लोचनगरको अँध्यारो कोठा !

हिमालय टाइम्स
Read Time = 14 mins

✍️  डा.नारायण चालिसे
कति कुरा भावनासँग जोडिएर, कति कुरा बुद्धिसँग जोडिएर अनि केही कुरा हृदय र बुद्धिको संयोगबाट पनि प्रकट हुन्छन् । यी सबै कुरा सधैं साथमा लिएरै हिँड्ने हुँदा मानिस कहिले भावनाको, कहिले मनको, कहिले बुद्धिको दबाबमा परिरहन्छ । यसपटक त्यसै प्रकृतिको दबाबले मन, बुद्धि र हृदयलाई झक्झक्याइरहृयो । दार्जिलिङको बीच बजारमा उभिएको चार तले घरको अगाडि उभिएर इतिहास र वर्तमानलाई अवलोकन गर्दाको यो क्षण तिनै मानवीय भावनाबाट प्रभावित रहृयो । नेपाली साहित्यमा विशिष्ट योगदान गरेर पनि प्रायः विवाद अनि केही आस्थाभावसहित पढिँदै आएको नाम साहित्यकार इन्द्रबहादुर राई हो भन्ने लाग्छ ।

यसका पछाडि पनि केही बलिया कारणहरू रहे । नेपालबाहिर रहेर पनि नेपाली भाषा र साहित्यको अद्वितीय स्रष्टा हुनु, लोकतान्त्रिक विचारवान् स्रष्टा हुनु, नेपाली साहित्यमा हस्तक्षेपकारी ढङ्गले नयाँ नयाँ वैचारिक मान्यताको प्रस्ताव गर्नु, जटिल र प्रयोगवादी शैलीमा लेख्नु इत्यादि कारणले स्रष्टा राई सधैं चर्चाको केन्द्रमा रहे । यी केही कारणले साहित्यकार राईमाथि नेपालमा फरक फरक धारणाहरू चर्चामा रहे । नेपाली साहित्यमा बहुप्रचलित तेस्रो आयाम र लीलालेखन जस्ता सशक्त वैचारिक दर्शन र साहित्यमा तिनको यथोचित प्रयोगका बान्कीहरू बाहिर आएपछि राई नेपाली साहित्यमा गहकिला तर केही बोझिला स्रष्टा बनेर परिचित रहे ।

केही व्यक्तिहरूलाई उनी बेस्सरी मन परे केही व्यक्ति र प्रवृत्तिलाई उनी बेस्सरी बिझाए । एकथरि मानिसहरू उनका विचारलाई स्थापना गर्न लागि परे अनि केही व्यक्तिहरू असफल घोषित गर्न अनेक प्रयत्नमा लागे र लागिरहे । यो क्रम उनको जीवन अवधिभर रहृयो । चोला कसैको पनि अजम्बरी छैन । सुप्रसिद्ध स्रष्टा एवं विचारक राईले भौतिक संसार छोडेको पनि पाँच वर्ष पुग्न लागेको छ । जीवन उज्यालोको अनि मृत्यु अँध्यारोको प्रतीक हो । अध्यात्मले त भौतिक देहको अवसानपछिको समयको पनि रोचक वर्णन गर्छन् र त्यो समयलाई पनि सुख र उज्यालोको अवस्था मान्छन् ।

हाम्रो निम्ति मृत्यु उपरान्तका कुरा काल्पनिक नै भए । हामी आममानिसलाई मृत्यु र त्यसपछिको समयभन्दा त्यस अघिकै समय प्रिय छ अनि उज्यालो छ । मृत्यु हाम्रो निम्ति अँध्यारो गुफामा पस्नु हो । भौतिक दृष्टिले हेर्दा सायद महाविश्राम र त्यसपछिको समय अँध्यारो हो । हामी उज्यालोमा जति अँध्यारोमा रमाउन सक्दैनौँ । र, कल्पना गर्छौं जीवनपछि अँध्यारो हुन्छ होला ।

लोचनगरको व्यस्त बजारको बीचमा रहेको त्यो घर वास्तवमा घरमात्र नभएर ज्ञानको मन्दिर नै हो भन्ने लाग्छ । अर्थात् सुप्रसिद्ध स्रष्टा इन्द्रबहादुर राईले जीवन बिताएको कक्ष, चिन्तन र साधना गरेको कोठा । विचार, दर्शन र दृष्टि पाएको कोठा । हजारौंको सङ्ख्यामा पुस्तकहरू राखेको कोठा । सारमा राईको जीवनदर्शन भेटिने ठाउँ । ती कोठा आज अँध्यारा छन् जहाँ दिव्य ज्ञानका अनगिन्ती स्रोतहरू राखिएका छन् । संसारलाई उज्यालो छर्ने ती ज्ञानशास्त्रका ठेलीहरूले पनि आफैंमा उज्यालो दिन नसकेको र तीभित्रबाट उज्यालो चेतना झिक्न पनि पात्रता नै चाहिने रहेछ भन्ने बोधले दर्शनको नयाँ पाटो उघारियो जस्तो लाग्यो ।

