संघ र प्रदेश निर्वाचनको मिति तोक्न दलहरूबीच छलफल सुरु

अनिल क्षेत्री
Read Time = 13 mins
A A- A+

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आएसँगै मुलुकको राजनीति संघ र प्रदेश निर्वाचन केन्द्रित भएको छ । सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गर्न छलफल सुरु गरेका छन् ।

आगामी निर्वाचनको मिति तय गर्ने विषयमा छलफल सुरु भए पनि सत्तारूढ गठबन्धनभित्र वर्तमान प्रतिनिधिसभाको कार्यकालबारे एकमत छैन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन आयोगले समानुपातिक सहितको अन्तिम परिणाम फागुनमा दिएपछि निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले फागुन २० गते सपथ लिएका थिए । निर्वाचन मंसिरमा भएको तर शपथ फागुन २० गते भएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्ने विषयमा राजनीतिक दलहरूबीच विवाद छ ।

सत्तारूढ गठबन्धनभित्र निर्वाचनको मितिबारे छलफल सुरु भए पनि प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल र चुनाव मंसिर कि फागुनमा गर्ने भन्ने विवाद छ । गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस मंसिरभित्र चुनाव गर्नुपर्ने पक्षमा छ । तर, स्थानीय तह निर्वाचनको परिणामबाट असन्तुष्ट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निर्वाचन भएको मिति नभई संसद्ले काम सुरु गरेको मितिबाट वर्तमान संसद्को कार्यकाल गणना हुने र त्यसकै आधारमा चुनाव फागुनमा गर्नुपर्ने पक्षमा छन् ।

निर्वाचन मितिबारे ठोस अडान नराखेको माओवादी केन्द्रले निर्वाचनको मिति तय गर्नुअघि गहिरो छलफल हुनुपर्ने पक्षमा छ । गत सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी कात्तिकमै पनि चुनाव गर्न सकिने धारणा राख्नुभएको थियो । आगामी संघ र प्रदेशको निर्वाचनबारे गठबन्धनमा छलफल सुरु भएको जानकारी दिँदै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘संसद्को कार्यकाल सकिएको मितिमा नै चुनाव गर्ने हो भने कात्तिक अन्तिमतिर गर्नुप¥यो । मंसिर उता जाँदा हिमाली भेगतिर गाह्रो हुन्छ भन्ने कुरा भएको छ । यद्यपि, यो प्रारम्भिक छलफल हो ।’

‘संघ र प्रदेशको चुनाव आगामी कात्तिक-मंसिरभित्रै’ : प्रधानमन्त्री देउवा

सत्तारूढ गठबन्धनभित्र चुनाव मंसिर कि फागुनमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघ र प्रदेशको चुनाव आगामी कात्तिक वा मंसिरभित्रै हुने बताउनुभएको छ । गठबन्धनका कतिपय दल र नेताहरूले चुनाव भएको मितिभन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधिसभाको कार्यकाल गणना हुने दाबी गरिरहँदा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी सरसल्लाह गर्दै छौँ । कात्तिकमै गरे पनि हुन्छ । ढिलो ग¥यो भने झन् विवाद हुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ ।’

स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरूबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गर्दा परिणाम अनुकूल नआउने भन्दै फागुनमा चुनाव गर्नुपर्ने गठबन्धनका कतिपय नेताहरूको तर्क छ । हुन त प्रधानमन्त्री देउवा कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा रहे पनि नेपाली कांग्रेसकै कतिपय नेताहरू स्थानीय तह चुनावमा टिकट वितरणमा अन्याय भएको भन्दै स्थानीय नेताहरू आक्रोशित भएकाले तत्कालै चुनावमा गए अन्तर्घात हुने तर्क गरिरहेका छन् । त्यसो त कांग्रेसभित्रै पनि संसद्को कार्यकालबारे पनि एकमत छैन । कांग्रेसकै कतिपय नेताहरू संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै चुनावको मिति घोषणा गर्ने हतार नगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिईरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका अधिकांश नेताहरू यथाशक्य छिटो चुनाव गर्ने पक्षमा रहनुको अर्को कारण हो वाम गठबन्धनको चर्चा । वर्तमान पाँच दलीय गठबन्धन भत्काउने र फेरि वाम गठबन्धन बनाउने विषयमा भित्रभित्रै छलफल सुरु भइरहेको समाचार सार्वजनिक भइरहेका छन् । पुनः वाम गठबन्धन भए नेपाली कांग्रेसको अवस्था फेरि २०७४ सालको प्रदेश र संघको निर्वाचनमा जस्तै हुने भयका कारण सभापति देउवासहितका कांग्रेस नेताहरू स्थानीय चुनाव परिणामको माहोल र वाम दलहरूबीचको तीक्तता उपयोग गर्ने रणनीतिका साथ मंसिरभित्रै निर्वाचन गर्न तम्सिएका राजनीतिक क्षेत्रका जानकारहरूको विश्लेषण छ ।

