अब दलहरूले आत्मसमीक्षा गर्लान् त ?

Read Time = 13 mins

✍️ इन्द्रबहादुर बराल
स्थानीय निर्वाचनको अन्तिम परिणाम पनि आइसक्यो । यो चुनावी परिणामबाट सबै राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारी दिनेहरूको हैसियत प्रष्ट भयो । अब बाँकी रहृयो उनीहरूले आफूलाई भोलिका दिनहरूमा कसरी प्रस्तुत गर्ने छन् भन्ने । अहिलेको यस स्थानीय चुनाउमा जनताले गोप्य मतदानबाट व्यक्त अभिमत विगतभन्दा अलि भिन्न प्रकृतिको देखियो । जसले जहानिया राणा शासनको अन्त्यदेखि पञ्चायतको उदय र अवसानसम्म प्रजातन्त्रको लडाइँमा होमिएका दलहरूलाई कडा चुनौती खडा गरिदियो । त्यतिमात्रै होइन तेस्रो जनआन्दोलन र त्यसको बलमा जननिर्वाचित संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ माथि पनि प्रश्न चिहृन लाग्यो ।

अहिले यथास्थितिवादीहरूले संघीयता र गणतन्त्रमाथि चौतर्फी घेराबन्दी गर्दै गरेको अनुभूति गरिँदै छ । एकातिर सयभन्दा बढी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू विजयी हुनु, अर्कोतिर पुराना शक्तिहरू जो महाराजाधिराजको अधिनायकत्वको छत्रछायांमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित देख्नेहरू उत्साहजनक रूपमा देखिँदै छन् । र, संघीयता, लोकतन्त्र र गणतन्त्रको विरुद्धमा गोलबन्द हुँदै गरेको अवस्था छ । यस सन्दर्भमा विचार गर्दा परिवर्तनका पक्षधर दलमा गम्भीर धक्का लागेको छ भन्न सकिन्छ । विशेष गरेर काठमाडौं महानगर र धरान उपमहानगरको चुनावी परिणाम दलहरूका लागि साच्चैको चुनौतीको पहाड हो ।

यस घटनाबाट दलहरूले अब आफूलाई कसरी अघि बढाउने हुन् भन्ने आमचिन्ता र चासोको विषय बनेको छ । नेपालीहरूको चेतनाको स्तर दिन प्रतिदिन उकालो लागेको स्थिति छ । तर, दलहरूले ती उकालो लाग्दै गरेको चेतनालाई अझै पनि उही परम्परागत शैली र ढाचाले गर्दा सम्बोधन गर्न सकेनन् । त्यही कारणले हालै सम्पन्न चुनावमा ती पठित युवापंक्तिले काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवारको पक्षमा मोर्चाबन्दी गरे र जिताइ पनि दिए । त्यस्तै यसभन्दा पनि अरू गम्भीर ढंगले धरानमा हर्क साङपाङ राईको विजय झन् खतरनाक चुनौती देखिएको छ ।

यस्ता अनगिन्ती चुनौतीहरू यस पटकको स्थानीय निर्वाचन परिणामले दलहरूको सामु पहाड जस्तै तेर्सिएर रहेका छन् । तसर्थ अबका दिनहरूमा दलहरू यो स्थानीय चुनावको परिणामप्रति गम्भीर र संवेदनशील भएर आफूहरूलाई पुनरावलोकन गर्नबाट चुके भने त्यस बेलामा मुलुकले नसोचेको दुर्घटनाको सामना गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट कसैले जोगाउन सक्तैन । नेपालमा धेरै सकारात्मक राजनीतिक परिवर्तनहरू भए । कहिले हतियारबन्द विद्रोह भए त कहिले शान्तिपूर्ण अहिंसात्मक आन्दोलन भए ।

तर, ती आन्दोलनबाट स्थापित मूल्य र मान्यतामाथि बेलाबेलामा प्रत्याक्रमण पनि भएको कटुसत्य छर्लंगै छ । पहिलो जनक्रान्ति २००७ ले ल्याएको कलिलो प्रजातन्त्रको गला २०१७ पुस १ गते रेटियो । त्यस प्रतिक्रान्तिका विरुद्ध ३० वर्ष अर्को संघर्ष गर्नुपर्‍यो । त्यस संघर्षको क्रममा कैयौं नेपालीहरूले जीवनको आहुती दिनुपर्‍यो । तर, ती वीर नेपालीहरूको बलिदानीपूर्ण योगदानबाट २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनले प्रजातन्त्रको पुनस्र्थापना गर्‍यो र निरंकुशताका खम्बाहरू एकपछि अर्को गर्दै ढल्दै गए । तर, पनि लोकतन्त्रको विकल्प खोज्ने अझै सल्बलाउँदै गरेको प्रष्ट संकेत पाइन्छ ।

