डेनमार्कसँग हार्‍यो विश्वविजेता फ्रान्स

हिमालय टाइम्स
Read Time = 4 mins

पेरिस । विश्वकप विजेता फ्रान्स डेनमार्कसँग पराजित भएको छ । युइएफए नेसन्स लिग ‘ए’ ग्रुप १ को पहिलो राउन्डको खेलमा फ्रान्सले डेनमार्कसँग २-१ को हार बेहोरेको हो । पेरिसमा शुक्रबार राती भएको खेलमा डेनमार्कको जितमा एन्ड्रिएस कोर्निलिअसले दुई तथा करिम बेन्जेमाले एक गोल गर्नुभयो ।

खेलको ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनुभएको थियो । ६८औँ मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी हुँदा एन्ड्रिएस कोर्निलिअसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै डेनमार्कको जित पक्का गर्नुभयो ।

योसँगै फ्रान्सको २० खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । फ्रान्स ११ नोभेम्बर २०२० मा फिनल्यान्डसँग २-० ले पराजित भएयता २० खेलमा अपराजित रहेको थियो । त्यसअघि फ्रान्स २८ जुन २०२१ मा स्विट्जरल्यान्डसँग टाइब्रेकरमा पराजित भएको थियो ।

यस्तै ग्रुप ४ को अर्को खेलमा डच टोलीले घरेलु टोली बेल्जियममाथि ४-१ को सानदार जित हात पार्‍यो । डच टोलीको जितमा मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गर्नुभयो । घरेलु टोलीका मिचे बात्सुयाईले एक गोल फर्काउनुभयो ।

खेलको ४०औँ मिनेटमा स्टेभन वर्गवाइनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ५१औँ मिनेटमा मेम्फिसले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पार्नुभयो । ६१औँ मिनेटमा डेन्जेल डम्फ्रेजले डाले र ६५औँ मिनेटमा डिपाएले चौथो गोल गर्दै नेदरल्यान्ड्सको जित पक्का गर्नुभयो । इन्जुरी समयमा मिचे बात्सुयाईले फर्काएको एक गोल बेल्जियमका लागि सान्त्वना गोल बन्यो ।

यो जितसँगै नेदरल्यान्डले समूहमा एक खेलबाट तीन अंक जोडेको छ । बेल्जियम पुछारमा छ । पोल्यान्डको पनि तीन अंक नै रहे पनि दोस्रो स्थानमा छ । वेल्सले भने अंक जोड्न सकेको छैन ।

यस्तै विश्व उपविजेता क्रोएसियाले ग्रुप ४ को पहिलो राउन्डमा अस्ट्रियासँग ३-० को हार बेहोर्‍यो । अस्ट्रियाका मार्काे एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक गोल गर्नुभयो । यो नतिजापछि समूहका अस्ट्रिया र डेनमार्कले समान तीन अंक जोड्दा गोल अन्तरमा अस्ट्रिया शीर्षस्थानमा रहेको छ । फ्रान्स र क्रोएसियाले अंकको खाता खोल्न सकेका छैनन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?