‘सर्वजित’ चलचित्र बन्ने, प्रधानमन्त्रीद्वारा शुभ मुहूर्त

Read Time = 3 mins

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘सर्वजित’ निर्माण गरिने भएको छ । शनिबार यो चलचित्रको प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्ल्याप ठोकेर शुभ मुहूर्त गर्नुभयो । चलचित्रलाई सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले निर्देशन गर्दै हुनुहुन्छ ।

डिसी ६ वर्षपछि चलचित्र निर्देशनमा फर्किनुभएको हो । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’पछि उहाँले चलचित्र ‘सर्वजित’बाट निर्देशनमा पुनरागमन गर्न लाग्नुभएको हो ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित हुने निर्देशक डिसीले जानकारी दिनुभयो । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

पहिला डकुमेन्ट्री बनाउन लागेको भए पनि सर्वजितको जीवनी थाहा पाएपछि फिचर फिल्म बनाउने निर्णय गरेको डिसीले बताउनुभएको छ ।
मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने फिल्ममा रणेन्द्र बराइलीको कथा, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा, एनबी महर्जनको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन र एलिश कार्कीको पाश्र्व संगीत रहनेछ । बाग्लुङ, पाल्पा, पोखरा, काठमाडौं र वनारसमा छायांकन हुने चलचित्रको सुटिङ आगामी भदौ अन्तिमबाट सुरु हुनेछ ।

चलचित्रको मुहूर्त कार्यक्रममा उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब चलचित्र निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभयो । १ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने चलचित्रको डिजिटल पार्टनर डिएआर मुभिजले खरिद गरेको छ । चलचित्रका लागि कलाकार भने छनोट भइसक्नु भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?