मेरो अतीत मेरो अनुभव : सिन्धुलीपछि मकवानपुरको जिशिअमा सरुवा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 13 mins

✍️ रमेशप्रसाद गौतम
सिन्धुलीपछि मकवानपुर जिल्लामा झण्डै अढाई वर्ष जिल्ला शिक्षा अधिकारी भएर काम गरेँ । त्यहाँ पनि एसएलसी परीक्षा अनियन्त्रित देखेँ । परीक्षा केन्द्र शिक्षा शाखाको टुर मुकामबाट दश मिनेटको अन्तरमा थियो । म एक्लै भुटनदेवी परीक्षा केन्द्रमा जाँदैथिएँ । अचानक एउटा गुलेलीको मट्याङ्ग्राले निधारमा लाग्यो । केही बेर दुख्यो निधारमा ठूलै टुटुल्को उठ्यो । म उमेरदारी र फूर्तिलो थिएँ । यो मलाई परीक्षामा जान बिथोलेको हो भन्दै म निडरताका साथ केन्द्रतर्फ लागेँ । परीक्षा केन्द्रमा निगरानी राखी शिक्षक गार्डहरूलाई सतर्क गराउँदै चिट खोस्दै हिँडेँ । परीक्षा सुचारु रूपमै चल्यो ।

अर्को वर्ष समयमै सतर्कता अपनाई परीक्षालाई नियन्त्रित रूपमै चलाउने परीक्षा समन्वय समितिको बैठकबाट समेत पारित गराई सजगता अपनाउने काम भयो । तर, परीक्षा केन्द्रमा बढीमात्र चिट चोराउन बाहिरबाट हुलहुज्जत गर्नेलगायत अनुशासनहीनता कार्य भए हलभित्र चोरी गर्ने चिट चोराउनेले प्रश्नपत्र बाहिर पठाउने आदि काम हुन थालेपछि सम्पूर्ण केन्द्रकै परीक्षा रद्द हुने वार्निङ गरियो तैपनि अटेर गरेपछि पूरै केन्द्रको परीक्षा एक वर्षका लागि रद्द गर्ने परीक्षा समन्वय समितिबाट निर्णय गरियो । त्यसपछिदेखि परीक्षामा अनुशासन कायम हुँदै आयो ।

सोही जिल्लामा भुटनदेवी माविका प्रधानअध्यापकलाई विद्यार्थीले एसएलसी टेष्ट परीक्षामा फेल गराएको निहुँमा हातपात गर्न लागे मेरो सुरक्षा भएन भनेर प्रअले भने । त्यसबेला शिक्षा कार्यालय भीमफेदीमा भएकाले मलाई त्यहीँ खबर आयो । आफ्नो साधन थिएन तैपनि म तत्कालै विद्युत् प्राधिकरणका प्रमुखलाई अनुरोध गरेर गएँ । प्रहरी प्रशासनले सर तपाईं त्यहाँ नजानुहोस् तपाईंको सुरक्षा हुँदैन । प्रअले गल्ती गरेका छन् तपाईं किन बचाउन जानुहुन्छ आदि जस्ता कुरालाई ख्याल नगरी म प्रअलाई सुरक्षा दिने मेरो कर्तव्य ठानेर गएँ । विद्यार्थीलाई सम्झाई बुझाई गरेँ म पनि विद्यार्थी माझबाटै आएकाले विद्यार्थी देखेर कुनै पनि जिल्लामा पछि हटिन । यसैले यहाँ पनि सम्झाउन सफल भएँ विद्यार्थी शान्त भएर आ-आफ्नो घरतर्फ लागे ।

मकवानपुर जिल्लामा राजा वीरेन्द्र सवारीमा स्वागत समितिको गठन भयो । त्यतिखेर सदरमुकाममा प्रअहरूले मलाई हामीलाई पनि उक्त स्वागत समिति राख्दा राम्रै होला सर भन्नुभयो । यहाँका प्रशासकहरूले राजा विरोधी ठान्दछन् त्यो होइन भन्दैथिए । त्यसपछि उक्त कमिटीको बैठक बस्यो । त्यसमा अञ्चलाधीश सिडिओलगायतका थियौं । मैले सदरमुकामका प्रअहरूलाई पनि राख्नुपर्छ भनेँ तर सुरक्षाको दृष्टिकोणले मिल्दैन भने । प्रअहरू बौद्धिक समूह हुन् यिनलाई टाढा पार्नु त झनै नहुने हो भनेँ । अनि अञ्चलाधीशले यिनीहरूको जिम्मेवारी जिशिअसाबले लिने हो भनेर प्रश्न गरे । मैलै खुशीसाथ म लिन्छु भनेपछि यसको जवाफ भोलि दिउँला भन्नुभयो ।