पहिलो जनआन्दोलन २०४६ पछि निर्माण भएको नेपालको संविधान २०४७ जारी हुँदा संसारकै उत्कृष्ट संविधानमध्ये एक हो भनियो तर त्यो संविधान पनि धेरै टिकेन र दोस्रो जनआन्दोलनबाट फेरि अर्को अन्तरिम संविधान झण्डै ९/१० वर्षसम्म कायम रहृयो । यस्ता घटनाक्रमहरू नेपालको राजनीतिमा निरन्तर चलिरहे । यसबीचमा शैक्षिक क्षेत्रले उल्लेख्य प्रगति गर्‍यो । जहाँ एउटामात्रै विश्वविद्यालयको ठाउँमा दर्जनभन्दा बढी युनिभर्सिटीहरू बने । एउटामात्र नेपाल टेलभिजनको ठाउँमा झण्डै सयौं टेलिभिजन आज नेपालीहरूको घरकोठामा घन्किरहेका छन् भने मोबाइल तथा ल्याण्डलाइन टेलिफिनको त के नै भनौँ र खोइ ?

स्वास्थ्य र सडकको विस्तार कति भयो भनिरहनु परेन । यी माथि उल्लेखित उपलब्धिले आज नेपालीहरूको शैक्षिक जागरण धेरै माथि उठिसकेको छ । आवागमनको सुविधाले अब नेपाल एउटै मालामा गाँसिइसकेको अवस्था छ । यिनै शिक्षा, स्वास्थ्य, सञ्चार र सडक सञ्जालको उपलब्धताले नेपाल भूगोलले (मेची-महाकाली) अलि टाढा जस्तो देखिए पनि एउटै भावनामा जोडिएको अवस्थाका कारण एउटा नेपालीले अर्को नेपालीलाई सजिलै बुझ्ने भए । आजको त्यही सञ्चार सुविधाले एकै ठाउँ जोडिन पुगे नेपाली । सबैले सबैलाई भौतिक रूपमा भेटघाट गर्न नसके पनि भावनासँगै हुन पुग्यो । यिनै सञ्चार सुविधाको उपयोग गर्दै काठमाडौमा बालेन साहको उदय भयो भने धरानमा हर्क साङ्पाङको जन्म भयो ।

जनअनुमोदित बालेन साह र हर्क साङपाङलगायत अन्यको यस्तै उपस्थितिका कारणले ठूला दलहरूलाई गम्भीर भएर सोच्न बाध्य गराएको हुनुपर्छ । अब कांग्र्रेस, कम्युनिष्टहरूले लाज नमानिकन आफ्ना कमिकमजोरीलाई लिएर नेपाली नागरिकसँग माफी माग्दै सच्चिनुको विकल्प देखिँदैन । आमनेपालीमा पार्टीहरू पार्टीगत स्वार्थभन्दा माथि उठून् भन्ने बुझिन्छ । हाम्रो होइन राम्रो मान्छे राम्रो ठाउँमा राखियोस् भन्ने चाहन्छन् । सही मानिसलाई सही ठाउँको आवश्यकता महसुस गरिँदै छ । तर पनि राजनीतिक नियुक्ति आदिमा हाम्रो वा मेरो भन्ने प्रवृत्ति अरू मौलाउँदै गएको छ । भ्रष्टाचारको गन्धले काठमाडौंको फोहोरलाई समेत बिर्साउँदै गरेको भान हुन्छ ।

यसर्थ अब बुझ्न सकिन्छ कि नेपालीलाई भ्रष्टाचारी होइन सदाचारी चाहिएको छ । हाम्रो होइन राम्रो चाहिएको छ । अपारदर्शी होइन पारदर्शिता चाहिएको छ । बेइमानी होइन इमानी चाहिएको छ । यस्तै यस्तै चाहना राख्ने विवेकशील नेपालीहरूले दलहरूलाई सचेत गराउने सन्दर्भमा बालेन शाह, हर्क राई आदि आदिको जन्म गराइदिएको हुनुपर्छ । अब सधैं उहीँ पुरानो शैलीले समयको हाँक र मागलाई सम्बोधन गर्न सक्तैन भन्ने सन्देश स्थानीय चुनावको परिणामले दिएको छ ।

