बागलुङ बजारमा सिसी क्यामेरा जडान गरिँदै

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ ।  बागलुङ बजारमा सिसी क्यामेराहरू जडान गर्न लागिएको छ । हुन त यसअघि पनि यहाँ सिसी क्यामेराहरू जडान नभएका होइनन् । तर, लामो समय त्यसको व्यवस्थापन नहुँदा बजारका विभिन्न स्थानका सिसी क्यामेराहरू काम नलाग्ने बनेका थिए । फेरि पनि बागलुङ बजारभित्र सिसी क्यामेरा व्यवस्थापन गर्नका लागि बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ सहकार्य गरेर लागेको छ ।

बजार क्षेत्रको शान्ति सुरक्षाका लागि क्यामेरा जडान गर्न थालिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । उहाँले लामो समयदेखि रोकिएको कामलाई अब तीव्र गतिमा गरिने बताउनुहुन्छ । ‘सिसी क्यामेरा व्यवास्थापनको काम लामो समयदेखि रोकी राखेको थियो, त्यसले गर्दा बजार क्षेत्रको शान्ति सुरक्षामा अलिकति समस्या भएको हो कि भन्ने हामीले महसुस गर्यौ, अब बजारका विभिन्न चोकहरूमा सिसी क्यामेरा राख्नेछौँ,’ अध्यक्ष राजभण्डारीले भन्नुभयो ‘अब काम तीव्र गतिमा हुन्छ ।’

यसअघि बागलुङ बजारको विभिन्न स्थानमा जडान भएका २९ वटा सिसी क्यामेरा प्रयोगविहीन भएको अध्यक्ष राजभण्डारीको भनाइ छ । उहाँले पुराना सिसी क्यामेराहरू विगत तीन वर्षदेखि प्रयोग हुन नसकेको भन्दै पुराना क्यामेरा हटाएर नयाँ क्यामेरा जडान गरिने बताउनुभयो । सिसी क्यामेरा व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ भने बागलुङ उद्योग वाणिज्य संघले आठ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बटेज अपुग भएमा बजारवासी व्यवसायीसँग सहयोग संकलन गरेर सिसी क्यामेरा जडान गर्ने अध्यक्ष राजभण्डारी बताउनुहुन्छ ।

सिसी क्यामेरा जडानका लागि हामी योजना बनाएर अघि बढिसकेका छौँ, बागलुङ नगरपालिकाले पनि बजेट विनियोजन गरिसकेको छ, हामीले पनि केही रकम व्यवस्थापन गरेका छौँ,’ उहाँले भन्नुभयो अपुग भएको रकम केही व्यवसायी साथीहरूसँगबाट सहयोग संकलन गर्नेछौँ, सिसी क्यामेरा जडानपछि सबैलाई सहज हुनेछ ।’

बजारमा सिसी क्यामेरा व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उहाँले दुई सयवटा क्यामेरासम्म धान्न सक्ने सिष्टम राख्ने भन्दै नाइट भिजन क्यामेरासमेत राखिने बताउनुभयो । अध्यक्ष राजभण्डारीले सिसी क्यामेरा जडानपछि बजार क्षेत्रमा अपराध र चोरीका घटनाहरू नियन्त्रण हुनेमा विश्वास लिएको बताउनुहुन्छ ।

बजार क्षेत्रमा अपराध तथा चोरीका घटना न्यूनीकरणका लागि विभिन्न चोकहरूमा ८५ वटा क्यामेरा जडान गर्ने बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले बताउनुभयो । क्यामेरा जडानका लागि काम सुरु गर्न उद्योग वाणिज्य, स्थानीय व्यवसायीसँग सहकार्य गर्ने मेयर श्रेष्ठले बताउनुभयो ।

उहाँले सिसी क्यामेराको व्यवस्थापनपछि बजार क्षेत्रमा शान्ति सुरक्षामा चुनौती नहुने अपेक्षा लिएको बताउनुभयो । ‘बजार क्षेत्रमा विभिन्न समयहरूमा चोरीका घटनाहरू भएका छन्, आपराधिक क्रियाकलापहरू पुनः भएका छन्, त्यसलाई न्यूनीकरण गर्ने हाम्रो लक्ष्य हो, यहाँका नागरिकलाई सुरक्षित भएको महसुस दिलाउनका लागि जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरिरहेका छौँ,’ मेयर श्रेष्ठले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?