कलाकारलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न पहल गर्छु : मन्त्री आले

Read Time = 3 mins

काठमाडौं । नेपाली कलाकारहरू कुनै पनि कार्यक्रमका लागि विदेश जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षको प्रयोग गर्न पाएको देखिँदैन । यो विषयमा पटकपटक आवाज उठ्दै पनि आएको छ । कलाकारलाई देशका गहना भन्ने तर सरकारले त्यो स्तरको सम्मान नगरेको भन्ने गुनासो कलावृतमै हुँदै आएको थियो ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिबार राजधानीमा आयोजित नेपाल चलचित्र संघको ४७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री आलेले अन्य विशिष्ट व्यक्तिलाई जस्तै कलाकारलाई यस्तो सुविधा दिनेतर्फ प्रयत्न गर्ने बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘सञ्चार मन्त्रालयले मलाई यसबारे जानकारी दिइसकेको छ । म यसबारे फाइल अघि बढाउँछु । मन्त्रालयमा आउनुस् म गृह मन्त्रालयलाई चिठी लेखेर पठाउँछु ।’ सरकारले परिचत्र पत्र दिएका विशिष्ट कलाकारले मात्र विमानस्थलमा विशिष्ट कक्षको प्रयोग गर्न पाउनेसमेत मन्त्री आलेले बताउनुभयो । चलचित्र विकास बोर्डले यसबारे सञ्चार मन्त्रालयमा यसअघि नै मागपत्र बुझाइसकेको छ ।

यस्तै मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायांकन गर्न यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैं तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न उनले चलचित्रकर्मीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्री आलेले अभिनेता तथा निर्देशक नीर शाह, अभिनेता शिव श्रेष्ठलगायतलाई सम्मान प्रदान गर्नुभयो । साथै, वितरक गोपाल कायस्थ, संघका कर्मचारीद्वय हुतराज शर्मा र विक्रम राईलाई सम्मान प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?