गिट्टीले धानेको दैनिकी

Read Time = 6 mins

-विवेक खड्का
दाङ । राम्रो लगाउने, राम्रो खाने र यो चर्को गर्मीमा घरभित्रै बस्ने मन त कसलाई नहोला र । सबैलाई सुखसँग बस्ने इच्छा हुन्छ । तर सबैलाई त्यो सौभाग्य हुँदैन । जेठ महिनाको टनटलापुर घाममा सेवार खोलाको छेउमा गिट्टी कुट्दै गर्दा भेटिएका घोराही–१३ गिठेपानी निवासी गंगाविर घर्ती मगरलाई भने चर्काे घाम होस् या वर्षाको छरी केही प्रवाह छैन । सधै खोलामा ढुंगासँग जोडिएका हुन्छन् । 'सबै गरिबीले साँझ बिहान खान पुग्दैन्, पापी पेट पाल्नै पर्यो' उहाँले भन्नुभयोे, 'अहिले यहि जिउने सहारा बनेको यहि खोला र ढुंगा हो ।'

उमेरले ७३ बर्ष पुगिसक्नुभएकाे ती बृद्ध घामपानी नभनी दिनभर सेवार खोलामा गिट्टी कुटेर आफ्नो र परिवारको खर्च चलाउँदै आउनुभएको छ । 'बिहान ढुंगाहरु जम्मा गरेर आउँछु दिनभर तिनैलाई कुटेर गिट्टी बनाउँछु' उहाँले भन्नुभयोे, 'गिट्टी कुट्दा हतौडाले कहिले हातमा चोट लाग्छ, कहिले औँलाहरुमा, हाम्रा दुःख हेर्ने को होला ? उहाँको दुखेसो छ ।

उहाँ मात्रै होइन् पछिल्लो समयमा घोराही उपमहानगर–पालिकाको वडा नं. १३ सेवार खोला आसपासका आर्थिक अवस्था कमजोर भएका स्थानीयबासी गिट्टी कुटेर जीवन निर्वाह गर्दै आइरहेका छन् । स्थानीयस्तरमा रोजगारीको अवसर नहुँदा र खेतीपाती गर्नलाई जग्गा जमिन नहुँदा दशक पहिलेदेखि स्थानीयहरु दैनिक सेवार खोलाको किनारमा गिट्टी कुटेर आफ्नो जीविकोपार्जन गरिरहेका हुन् ।

थुप्रै दुःख कष्ट मोलेर भएपनि खोला किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्नेको संख्या बढ्दै गएको छ । पहाडबाट तराईमा झरेको १० वर्षभन्दा बढी भयो त्यहि बेलादेखि गिट्टी कुटेर घरपरिवारको खर्चको जोहो गरिरहेको लिलावती मगरले बताउनुभयो । उहाँले न्यून आय भएका साना केटाकेटीदेखि ७५ वर्षसम्मका बृद्धबृद्धाहरु गिट्टी कुट्नकै लागि सेवारखोला आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा कमाउने कोही छैन, छोराहरु घरमा त्यसै बसेका छन् रोजगारी पाउँदैनन् घर गुजारा त चलाउनु पर्यो कहाँबाट ल्याउने त्यहिभएर दिनभर यहि खोलामा गिट्टी कुट्छौ अनि साँझ बिहानका लागि चामल दाल किनेर लैजान्छौ ।’

अहिले सेवारखोलको किनारमा करिब १५/२० परिवारका ५० भन्दा बढी स्थानीय महिला, पुरुष, केटाकेटी र बृद्धबृद्धाहरुको रोजगार चलेको छ । यद्यपि सुरक्षा, स्वास्थ्य र आवश्यक पर्ने औजारको अभावले उनीहरुलाई निकै कठिनाइ भैरहेको छ । उनीहरुले आफूले कुटेर बनाएको गिट्टी १ ट्याक्टर बराबर ३ हजार ५ सयमा बिक्री गर्ने गर्दछन् । क्रेसर नचलेको बेला केही महङ्गोमा जाने गरेपनि क्रसर चल्दा भाउ निकै घट्ने , मेहनत धेरै लाग्ने गरेको सेवा र गाउँकै स्थानीय महिला चन्द्रकली पुनले बताउनुभयो । आँखा समेत राम्रोसँग देख्न नसक्ने ७० बर्षिय बृद्धा लालमाया बुढाले आफू ८ बर्षदेखि सोहि खोला मागिट्टी कुटेर गुजारा चलाइरहेको बताउनुभयो । उहाँले घरमा कमाउने कोहि नहुँदा केटाकेटीहरुको पालनपोषण, शिक्षादिक्षा, स्वास्थ्य सबै खर्च चलाउन हम्मे–हम्मे परेपछि घरगुजारा चलाउनकै लागि गिट्टी कुट्न सुरु गरेको बताउनुभयो । उहाँले अहिलेसम्म भत्ताको कागज बन्न नसक्दा सरकारको एक पैसा पनि आफूले नपाएको बताउनुभयो ।

चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने ठकुल्लाले हातमा लागेको चोटका दाग देखाउँदै भन्नुभयो । 'यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता छ । वर्षा पछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भएपनि त्यत्तिकै बढी कष्टपूर्ण हुन्छ ।'
उहाँले थप्नुभयो, 'हाम्रा दुःख हामीसँगै छन् कसले सुन्छ, पत्रकार भन्ने धेरै पटक आए हाम्रा दुःख हेरेर गए तर चुनावका बेला देखिने नेता भने कोहि आएनन् ।' आफूहरुले गिट्टी कुट्न सुरु गरेदेखि अहिलेसम्म थुप्रै सरकार फेरिए पनि कसैले आफ्ना बारेमा नसोचेको उनीहरुको गुनासो छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले त आफ्ना समस्याहरुको समाधान गर्छन् भन्ने ठूलो आशा बोकेको भएपनि चुनाव जितेपछि कोही फर्केर नआएको बुढाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?