तत्काल वाम गठबन्धनको सम्भावना छैन : नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल नेकपा एमालेसँग एकीकरण वा वाम गठबन्धनको सम्भावनासमेत नरहेको बताउनुभएको छ । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आउनुभएका अध्यक्ष नेपालले अहिले चर्चा चलाइए पनि वाम गठबन्धनको सम्भावना नरहेको धारणा राख्नुभयो । ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चले पनि तत्काल यो दुवै सम्भावना छैन,’ उहाँले भन्नुभयो ।

उहाँले अहंकारी र षड्यन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै आफूलाई कुनै लालच नभएको धारणा राख्नुभयो । ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उहाँले भन्नुभयोे, ‘यो कार्ड मान्छेलाई मूर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन ।’

आफूले इमान्दारी देखाउँदा पनि गठबन्धन दलहरूबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरू भष्म हुने बताउनुभयो । ‘धोका दिने तरिका विभिन्न पार्टीहरूले यसपटक पनि अंगालेका छन् । यहाँहरूलाई भन्न चाहन्छु, बेइमानी नगर्नुहोस् । बेइमानी गरे तपाईंहरूको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरू भष्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु,’ उहाँले गठबन्धन दलहरूलाई भन्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताउनुभयो । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ नेपालले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?