

बलराम श्रेष्ठले विज्ञान प्रयोगशाला निर्माण, सामग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणका लागि निकासा भएको २९ लाख ५० हजार आफूखुसी खर्च गरेको र ९२ हजार दोहोरो तलब लिएको अख्तियारले जनाएको छ ।

श्रेष्ठलाई तीस लाख ४२ हजार बिगो माग गरिएको छ । यस्तै, लेखा सञ्चालक राकेशमान श्रेष्ठले एउटा शीर्षकमा विनियोजित रकम सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुसी खर्च गरेको भन्दै २९ लाख ५० हजार बिगो माग गरी मुद्दा दर्ता गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?