नासिन थाले म्याग्दीका ऐतिहासिक देवल र प्राचिन सम्पदा

हिमालय टाइम्स
Read Time = 5 mins

- ध्रुवसागर शर्मा

म्याग्दी । संरक्षण र प्रचारप्रसारको अभावमा म्याग्दीका रहेका तीन सयवर्ष भन्दा पुराना देवल र प्राचिन सम्पदाहरू नास हुँदै गएका छन् । धार्मिक तथा ऐतिहासिक महत्वका देवल र प्राचिन सम्पदाहरू प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा पर्न थालेका हुन् ।

सदरमुकाम बेनीलगायत जिल्लाका ६ वटै स्थानीय तहहरूमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचिन सम्पदाहरू प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै र नासिदै गएका स्थानीयले बताएका छन् ।

सदरमुकाम बेनीबजारमा रहेका तीनवटा तीन सय वर्षभन्दा पुराना प्राचिन सम्पदाहरूको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेका स्थानीय प्रकाश श्रेष्ठले बताउनुभयो । बेनीमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल तीन सय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहरहरू हुन् । तर यी धरोधरहरूको न उचित संरक्षण हुन सकेको छ, न त प्रचारप्रसार नै भएको छ ।

विसं १७५४ मा तत्कालिन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवलहरू पाञ्चायन शैलीमा निर्माण गरिएको छ । पुराना इट्टाबाट निर्मित यी मन्दिरहरूमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मुर्तिहरू रहेका छन् ।

बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको स्थानीय बृद्ध अविरकुमार श्रेष्ठले बताउनुभयो । ‘वजार विस्तार हुने क्रमसँगै घर निर्माण हुने क्रम बढेपछि घरहरूले बालमुक्तेश्वर मन्दिर छोपिन पुग्यो, बेनीको सभ्यताको सबैभन्दा पुरानो मन्दिरको बारेमा अहिले धेरैजसो व्यक्तिहरू अनभिज्ञ छन्’श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार २०३७ सालमा बालमुक्तेश्वर मन्दिरको अगाडी लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्व पनि छोपिदै गएको हो । २०३४÷०३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिका–६ मा कालीगण्डकी नदी  र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिर पनि अहिले अस्तित्व विहीन बनेको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३/०६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसंग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिए पछि लजेश्वर शिवालयको मन्दिर पनि अस्तित्व विहीन बनेको छ ।

जिल्लााका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवती लगायतका स्थानमा रहेका कैयौं प्राचिन देवल र सम्पदाहरू नासिदै गएका छन् । यस्ता प्राचिन सम्पदाहरू नासिदै गएपनि स्थानीय तहले कुनै चासो नदेखाएको स्थानीयवासीहरूको भनाइ रहेको छ ।

प्राचिन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियार लगायतका ऐतिहासिक र पुरातात्विक महत्वका चिजहरू हराउँदै गएका ज्यामरुककोटका हरिप्रसाद शर्माले बताउनुभयो । यस्ता पुरातात्विक महत्वका ऐतिहासिक वस्तुहरूको संरक्षणमा पुरातात्विक विभागको पनि ध्यान जान आवश्यक रहेको भकुण्डेका ७८ वर्षीय डिलबहादुर कार्कीले बताउनुभयो ।

बडादशैं, चैतेदशैं, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ । ती ठाउँमा रहेका ढुंगेधारा र कुवाहरू पनि नासिदै गएका स्थानीयले बताएका छन् । स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदाहरूलाई सूचीकरण गरी संरक्षण र संवद्र्धनका लागि पहल शुरु गरिएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?