वाम एकताको हल्ला चलिरहँदा सुर्खेत पुगेर माधव नेपालले भन्नुभयो: तत्काल सम्भव छैन

Read Time = 4 mins

सुर्खेत । स्थानीय तहको निर्वाचनमा कमजोर बनेको वामशक्तिबीच पुन: एकता हुने हल्ला चलेको छ । देशकै ठूलो शक्तिका रुपमा रहेको वामशक्ति भर्खर सम्पन्न चुनावमा तितरवितर हुँदा त्यसको फाइदा सत्तारुढ दल नेपाली कांग्रेसलाई पुगेको छ ।

यसैबीच संसदीय निर्वाचनमा एक पटक फेरि वामशक्तिबीच एक भएर चुनाव जाने खालका हल्ला चलेका छन् । एमाले भित्रका एकथरी नेताले त्यसको अगुवाई गरेको चर्चा चलेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भित्र पनि यस विषयमा एकता चाहाने नेताहरुले लविङ नै सुरु गरेका छन् ।

तत्कालै एकता हुनेमा कुनै संकेत नदेखिएपनि केही समय अघि एकीकृत समाजवादी ने वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अभिमत र एमालेभित्रैका केही नेताहरु पनि अन्तत्वोगत्वा कांग्रेससँग माओवादी केन्द्र र एकीकृत समाजवादी सँगै कति दिन बस्न सक्लान् र ? भन्दै प्रश्न गर्न थालेका छन् ।

यसैबीच एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनु भएको छ ।
आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताउनुभयो । 'अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्', उहाँले भन्नुभयो, 'हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।'

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भन्नुभयो, 'बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन ।' उहाँले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राख्नुभयो ।

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उहाँको भनाइ थियो । अध्यक्ष नेपाल आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन सुर्खेत आउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?