पेचिलो बन्दै काठमाडौंको फोहोर व्यवस्थापन, पटक-पटकका छलफल निष्कर्षविहीन

हिमालय टाइम्स
Read Time = 10 mins

डिबी शर्मा/हिटा
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको फोहोर व्यवस्थापनको विषय थप पेचिलो बन्दै गएको छ । फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न दैनिक भइरहेको छलफलले कुनै निष्कर्ष निकाल्न सकेका छैनन् । फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधनका लागि मेयर बालेन्द्र साह (बोलन) भने सक्रियताका साथ लागिरहनु भएको छ ।

निर्वाचित भएदेखि नै फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राख्नुभएका मेयर साहले पछिल्लो समय विभिन्न पक्षसँगको छलफललाई तीव्रता दिनुभएको हो । फोहोर व्यवस्थापनमा देखिएको अवरोध हटाउन उहाँले विभिन्न पक्षसँग छलफल थाल्नुभएको हो । शुक्रबार उहाँ उपमेयर सुनिता डंगोलसहित काठमाडौंको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुग्नुभएको थियो ।

महानगरको मेयरमा निर्वाचित भएपछि शपथग्रहण नगर्दै पनि उहाँले सिसडोल र बञ्चरेडाँडा पुगेर स्थलगत अवलोकन गर्नुभएको थियो । विभिन्न माग राखेर फोहोर विसर्जनमा अवरोध गरिरहेका स्थानीयवासीसँग मेयर बालेन्द्रले शुक्रबार पनि छलफल गर्नुभयो । छलफलका क्रममा मेयर साह र स्थानीयबीच चर्काचर्कीसमेत भएको थियो ।

मेयर साहले फोहोर व्यवस्थापनमा देखिएको अवरोध हटाउन सक्रियता देखाइरहँदा महानगरका विभिन्न ठाउँमा भने फोहोर थुप्रिएको छ । नियमित फोहोर उठ्न छोडेकै चार महिना भइसक्यो । ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको अवरोधका कारण काठमाडौंको फोहोर नियमित उठ्न नसकेको हो ।

फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न मेयर साहकै संयोजकत्वमा अध्ययन समितिसमेत बनेको छ । तर, सडकमा थुप्रिएको फोहोर उठाउन नसक्दा दीर्घकालीनसँगे तत्कालीन समस्यासमेत समाधान गर्नुपर्ने चुनौती थपिएको छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गर्ने दीर्घ समाधान हुन नसक्दा पटक-पटक समस्या उत्पन्न हुने गरेको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

मेयर साहको प्रतिबद्धता-एक सातामा दुर्गन्धमुक्त हुनेगरी केमिकलको व्यवस्था गर्छौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार सिसडोलबासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । करिब एक सातादेखि काठमाडौंको फोहोर नउठेपछि मेयर उपमेयरसहितको टोली शुक्रबार बिहान सिसडोल पुगेको थियो । ‘एक सातामा दुर्गन्धमुक्त हुनेगरी केमिकलको व्यवस्था गर्छौं,’ सिसडोलवासीसँग उहाँले भन्नुभयो, ‘कुहिने र नकुहिने फोहोर छुट्याएर मल र ग्यास बनाउन सुरु गरिनेछ । त्यसका लागि तीन महिना लाग्छ । सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्छौं ।’ यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको पनि मेयर साहको भनाइ थियो ।

मेयर बालेनले फोहोर व्यवस्थापनमा रोक नलगाई सहजीकरण गरिदिन आग्रह गर्नुभयो । करिब एक सातादेखि काठमाडौंको फोहोर नउठेपछि मेयर उपमेयरसहितको टोली शुक्रबार बिहान सिसडोल पुगेको थियो । मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पटक-पटक दोहोर्‍याउँदै आउनुभएको छ ।

फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौँ : सुनिता डंगोल, उपमेयर
महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पनि फोहोर व्यवस्थापनका लागि आफूहरू खटिरहेको बताउनुभयो । सिसडोलका स्थानीयसँगको छलफलमा उहाँले समस्या समाधान गर्न पहल गरिरहेको बताउनुभयो । ‘हामी तपाईंहरूको समस्या सुन्न र वस्तुगतस्थिति अवलोकन गर्न आएका हौँ । यहाँको जनप्रतिनिधिसँग पनि कुरा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले विशेषगरी फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौँ । यसका लागि महानगरले हरेक तहका सरकारसँग गर्नुपर्ने समन्वय सहकार्यका लागि केही कार्य अगाडि बढाइसकेका छौँ ।’

माग सम्बोधन नगरेसम्म फोहोर विसर्जन गर्न नदिने स्थानीयको अडान
‘हामीलाई राज्य र महानगर सबैले ढाँटेर झुलाइरहेका छन्’
सिसडोलका स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका थिए । पहिले माग पूरा भएपछि मात्रै फोहोर विसर्जन गर्न दिने उनीहरूले बताएका छन् । ‘यहाँ फोहोर फाल्न थालेदेखि खेती किसानी हुँदैन । यहाँको जमिन पनि बिक्दैन,’ आक्रोशित एक स्थानीयले भने, ‘हामीलाई राज्य, महानगर सबैले ढाँटेर झुलाइरहेका छन् । बाको पालादेखि नै । अबका दिनमा यहाँ फोहोर फाल्ने हो भने फोहोरको गाडी गाडी हाम्रो छातिमाथि चढाएर ल्याउनुपर्छ ।’

त्यस्तै, अर्का एक स्थानीयले पनि नयाँ माग अघि सारे । ‘आजबाट एउटा माग थपिएको छ । तीनपिप्लेबाट यहाँसम्मको सम्पूर्ण बाटोको जमिनको पैसा नेपाली नागरिकलाई नगरपालिकाले भुक्तानी नगरेसम्म आजैका दिनबाट कुनै पनि फोहोरमैला बोकेको गाडी तीनपिप्लेबाट यता आउने छैन,’ उनले भने, ‘हाम्रा माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।’ शुक्रबारको छलफलका विना निष्कर्ष टुंगिएको थियो ।

काठमाडौंको फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्छ : मन्त्री झाँक्री
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनुभएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुग्नुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उहाँले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ‘बञ्चरेडाँडा वा सिसडोल नगएका मानिसहरूका लागि सामान्य कुरा लागे पनि त्यहाँ गएकाहरूका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ ।’ मन्त्री झाक्रीलाई भेट्न मेयर साह र उपमेयर डंगोलको टोली बिहीबार साँझ मन्त्रालय पुगेको थियो ।

मेयर साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिबद्धता समयमै पूरा गर्न आग्रह गर्नुभयो । यसअघि मेयर साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेर फोहोर व्यवस्थापनबारे सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?