पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले चार पटक विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गर्नुभएको थियो । त्यहाँदेखि बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गर्नुभयो । त्यसक्रममा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगरले सब्रिनाको यात्रामा समन्वय गर्नुभएको थियो ।

बेइजिङ ओलम्पिकमा पहिलोपटक सहभागिता जनाउनुभएकी सब्रिनाले लन्डन, रियो र टोकियो ओलम्पिकमा समेत सहभागिता जनाउनुभएको छ । विश्व च्याम्पियनसिपमा दुई कास्य जित्नुभएको छ भने युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा दुईपटक आफ्नो स्पर्धामा च्याम्पियन नै बन्नुभएको थियो । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसक्नुभएको छ ।

नेपाल आएका बेला सब्रिनाले पामका जुडो खेलाडीलाई प्रशिक्षण पनि दिने गर्नुहुन्छ । सोलुखुम्बुको मन्जुमा रहेको एभरेस्ट जुडो क्लबलाई सामग्रीसहित सब्रिनाले विशेष सहयोग गर्दै आएको पामका जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाउनुभएको छ । पाममा ३५ जना आश्रित छन् । तीमध्ये ३४ जना जुडो खेल्छन् । सागका पदक विजेता मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठलगायत पामकै उत्पादन हुनुहुन्छ ।

पामका सचिव प्रेम लामा, सदस्य कृष्णबहादुर श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सब्रिनालाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । सब्रिनाकै भ्रमण टोलीमा रहेका आइजेएफका मिडिया डाइरेक्टर निकोलस, रिपोर्टर जोइ र क्यामेराम्यान रोविनलाई पनि मायाको प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?