विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने, बास्तोला र वलीलाई गल्ती स्वीकार गरी पार्टीमा फर्किन आह्वान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ । गत १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

त्यसअघि नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ । यसअघि नेकपाले फागुनमा पार्टीको महाधिवेशन गर्ने बताएको थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेर पार्टी विभाजन भएपछि नेकपाले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्व-सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शनलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको हो । गल्ती स्वीकार गरेर आत्मालोचना गरी पार्टीमा फर्किन उहाँले आग्रह गर्नुभयो ।

बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताउनुभयो । महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले फुटेर गएको समूहले पनि कुनै नयाँ कार्यक्रम दिन नसकेको दाबी गर्नुभयो । महाधिवेशनबाट पारित नीति र कार्यक्रमलाई नै बास्तोला–वलीले अवलम्बन गरेको विप्लवले बताउनुभयो । महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गर्नुभयो । उहाँले माओवादी जनतालाई अलमल र भुमरीमा नफसाइ परिवर्तनतिर लैजाने गरी आएमा आफूहरू एकताका लागि तयार रहेको धारणा राख्नुभयो । उहाँले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्किन अपिल गर्नुभयो ।

उहाँले भन्नुभयोे, ‘प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नुहुन्छ । तपाईं पुरानो ठाउँबाट फर्किनुस् न । माओवादी केन्द्रसँगका साथीहरूसँग साँच्चिकै छलफल हुन्छ । तपाईं हरू पुरानो ठाउँबाट फर्किनुहोस् । नेपाली जनतालाई पछाडितिर धकेल्ने होइन । नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन । निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुहोस् । हामी तयारै छौँ । किरणजी आउनुहोस् हामी तयार नै छौँ । तपाईंहरू पनि सुध्रिनुस् । तपाईंहरू सुध्रिनुहुन्न भने तपाईंहरूको अन्त्यलाई भगवान्ले पनि बचाउन सक्दैन भन्याजस्तै कुरा हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?