आज पनि त्यस घरका अन्य कोठाहरू उज्याला हुनु अनि जहाँ स्वयं उज्यालोको बस्ती थियो त्यहाँबाट उज्यालोले बसाइँ सर्नु निश्चय पनि विडम्बनापूर्ण त हो तर त्यसो भनेरै पनि समाधान सम्भव देखिएन । अँध्यारो कुनामा थन्किएका उज्यालाका साधनहरूले सहारा खोजिरहेको त्यो परिस्थिति वर्णनातीत छ । त्यो अँध्यारो सायद जीवनपछिकै अँध्यारो हो । किनकि जुन दिनसम्म आईबी सर जीवित हुनुहुन्थ्यो ती कोठा अँध्यारा थिएनन् । सबै किसिमले उज्याला थिए सायद ती कोठाहरू ।

कहिल्यै नबल्ने गरी आईबी सरले बाटो लिएपछि ती कोठाको उज्यालोले पनि बाटो लिए होला भनेर अनुमान गरेँ । मन भावुक बनेर आयो । कति धेरै पछिसम्मका विचार, दर्शन र दृष्टिलाई यही कोठाले जन्मदियो । त्यतिखेर यहाँ हरेक निर्जीव वस्तु पनि सजीव भई जागा बस्थे होला । एकजना मनीषीले चौबीस घण्टा साधना गरेको कहिल्यै बत्ती ननिभ्ने यी कोठामा सन्नाटा छाएको दृश्य हामी जस्ता अनुयायीहरूका निम्ति निश्चय पनि भावुक थियो ।

धेरैलाई उज्यालो बाँडेर नरित्तिएको आईबी राईको पढ्ने कोठामा आज अँध्यारो छाएको छ । ज्ञानशास्त्रका ती बिम्बहरू, उपासनाग्रन्थहरू, वेद, उपनिषद्, दर्शन र पुराणका ती चकित पार्ने विचारहरू जहाँ अनगिन्ती विचार र दर्शनका सम्भावनाहरू जुर्मुराइरहन्थे राई सर रहुन्जेलसम्म । त्यहीँबाट बौद्ध शून्य, जैन स्याद्वाद, वेदान्तमाया, वाचारम्भणं विकारो नामध्येयं मृत्तिकैव सत्यम्, लोकवत्तु लीला कैवल्यम्, शब्दस्फोट, क्वान्टम फिजिक्स, गेस्टाल्ट मनोविज्ञान, माक्र्सीय आइडोलोजी इत्यादि विचारहरूले नयाँ व्याख्या पाएका थिए । हजारौँ सम्भावना भेटिन्थे त्यहाँ । सधैं पढिरहने शास्त्रमा पनि नयाँ अर्थको आविस्कार हुन्थ्यो । शब्दहरू जीउँदाजाग्दा भएर आउँथे नयाँ अर्थ पाएर ।

कति सम्भावना थिए त्यहाँ । हुन्छ भनौँ, हुँदैन केहीलाई पनि नभनौँ । किन कि हामीले जानेको मात्र जानेको होइन । जानेको भनेको धारणा बनाउनु हो । आफ्नोतर्फको धारणा । त्यही धारणा पनि परिवर्तनीय हुन्छ । आफ्नै धारणा पनि केही समयको ज्ञानपछि फेरिन्छ भने अरूका धारणामा हाम्रो अधिकार लाग्दैन । धारणाहरू सत्यका झिल्काहरू हुन् । सत्यका अनेक आयाम र रूप हुन्छन् । आफ्नोतर्फको सत्य अरूको सत्य नहुन सक्छ इत्यादि पूर्वीय चेतना, मन र पश्चिमा आधुनिक शास्त्रहरूको अध्ययन दुवैबाट सम्मिश्रण भई जन्मिएका कतिपय मान्यताहरू केही पूर्वको निम्ति नौला भएर आए केही पश्चिमको निम्ति नयाँ विचार बने ।

चिन्तनको सोपान चढिरहने मान्यताका हिमायती राई हरेक समय सम्भावनाका देख्थे । सुरुसुरुका विचारमा केही जिद्दीपन देखिए पनि पछिल्लो चरणमा आइपुग्दा उनमा कुनै पनि प्रकारका जिद्दी र आग्रहहरू बाँकी थिएनन् । हरेक विचारका पछाडि नयाँ विचारको बिउ विद्यमान रहेको ठान्ने राईको पछिल्लो विचार निकै लचिलो पाइन्छ । लीला, उत्तर आधुनिकता, अध्यात्म, भौतिकता, जीवन, जगत् इत्यादि हरेक विषयमा उनी समन्वयवादी बन्दै गइरहेका थिए ।