भोलिपल्ट जिशिअसाबकै जित भयो भन्नुभयो । सबै हेटौंडाका प्रअहरू सम्मिलित हुनुभयो । राजा वीरेन्द्रको भव्य स्वागत भयो । तत्कालीन राजा वीरेन्द्रले यसपालि विगतभन्दा ठूलो जनसमूह भएको सोधनी भयो भनेर चर्चासमेत भएको थियो । यसरी म हरेक जिल्लामा शिक्षक र प्रअहरूलाई प्रोत्साहन र हौसला बढाउनुका साथै हाम्रो कर्तव्य भनेको विद्यालयको पठनपाठनमा दत्तचित्त भएर लाग्नु नै हो भन्दथेँ । विद्यार्थी अनुत्तीर्ण हुनु विद्यार्थीको मात्र कमजोरी होइन हामी शिक्षकको पनि हो भन्ने कुरा बुझ्नुपर्दछ भनिरहन्थेँ ।

यस जिल्लाका तत्कालीन माननीय रूपचन्द्र विष्टले टिष्टुङमा जनसहभागितामा एउटा प्राथमिक स्कुल सञ्चालन गरेका थिए । त्यस स्कुललाई स्वीकृत दिन मभन्दा पनि अगाडिको शिक्षा अधिकारीले इन्कार गरेको बुझियो । तर, त्यहाँ तीन सयभन्दा बढी बालबालिका अध्ययनरत स्थानीय जनताको सहयोगमा कठिनाइपूर्वक चलाइएको बुझियो । त्यस स्थानमा रूपचन्द्रको भूमिका भएकोले प्रशासकहरूले स्वीकृत दिन रोकेका थिए । उक्त स्कुलको सम्बन्धमा मैले निरीक्षकलाई खटाए र म आफैं पनि बुझ्न गएँ । अन्त्यमा त्यस स्कुललाई सरकारी कोटामा पारी स्वीकृत नदिनु अन्याय ठानेर मैले शिक्षा समितिमा प्रस्तुत गरेँ तर शिक्षा समितिले स्वीकृत नदिने निधो गर्‍यो ।

त्यसपछि उक्त स्कुललाई सञ्चालन गर्न मेरै निर्णयबाट स्वीकृत दिएँ । जिल्लाका जनप्रतिनिधि र प्रशासनले विरोध गरे । शिक्षामन्त्री केशरबहादुर विष्ट हुनुहुन्थ्यो । अनि मैले उहाँलाई यथार्थ व्यहोरा अवगत गराएँ । मन्त्रीज्यूले तपाइँले उचित लागेर ठीक छ भनी बुझ्नुभएको भए स्वीकृत दिनुहोस् म तपाईंलाई साथ दिन्छु भन्नुभयो । त्यसपछि मैले उक्त स्कुललाई स्थायी रूपमै अनुमति दिएँ । माननीय रूपचन्द्र विष्टले पनि जिल्लामा न्याय दिने शिक्षा अधिकारी आएछ भन्नुभएछ ।

अर्को एउटा स्मरणीय घटना मेरो मानस पटलमा छछल्किएको छ । २०३८ साल पुस महिनादेखि शिक्षा अधिकारीको कार्यभार सम्हाल्दै आएँ । तत्काल सदरमुकाम भीमभेदी नै थियो । पायकका हिसाबले सबैले हेटौंडा नै रुचाएका थिए र शिक्षा कार्यालय भीमभेदीमै थियो । अरू कार्यालयहरू प्रायः हेटौंडा सरिसकेका थिए ।

जिल्ला शिक्षा कार्यालयको पनि हेटौंडामा अस्थायी मुकाम भने थियो । त्यो केबल पाठ्यपुस्तक वितरणमा सीमित थियो । अन्यै सबै काम कारबाही भीमभेदीबाटै हुन्थ्यो । भीमभेदी हेटौंडा सार्वजनिक यातायातको रूपमा ट्रकबाटै आवतजावत गर्दथेँ । शिक्षा कार्यालयको पनि कुनै साधन थिएन । हेटौंडा जानु पर्दा सिडिओको वा विद्युत् प्राधिकरणको गाडी आवश्यक पर्दा सहयोग माग्नुपर्ने अवस्था थियो । २०३९ साल जेठ महिनामा अन्तरनगर खेलकुद कार्यक्रम हेटौंडामा हुने भयो ।