वाम एकताकोे डरले कांग्रेस छिटो निर्वाचनमा जान चाहेको होइन : महामन्त्री शर्मा
वाम एकताको चर्चा र प्रयासका कारण नेपाली कांग्रेस आगामी कात्तिक/मंसिरभित्रै संघ र प्रदेशको चुनाव गर्न खोजिरहेको टिप्पणी भइरहँदा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने यसमा कुनै सत्यता नभएको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘निर्वाचनमा जाने भन्दै गर्दा २०७४ सालमा एमाले र माओवादी मिल्दै गर्दा पनि त हामी हार्दै छौँ भन्ने थाहा हुँदाहुँदै चुनावमा गएको हो । २०७४ सालमा चुनाव कांग्रेसले गराएको र अहिले पनि कांग्रेसले नै । हामीले जितिरहेको चुनाव पनि गरेका छौँ । हारिरहेको चुनाव पनि गरेका छौँ । चुनाव गराउने विषय कांग्रेस जित्छ या हार्छ भन्ने कोणबाट विल्कुल हेर्नु हुँदैन ।’ पाँच दलीय गठबन्धनका सदस्य दलहरूले वाम एकताको नाममा कांग्रेससँगको सहकार्य नतोड्ने महामन्त्री शर्माको विश्वास छ ।

मंसिरभित्रै संघ र प्रदेशको चुनाव हुनुपर्छ : एमाले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश र संघको चुनाव आगामी मंसिरभित्र हुनुपर्ने अडान राख्दै आएको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनैपर्ने जिकिर गर्दै भन्नुभयो, ‘वर्तमान सरकार चुनावी सरकार हो । मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’

वर्तमान संसद्को कार्यकाल आगामी मंसिर २२ सम्म : आयोग
वर्तमान संसद्को कार्यकालबारे राजनीतिक दलहरूबीच विवाद भइरहँदा निर्वाचन आयोगले भने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो मतपरिणाम आएर निर्वाचित सदस्यले मंसिर २२ गते प्रमाणपत्र बुझेकाले त्यसैलाई आधार मानेर पाँच वर्ष गणना हुने तर्क गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘२०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि मंसिर २२ गते पहिलो परिणाम आएर निर्वाचित सदस्यले प्रमाणपत्र बुझेकाले त्यसैलाई आधार मानेर पाँच वर्ष गणना हुन्छ । आयोग मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचनका लागि आन्तरिक तयारीमा लागिसकेको छ ।’ आगामी मंसिर १५ गते अगाडि संघ र प्रदेशको निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ ।

नेपालको संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालबारे उल्लेख गरिएको छ । धारा ८५ को उपधारा १ मा संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । तर, प्रतिनिधिसभाको कार्यकाल कहिलेबाट सुरु मान्ने भन्ने विषयमा संविधान मौन छ ।

जनतालाई हेप्दा नेताको टाउकोमा लौरो बजारियो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर वंशवादको पक्षपोषणमा निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको आरोप लगाउनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको र प्रमुख दलका उम्मेदवारहरूको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरूले गरेको निर्णयलाई लत्याएको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरू उपयुक्त थिएनन् । मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदै छिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदै छन् भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरू थिए । तर, उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रुचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ । पार्टी भन्दैमा जनताले मान्छन् भनेर मूर्ख निर्णय गर्नुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?