सम्भवतः राजनीतिक दलहरू आआफ्ना पार्टी संगठनभित्र चुनावी परिणाम बारे कहाँनेर चुकियो भनेर समीक्षा गर्दै होलान् । सत्ता गठबन्धनले भन्ला चुनाव गराउनु पनि एउटा ठूलो उपलब्धि हो । किनकि प्रमुख प्रतिपक्षले स्थानीय चुनाव हुनेमा आशंका गरेको थियो । त्यसको बाबजुद पनि अत्यन्तै शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न हुनुले सरकारको सफलता मान्नै पर्छ । तथापि यो स्थानीय निर्वाचन परिणामले प्रमुख दलहरूप्रति धेरै प्रश्नहरू तेर्सिएका छन् । गणतन्त्र र संघीयता अनि धर्मनिरपेक्षताप्रति धेरै प्रहार भएको छ ।

इँटको जबाफ पत्थरले होइन गणतन्त्र, सघीयता र धर्मनिरपेक्षताको प्रभावकारी कार्यन्वयनको माध्यामबाट नेपाली जनमतलाई आफ्नो विश्वासमा लिन सक्नुपर्छ । अन्यथा जनताको शक्ति अगाडि मै हुँ भन्ने जेठदाइ पनि घुँडा टेक्न बाध्य हुनेछन् । यो यथार्थतालाई हेक्का राख्दै अघि बढ्नुको अर्को विकल्प छैन । त्यस्तै चुनावको बेला अनावश्यक र असम्भव अश्वासन बाँड्ने होइन सम्भव बाचा कबोल मात्र गर्नुपर्छ जुन पूरा गर्न सकियोस । त्यसमा पनि झन स्थानीय तहमा नागरिकका त्यति धेरै महत्वकांक्षा पनि हुँदैनन् । उनहरूलाई खानेपानी, ढल, सडक अनि शिक्षा र स्वास्थ्य आदि आफ्नै घराआगनमा उपलब्धता होस् भन्ने चाहन्छन् । आकाश पातालका गन्थन छाटेर जनतालाई ढाट्ने दिन गयो । त्यतातिर ध्यान नदिए हुन्छ ।

एउटा कुरा सत्य के हो भने सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको छ । त्यस अधिकारको अधिकतम उपयोग गरी नागरिक जीवनलाई सहज र सरल बनाउन जान्नुपर्छ । नत्र ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’ हो । यो भनाइ व्यक्तिलाई मात्रै होइन दलहरूलाई पनि लागू हुन्छ । अझै भन्ने हो भने दश वर्षे सशस्त्र युद्धको धङधङी बोकेको माओवादी केन्द्रको अवस्था झनै लाजमर्दो छ । समयमै चेत खुलेन भने माओवादी नामको पार्टी इतिहासको पानामा सीमित रहने खतरा पनि टड्कारो देखिँदै छ । त्यस्तै अन्य दलहरू (कांग्र्रेस एमाले) ले पनि समय सापेक्ष चल्न नसके धेरै ठूलो संकट झेल्नुपर्ने हुन्छ ।

तसर्थ दलका नेता र कार्यकर्ताले आफ्नो आचरण र चरित्र सुधार्न जरुरी छ । अकूत धन बटुल्ने र अरूलाई चारो छरेर समाजमा आफ्नो प्रभाव जमाउँछु भन्ने सपना अब नदेखे हुन्छ । प्रजातन्त्र पुनस्र्थापनापश्चात् शिक्षामा आएको अभूतपूर्व परिवर्तनले गाउँगाउँमा चेतना फैलाएको छ । आफ्नो अधिकार र कर्तव्य बारे नेपाली नागरिक जागरुक छन् । त्यसैले २०१५ साल २०४८ साल र २०६४ सालका जस्ता मतदाता अहिलेका होइनन् ।

आजका नेपाली नागरिक एक्काइसौं शताब्दीका हुन् । उनीहरूको चेतना र जागरण नेताहरूभन्दा धेरै माथि उठिसकेको छ । दलहरूलाई शुभेच्छा छ २०७९ वैशाख ३० गते सम्पन्न चुनावी परिणामलाई गम्भीर रूपले पुनरावलोकन गर्दै आफ्ना गल्ती र कमीकमजोरीलाई समयमै सच्याउनु अहिलेको आवश्यकता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?