गठबन्धनप्रति आफूहरू इमानदार भए पनि अन्य दलबाट सम्मानजनक व्यवहार भएन : नेकपा एस

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको बताएका छन् । स्थानीय तह चुनावको समीक्षाका लागि शनिबार बसेको सचिवालय बैठकमा नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेका हुन् ।

गठबन्धनका अन्य दलबाट स्थानीय चुनावमा अन्य दलबाट धोका भएको नेताहरूले बताएको उपमहासचिव डा. गंगालाल तुलाधरले जानकारी दिनुभयो । बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक-एकजना सचिवालय सदस्यलाई खटाएको उहाँले बताउनुभयो । ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरको भनाइ छ ।

बैठकले प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. वेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ । बैठक आज (आइतबार) पनि बस्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनबाट हामी धेरै असन्तुष्ट छौँ : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ । शनिबार पार्टीको सचिवालय बैठकपछि नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको बताउनुभयो । स्थानीय तह निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको उहाँको भनाइ छ । ‘हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौँ । पाँच दलको गठबन्धन सम्मानजनक ढंगले भएन,’ उहाँले भन्नुभयो, ‘असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दै छौँ ।’

नेता खनालले वामपन्थी दलहरूबीचको एकता तत्कालका लागि आवश्यक भए पनि सम्भावना निकै कमजोर रहेको बताउनुभयो । ‘वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यक्ता हो । तर, यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरू अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न,’ उहाँले भन्नुभयो, ‘यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना निकै कमजोर छ ।’

सत्ता र शक्तिको चलखेलका कारण अपेक्षित नतिजा आएन : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बसेको हो । बैठक आज (आइतबार) पनि बस्नेछ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, र आउँदो चुनावको सन्दर्भलगायत विषयमा छलफल भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा समेत छलफल हुनेछ ।

शनिबार बैठकमा एजेण्डा पेश भएको र आज विस्तृतमा छलफल हुने उहाँको भनाइ छ । ‘स्थानीय चुनावको समीक्षा र आसन्न निर्वाचनबारे के गर्ने भन्ने विषयमा बैठकमा छलफल सुरु भएको छ । ‘शनिबार पहिलो दिन बैठकमा एजेण्डा पेश गरिएको छ,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘स्थानीय चुनावको समीक्षा, आगामी प्रतिनिधि र प्रदेशसभा चुनाव र समसामयिक विषय बैठकका एजेण्डा छन् । यसबारे आइतबारदेखि विस्तृतमा छलफल हुनेछ ।’

चुनावमा पैसाको व्यापक चलखेल भयो : अध्यक्ष ठाकुर
शनिबारको बैठकमा बैठकका एजेण्डा पेश गर्दै अध्यक्ष महन्थ ठाकुरले आफ्नो केही धारणासमेत राख्नुभएको थियो । बैठकको सुरुवातमा बोल्दै अध्यक्ष ठाकुरले स्थानीय निर्वाचनमा पार्टी थोरै सिटमा खुम्चिनुमा सरकार र सत्ता गठबन्धनलाई दोष दिनुभएको थियो । उल्लेख्य सफलता प्राप्त नहुनुमा आन्तरिक कारण पनि रहेको उहाँले बताउनुभएको थियो ।

उहाँले चुनावको निष्पक्षतामाथि नै प्रश्न उठाउनुभएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार ठाकुरले निर्वाचन निष्पक्ष नभएको बताउनुभयो । निर्वाचनमा राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भएको ठाकुरको भनाइ थियो । ‘चुनाव निष्पक्ष हुन सकेन । राज्य शक्तिको व्यापक दुरुपयोग गरियो,’ ठाकुरको भनाइ उद्धृत गर्दै ती नेताले हिमालय टाइम्ससँग भन्नुभयो, ‘सुरक्षा निकायको पनि राम्रो भूमिका रहेन । गठबन्धनबाट अरू पार्टीका व्यक्तिमाथि आक्रमण गरियो । चुनावमा पैसाको व्यापक चलखेल भयो । राज्यको साधनस्रोतको व्यापक दुरुपयोग गरियो । यी कारणले हाम्रो नतिजा अपेक्षाकृत आएन । केही आन्तरिक कारण पनि रहे । पार्टी विभाजन भयो । जसको असर निर्वाचनमा पर्‍यो ।’

त्यस्तै, बैठकमा बोल्ने अन्य नेताहरूले स्थानीय चुनावमा गठबन्धन नहुँदा पार्टीलाई घाटा भएको बताएका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरूले पाँच दलीय गठबन्धन एकातिर लोसपा अर्कोतिर भएको कारण अपेक्षाअनुसार सिट नआएको बताएका थिए ।

प्रधानमन्त्री देउवासँग अध्यक्ष ठाकुरको भेट
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो केन्द्रीय कार्यकारिणी समितिको बैठक भएलगत्तै अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबीच आगामी संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल भएको लोसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री देउवाले बोलाएपछि अध्यक्ष ठाकुरलाई बालुवाटार जानुभएको हो । ‘पार्टीको बैठकमा स्थानीय चुनाव र आगामी निर्वाचनबारे छलफलपछि अध्यक्षज्यू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो । प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनुभएकाले उहाँ जानुभएको हो । उहाँहरूबीच आगामी चुनावका विषयमा छलफल भएको हो ।

बैठकमा लोसपाले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्ता लगायतबारे पनि छलफल भएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने