अभ्यास खेलमा सन्दीपको पाँच विकेट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । विश्व क्रिकेट लिग-२ को तयारीका लागि अभ्यास खेल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्थानीय अमेरिकी क्लब नेपाल अल स्टार्ससँग पराजित भएको छ । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएको खेलमा नतिजा भने नेपालको पक्षमा रहेन् ।

अमेरिकाको हृयुस्टनमा भएको खेलमा जितका लागि नेपालले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

अल स्टार्सका लागि विपुल शर्माले ५१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ५० रन जोड्नुभयो । इण्डियन प्रिमियर लिग (आइपीएल) को अनुभव सम्हालिसक्नु भएका विपुल २०१६ मा सनराइजर्स हैदराबादले आइपिएल जित्दा टोलीको खेलाडी हुनुहुन्थ्यो । त्यसबाहेक गौरभ बजाज ५८ बलमा दुई चौकासहित ४० रनमा अविजित रहनुभयो ।

१९ ओभरमा ९६-५ को कमजोर अवस्थामा पुगेको अल स्टार्सलाई विपुल र गौरभले छैटौं विकेटका लागि ८३ रनको विजयी साझेदारी गर्नुभएको थियो । विपुललाई किशोर महतोले ३३औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलबाट क्याच गराएपछि उक्त साझेदारी टुटेको थियो ।

त्यसअघि ओपनरद्वय एण्ड्रिज गौस र उदय कौलले ८.४ ओभरमा ५५ रनको साझेदारी गर्दै नेपाली अलस्टार्सलाई सानदार सुरुवात दिलाउनुभएको थियो । ११औं ओभरको पाँचौं बलमा गौसलाई सन्दीपले ४५ रनमा बोल्ड पार्नुभएको थियो ३३ बल खेल्नुभएका उहाँले नौ चौका प्रहार गर्नुभएको थियो ।

लगत्तै अर्को बलमा पृथु बाँस्कोटालाई सन्दीपले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै शून्य रनमा पवेलियन फर्काउनुभयो । सन्दीपले नै नितिश कुमारलाई नौ रनमा एलबीडब्लू आउट गर्नुभयो । सन्दीपले मार्टिन कैनलाई १२ रनमा बोल्ड गर्दै पाँच विकेट पूरा गर्नुभएको थियो । सन्दीपले १० ओभरमा एक मेडनसहित ४९ रन खर्चेर पाँच विकेट लिनुभयो ।

त्यसअघि अमेरिकाको हृयुस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १९० रनमा सबै विकेट गुमाएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौकासहित ६० रनमा अविजित रहनुभयो ।

पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गर्दै नेपाललाई उक्त स्कोरमा पुर्‍याउनुभएको हो । ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट हुनुभएको थियो । अर्का ओपनर आसिफ सेख पनि धेरैबेर क्रिजमा टिक्नु भएन । तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण एक रनमा उहाँ रिटायर्ट हर्ड हुनुभएको थियो ।

उपकप्तान रोहित पौडेल आठौं ओभर आउँट हुँदा नेपालको अवस्था ३१-२ को बन्यो । २३ बलमा रोहितले दुई चौकासहित १६ रन बनाउनुभयो । सुनिल धमला चार रनमै एलबीडब्लुको शिकार हुनुभयो । देव खनालले ढिलो ब्याटिङ गर्दै ५६ बलमा एक चौकासहित २० रन जोड्नुभयो ।
विनोद भण्डारीले ५१ बलमा तीन चौकासहित २६ रनमा जोड्नुभयो । यस्तै सोमपाल कामी दुई, आदिल अन्सारीलाई तथा करण केसी १७ बलमा दुई छक्का र एक चौकासहित कुल २१ रनमा आउट हुनुभयो ।

नेपाली अल स्टार्सका स्पिनर मार्टिन कैनले ६ ओभरमा एक मेडनसहित ३६ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै मोहम्मद इलायसले आठ ओभरमा ४२ रन खर्चेर दुई विकेट तथा आदिल भाटीले सात ओभरमा २४ रन खर्चेर दुई विकेट हात पार्नुभयो । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको खेलको तयारीका लागि नेपालले अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो अभ्यास खेल शनिबार हृयुस्टन हरिकेन्ससँग खेल्नेछ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहनुभएको छ ।

अमेरिकामा नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्दैछ । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग-२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

विश्व लिग-२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?