नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रको प्रशिक्षण, आफूले जितेका १२२ पालिका देशभरको नमुना बनाउने गरी काम गर्न निर्देशन

हिमालय टाइम्स
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ । काठमाडौंमा बुधबारदेखि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन थालिको हो । प्रशिक्षण कार्यक्रम दुई दिन चल्नेछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार कमलपोखरीस्थित पुरानो कुमारी हलमा बुधबारदेखि सुरु प्रशिक्षण आज (बिहीबार) सकिनेछ । उहाँका अनुसार प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी साढे दुई सय बढी जनप्रतिनिधिको सहभागिता छ ।

सहभागीहरूलाई स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिइएको छ । प्रशिक्षण कार्यक्रमको बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । बुधबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र पूर्व-महान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, पार्टी स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, स्थानीय तहका विज्ञ डा. खिमलाल देवकोटा, पूर्व–मुख्यसचिव लीलामणि पौड्याल लगायतले पनि बुधबार प्रशिक्षण दिनुभएको थियो ।

दोस्रो दिन आज अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल, पूर्वमन्त्री वर्षमान पुन लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक÷एक स्थानीय तहका प्रमुखले अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ । माओवादीले यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो ।

एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् : प्रचण्ड
अध्यक्ष प्रचण्डले माओवादीलाई हल्का रूपमा नलिन प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । बुधबार नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले विगतमा एमालेमा देखिएको अहंकार कांग्रेसमा पनि देखिन थालेको टिप्पणी गर्नुभयो । अहिले कांग्रेसमा देखिएको अहंकारले चिन्तित बनाएको उहाँको भनाइ छ । ‘हिजो एमालेमा देखिएको अहंकारजस्तै अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘मिहिनेत गरेर नै प्रधानमन्त्री बनाएको हो । कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर आउने हो कि भनेर चिन्तित छौंँ । एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् ।’

उहाँले कांग्रेस र कांग्रेसका नेतालाई अहंकार र दम्भ नपाल्न अनुरोध गर्नुभयो । ‘हिजो एमालेसँग राम्रो उद्देश्यका साथ गठबन्धन गरेका हौँ । तर, एमालेको नेतृत्वमा यति धेरै अहंकार आयो कि त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो,’ उहाँले भन्नुभयो, ‘अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । अहंकार र दम्भले कसैको पनि हित गर्दैन । हामी गठबन्धन कायमै राखेर जान चाहन्छौँ । यो दुविधामा कोही पनि नपर्नुहोला ।’ अध्यक्ष प्रचण्डले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताउनुभयो ।

माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । कार्यक्रममा उहाँले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताउनुभयो । ‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे अहिले नेता जनताको बीचमा नगएको जस्तो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘अब विगतजस्तै जनप्रतिनिधि जनताको सुख–दुःखमा सँगसँगै हुनुपर्छ । कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम हुनुपर्छ । माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्नुहोला ।’ माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमुना हुन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्पत्ति विवरण सार्वजनिक गर्न नारायणकाजीको निर्देशन
नेता नारायणकाजी श्रेष्ठले उत्पादन वृद्धि, सामाजिक आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा स्थानीय सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । शिक्षा विकासको पहिला शर्त भएको उल्लेख गर्दै उहाँले शिक्षामा आमूल सुधार गर्ने नीति लागू गर्न आग्रह गर्नुभयो । नेता श्रेष्ठले कसैलाई पनि भेदभाव नगरी पार्टीको मार्ग निर्देशनअनुसार जनताको हितमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । ‘आपूर्ति व्यवस्थालाई ध्यानमा राखेर नेपालमै उत्पादन भएको वस्तुलाई नै प्रयोग गर्नेतर्फ ध्यान दिनुहोला,’ उहाँले भन्नुभयो, ‘हामीलाई मत दिने÷नदिने हाम्रा जनता हुन् । भेदभावरहित हिसाबले हामीले काम गर्नुपर्छ । हामीले सबै जनताको हितमा काम गर्नुपर्छ । आ–आफ्नो हिसाबले गर्ने होइन । पार्टी संयन्त्रसँग छलफल गरेर जनमुखी र प्रभावकारी काम गर्नुपर्छ ।’ उहाँले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिनुभयो ।

पार्टीका सबै जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने उहाँको भनाइ छ । ‘स्थानीय तहका सबै जनप्रतिनिधिहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । कानुनले दुई महिना भनेको छ भने एक महिनामै सम्पत्ति सार्वजनिक गरौँ,’ उहाँले भन्नुभयो, ‘हरेक ६ महिना वा एक वर्षमा सम्पत्ति कति हुन्छ त्यो पनि सार्वजनिक गरौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?