उक्त कार्यक्रमको उद्घाटन राजा वीरेन्द्रबाट हुने भएपछि निकै तदारुकताका साथ कामकारबाही सुरु भयो । नेपालभित्रका खेलाडीसमेत सहभागी हुने भए । उक्त कार्यक्रम शिक्षासित पनि सम्बन्धित हुने हुँदा खेलकुद उपसमितिको संयोजक सिडिओ र सदस्यसचिव जिशिअ राखिएको जानकारी पाएँ । यसले गर्दा दैनिक आफ्नो कार्यका साथै अतिरिक्त जिम्मेवारी पनि थपियो । यस कार्यत्रमको राजाबाट उद्घाटन हुने हुँदा केन्द्रबाट पनि थुप्रै मानिस आए । उक्त समुद्घाटन समारोहमा शिक्षाका तर्फबाट शिक्षामन्त्री, शिक्षासचिव, निर्देशकलगायत अन्य मन्त्रालयहरूबाट पनि थुप्रै पदाधिकारी आए । राजाले उद्घाटन कार्यक्रम सकेपछि खेलकुद कार्यक्रमका अनेक इभेन्टहरू सञ्चालनका सबै तयारी नै थिए ।

उद्घाटनपछि केन्द्रबाट आउनुभएका सबैजसो ठूलाबडाहरू केन्द्रतर्फै फर्कने तयारीमा हुनुभयो । शिक्षामन्त्री केशरबहादुर विष्ट, शिक्षासचिव डा.नरसिंह नारायणलगायत शिक्षाबाट आउनुभएका सबैका लागि दिवा भोजनका निम्ति जिल्लाको होष्टका नाताले मैले रापती होटलमा लगेँ । हामी सबैले खाना खायौँ र खाना खाइसकेपछि होटल मेनेजरलाई बिल मेरै नाममा चढाइराख्नु भनेँ । तत्कालीन अवस्थामा जिशिअको मासिक तलब रु.६२० मात्र थियो तर होटल मेनेजरले चिनेका थिए । त्यसले गर्दा बिलको पैसा पछि दिन्छुभन्दा पनि स्वीकारे । मैले पाहुनालाई सत्कार गर्नुु मेरो दायित्व ठानेँ र उक्त रकम व्यक्तिगत रूपमै तिर्ने मनसाय राखेँ ।

शिक्षामन्त्री केशरबहादुर विष्टले हामीले खाएको पैसा कसले दियो भनी आफ्नो पिएलाई सोध्नुभयो । उनले शिक्षा अधिकारीले दिएछन् भने अनि मन्त्रीजीले सो रकम आफ्नो खल्तीबाट मेनेजरलाई दिए र उनले सबैका अगाडि भने जुन शिक्षा अधिकारी एक कप चिया कुनै शिक्षकको खाँदैन उनको तलब ६२० छ उनले रकम घरबाट ल्याएर तिर्ने यो मबाट हुन सक्तैन । यसले मै तिर्छु भनेर इमानदारीलाई कदर गर्न हामी सबैले सिकौँ भने । यो पनि सम्झनालाएको घटना ठान्दछु ।

भीमभेदीमा रहेको शिक्षा कार्यालयलाई हेटौंडामा सार्ने र शिक्षा कार्यालयको भवन बनाउनको लागि जग्गा कतैबाट उपलब्ध गराइएको थिएन । संयोगले म एक दिन हेटौंडा पुग्दा अञ्चलाधीश, सिडिओ, मालपोत अधिकृत, नापी अधिकृतसमेतको बैठकमा पुगेँ त्यस बेला शिक्षा कार्यालय पनि हेटौंडामा आउनु प¥यो भन्ने खालका कुरा अञ्चलाधीश र सिडिओले निकाले । अन्य कार्यालयलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराइएको कुरा सुनेँ तर शिक्षा कार्यालयका लागि छुट्याइएको रहेनछ । मैले उक्त बैठकमा शिक्षा कार्यालयले पनि जग्गा पाउनु प¥यो भन्ने प्रस्ताव राखेँ । उक्त कुरामा अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ र सिडिओ केशव पौडेल दुवैजनाले शिक्षा कार्यालयलाई जग्गा उपलब्ध गराउनुपर्छ भन्ने अश्वासन दिए । उक्त बोर्डले निर्णय गरी मालपोत कार्यालयमा पठाए । लालपुर्जासमेत शिक्षा कार्यालयको नाममा उपलब्ध गराइएको थियो । म उक्त जिल्लाबाट सरुवा भइसकेपछि उक्त जग्गामा शिक्षा कार्यालयका लागि उपयुक्त भवन निमार्ण भयो । हाल हेटौंडाको उक्त भवनबाट शिक्षा कार्यालय सञ्चालन भइरहेको छ । क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?