विद्रोह गरेर गएकालाई फर्कन आव्हान गर्दै विप्लवले भन्नुभयो : निकास नभएको बाटोमा यात्रा गर्नु हुँदैन

Read Time = 5 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभएको छ ।

शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गर्नुभएको हो । गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उहाँले आग्रह गर्नुभयो ।

उहाँले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताउनुभयो । महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै कुराहरुलाई केन्द्रीत गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलन चलाउने । हाम्रा ६ दलका मित्रहरुसँग सहकार्य गर्ने । ठिक छ, आउनुस् सुर्दशन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरु स्वीकार्नुस् । मान्छेबाट गल्ती हुन्छ । तपाईहरु गल्तीबाट आत्मआलोचना गर्नुस् । बाहिर जे जति बबन्डर मच्चाउनु भएको छ, त्यो फेर्नुस् । सुध्रिनुस् । मैले हेरेँ, चितवनबाट उहाँहरुले डकुमेन्ट निकाल्नुभएछ । मैले दाँजेर पढे । उहाँ बडो क्रान्ति गर्न गएको । के छ चितवनको डकुमेन्टमा ? एउटा केही पनि फरक छैन । कार्यक्रम – समाजवादी । हामीले पास गरेकै छौँ । रणनीति – समाजवाद प्राप्त गर्ने । हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ । कार्यदिशा – एकिकृत जनयुद्ध । व्याख्या हेर्नुभयो भने एकिकृत जनक्रान्तिको सुस्पष्ट व्याख्या जो छ हाम्रो यो पनि त्यो पनि जस्तो मान्छे हुनुहुन्छ, त्यस्तै थुपार्नु हुन्छ । नेताहरुको स्वभाव अनुसार त्यो देखिएको छ । कार्यनीति हेर्यो – स्वाधिन संयुक्त सरकार । हामीले त भनेकै छौँ नि प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह, वैज्ञानिक समाजवाद । खोई कहाँ जाने हो तपाईहरु ? त्यसैले आवेगबाट । एकछिन उत्तेजनाबाट, कुण्ठाबाट । त्यसरी हुँदैन आन्दोलन । नेपालमा त सयवटा भन्दा बढी पार्टीहरु छन् एउटा थप्ने कुरा ठुलो होइन । तर नेपाली जनतालाई नेतृत्व गर्ने । होल नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गरेर लिएर जानेकुरा हामी सबैले त्यहाँ ध्यान दिनुपर्छ । असहिष्णुता, कुण्ठा, प्रतिशोध बोकेर हिड्ने नेताले आफ्नै परिवारलाई पनि मिलाउन सक्दैन । यो कुरा निश्चित हो । कमि कमजोरीहरु सच्याउनुस् । फर्किनुस् । त्यो सम्भव छैन ।’

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गर्नुभयो ।

उहाँले माओवादी जनतालाई मलमल र भुमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफुहरु एकताका लागि तयार रहेको बताउनुभयो । उहाँले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्ताहरुलाई पनि पार्टीमा फर्किन अपील गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?