यी अनगिन्ती विचारहरूले नयाँ मान्यता पाएको त्यो उज्यालो कोठा आज अँध्यारो छ । हजारौँ ज्ञानपिपाशुहरूले त्यो मन्दिरको दर्शन गर्न पाएर आफूलाई धन्य पनि सम्झिए । आईबी सरसँग जति पटक भेट भयो काठमाडौंमै भयो सशरीर उहाँ अस्तित्वमा रहँदै त्यो ज्ञानमन्दिरको दर्शन गर्न मैले तीन पटक प्रयत्न गरेँ मेरो अभिलाशा पूरा हुन सकेन । उहाँको भौतिक अवशानको चार वर्षपछि मात्र मलाई त्यो अवसर मिल्यो । यस्तो कोमल मन लिएर म बौद्धिकताका कुरा गर्न सकिरहेको छैन । हृदयको कोमलताले आईबी सरलाई समात्न नसकिने मनको भावुकताले बौद्धिक हुन नदिने ।

जातस्य हि ध्रुवोमृतर््यु ध्रुवं जन्म मृतस्य च... । यो हरफ धेरै पटक उद्धरण गरिसकेको छु । तर आज किन किन यो शब्द अलि बढी नै बोझिलो लागिरहेको छ । मृत्युको यो अपरिहार्य चेतना समय छँदै किन आउँदैन ? जानुपर्ने जीवनको नियति लिएआएका हामीले मृत्युमा विषाद गर्न हुँदैन भनेर पनि राई सरले धेरै पटक भनिसक्नु भएकै हो । नभने पनि भने पनि, हुन्छ त्यही जे हुनु पर्ने हो । पछि सायद अब यो कोठामा त्यो प्रकारको उज्यालो कहिल्यै आउने छैन ।

मन एकतमासको भयो । छिप्पिएको साँझमा पनि त्यो कोठामा उज्यालो छिर्न सकेनछ । कति कठोर छन् जीवनका यथार्थहरू । मानिसले मर्नु पर्छ भनेर कहिले सोच्दो हो ? सोचेरै पनि हुने त केही होइन । भारी मनले हलुका कुरा लेखिँदैनन् थाहा छ र यो पनि थाहा छ हलुका मनले पनि गहकिला कुरा लेख्दा शब्दको वजन सायद कमै हुन्छ । इन्द्रबहादुर राई लेख्न बस्दा मलाई त्यस्तै असजिलो लागिरहेको छ ।

मेरा शब्दको वजनभन्दा धेरै गहन थियो उनको जीवन । विचार, सिद्धान्त र संस्था सबै भएर बाँचे उनी अनि त्यसरी नै भौतिक जीवनले अस्ताए । असाधारण नभएर लामो बाँच्न पाइँदैन । आईबी सरले लामो आयु त लिनुभयो तर भौतिक शरीरको अवशानले हामीलाई गहिरो विस्मात् रहिरहृयो उहाँलाई दार्जिलिङमा उहाँकै कोठामा भेट्न पाइन । उहाँले पढाएको कलेज, उहाँसँग पढेका शिष्यहरू, उहाँ हिँडेको बाटो, उहाँका विचारको पृष्ठभूमि दार्जिलिङ र वरपरका अग्ला पहाड अनि हिमशिखरहरू, चियाबगान अनि हरिया बस्तीहरू, उहाँले नेपाली भाषा र नेपाली जातिलाई अस्तित्वशील बनाउन गरेको सङ्घर्ष, बलिदान, योगदान र उहाँभित्रको क्रान्तिकारी मानिस, अवस्था पर्दा उहाँले प्रकट गर्ने गरेको रिसको प्रतिक्रियाका केही दृष्टान्तहरू समेत सुन्ने सुयोग जुरेको त्यो समय निकै ऐतिहासिक रहृयो हाम्रो निम्ति ।

मानिसभित्र देवता पनि यहीँ छ दानव पनि यहीँ छ । कसलाई जगाउने त्यो आफ्नो प्रवृत्तिको कुरा भयो । आईबी सरले जीवनभर आफूभित्रको मानिसलाई नै जगाइरहनु भयो भन्ने सुनियो र बुझियो पनि । यी धेरै विषयका साक्ष बनेका विद्वान् स्रष्टा विजयकुमार राई जसले इन्द्र सम्पूर्ण (१-५ भाग, प्रकाशन : सिक्किम सरकार) जस्तो गहन ग्रन्थको सम्पादन गरेर आईबी सरको व्यक्तित्वलाई उजागर गर्न थप महनीय योगदान गर्नुभएको छ । उहाँलाई भेट्दा र उहाँका कुरा सुन्दा आईबी सरकै साहित्यिक उत्तराधिकारी जस्तो लाग्यो । उहाँसँगका रोचक, विचारोत्तेजक अनुभव अनि अभिव्यक्तिहरू पनि समयको गतिसँगै प्रकाशमा आउने नै छन् । कामना गरौँ लोचनगरको त्यो अँध्यारो कोठामा कुनै दिन पुनः बत्ती बल्नेछ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
विजय कुमार राई
विजय कुमार राई
2022-06-04 11:19 am

आदरणीय डा नारायण चालिसे सरको गहन ओजस्वी लेखनले आई बी सर सम्बन्धी धेरै जीवन दर्शन उजागर भएको अनुभव भयो। हार्दिक बधाई हजुरलाई।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?