गठबन्धनप्रति आफूहरू इमानदार भए पनि अन्य दलबाट सम्मानजनक व्यवहार भएन : नेकपा एस

हिमालय टाइम्स
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको बताएका छन् । स्थानीय तह चुनावको समीक्षाका लागि शनिबार बसेको सचिवालय बैठकमा नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेका हुन् ।

गठबन्धनका अन्य दलबाट स्थानीय चुनावमा अन्य दलबाट धोका भएको नेताहरूले बताएको उपमहासचिव डा. गंगालाल तुलाधरले जानकारी दिनुभयो । बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक-एकजना सचिवालय सदस्यलाई खटाएको उहाँले बताउनुभयो । ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरको भनाइ छ ।

बैठकले प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. वेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ । बैठक आज (आइतबार) पनि बस्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनबाट हामी धेरै असन्तुष्ट छौँ : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ । शनिबार पार्टीको सचिवालय बैठकपछि नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको बताउनुभयो । स्थानीय तह निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको उहाँको भनाइ छ । ‘हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौँ । पाँच दलको गठबन्धन सम्मानजनक ढंगले भएन,’ उहाँले भन्नुभयो, ‘असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दै छौँ ।’

नेता खनालले वामपन्थी दलहरूबीचको एकता तत्कालका लागि आवश्यक भए पनि सम्भावना निकै कमजोर रहेको बताउनुभयो । ‘वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यक्ता हो । तर, यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरू अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न,’ उहाँले भन्नुभयो, ‘यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना निकै कमजोर छ ।’

सत्ता र शक्तिको चलखेलका कारण अपेक्षित नतिजा आएन : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बसेको हो । बैठक आज (आइतबार) पनि बस्नेछ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, र आउँदो चुनावको सन्दर्भलगायत विषयमा छलफल भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा समेत छलफल हुनेछ ।

शनिबार बैठकमा एजेण्डा पेश भएको र आज विस्तृतमा छलफल हुने उहाँको भनाइ छ । ‘स्थानीय चुनावको समीक्षा र आसन्न निर्वाचनबारे के गर्ने भन्ने विषयमा बैठकमा छलफल सुरु भएको छ । ‘शनिबार पहिलो दिन बैठकमा एजेण्डा पेश गरिएको छ,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘स्थानीय चुनावको समीक्षा, आगामी प्रतिनिधि र प्रदेशसभा चुनाव र समसामयिक विषय बैठकका एजेण्डा छन् । यसबारे आइतबारदेखि विस्तृतमा छलफल हुनेछ ।’

चुनावमा पैसाको व्यापक चलखेल भयो : अध्यक्ष ठाकुर
शनिबारको बैठकमा बैठकका एजेण्डा पेश गर्दै अध्यक्ष महन्थ ठाकुरले आफ्नो केही धारणासमेत राख्नुभएको थियो । बैठकको सुरुवातमा बोल्दै अध्यक्ष ठाकुरले स्थानीय निर्वाचनमा पार्टी थोरै सिटमा खुम्चिनुमा सरकार र सत्ता गठबन्धनलाई दोष दिनुभएको थियो । उल्लेख्य सफलता प्राप्त नहुनुमा आन्तरिक कारण पनि रहेको उहाँले बताउनुभएको थियो ।

उहाँले चुनावको निष्पक्षतामाथि नै प्रश्न उठाउनुभएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार ठाकुरले निर्वाचन निष्पक्ष नभएको बताउनुभयो । निर्वाचनमा राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भएको ठाकुरको भनाइ थियो । ‘चुनाव निष्पक्ष हुन सकेन । राज्य शक्तिको व्यापक दुरुपयोग गरियो,’ ठाकुरको भनाइ उद्धृत गर्दै ती नेताले हिमालय टाइम्ससँग भन्नुभयो, ‘सुरक्षा निकायको पनि राम्रो भूमिका रहेन । गठबन्धनबाट अरू पार्टीका व्यक्तिमाथि आक्रमण गरियो । चुनावमा पैसाको व्यापक चलखेल भयो । राज्यको साधनस्रोतको व्यापक दुरुपयोग गरियो । यी कारणले हाम्रो नतिजा अपेक्षाकृत आएन । केही आन्तरिक कारण पनि रहे । पार्टी विभाजन भयो । जसको असर निर्वाचनमा पर्‍यो ।’

त्यस्तै, बैठकमा बोल्ने अन्य नेताहरूले स्थानीय चुनावमा गठबन्धन नहुँदा पार्टीलाई घाटा भएको बताएका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरूले पाँच दलीय गठबन्धन एकातिर लोसपा अर्कोतिर भएको कारण अपेक्षाअनुसार सिट नआएको बताएका थिए ।

प्रधानमन्त्री देउवासँग अध्यक्ष ठाकुरको भेट
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो केन्द्रीय कार्यकारिणी समितिको बैठक भएलगत्तै अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबीच आगामी संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल भएको लोसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री देउवाले बोलाएपछि अध्यक्ष ठाकुरलाई बालुवाटार जानुभएको हो । ‘पार्टीको बैठकमा स्थानीय चुनाव र आगामी निर्वाचनबारे छलफलपछि अध्यक्षज्यू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो । प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनुभएकाले उहाँ जानुभएको हो । उहाँहरूबीच आगामी चुनावका विषयमा छलफल भएको हो ।

बैठकमा लोसपाले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्ता लगायतबारे पनि छलफल भएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?