पुँजीपतिवर्ग, सर्वहारावर्ग र मध्यमवर्ग

Read Time = 15 mins

✍️ स्वयम्भुनाथ कार्की
पुँजीपतिको आफ्नो सम्पत्ति दिन दुगुना रात चौगुना बढाउने र त्यस सम्पत्तिले सम्पूर्ण सुख भोग गर्ने चाहनामा गरिने उद्यममा आफ्नो जीविका चलाउन मानसिक तथा शारीरिक श्रम गर्ने वर्गको ठूलो हिस्सा मध्यमवर्गको हुन्छ तर सो श्रम गर्ने वर्ग सर्वहारा हो भन्ने भ्रम व्याप्त छ । कुनै समयमा यो कुरा शायद साँचो थियो होला तर अहिले आफू सर्वहारा भएको भ्रम पाल्ने जमातले आफ्नो सही वर्ग चिनेको खण्डमा सर्वहारावर्गको सही संख्या निश्चत रूपमा थोरै हुन आउँदछ ।

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको परिभाषाको सर्वहारा गणना गर्ने हो भने त्यो मुलुकको कूल जनसंख्याको साह्रै थोरै प्रतिशत मात्र होला । आज केवल ज्यालाले मात्र जीवनयापन गर्ने र आफ्नो सञ्चित धन शून्य भएकाहरू आफ्नो आसपास भेट्न कठिन पर्छ । संख्या देखाउन उत्पादनको साधन ठेक्कामा लिएर काम गर्नेहरूको जमात देखाउन सकिएला तर माक्र्स र एंगेल्सको परिभाषाअनुसार तिनीहरू सर्वहारा होइनन् । उनीहरूको परिभाषाअनुसार बुर्जुआको उत्पादन साधनमा काम गरेर ज्याला लिने सर्वहारा हो । कुनै साधन भाडामा वा ठेक्कामा लिएर श्रम गर्ने श्रमिक पनि सर्वहारा होइन । (हेर्नुहोस् कम्युनिष्ट पार्टीका घोषणापत्र, दुसरा संशोधित संस्करण १९८६ पृ. ७६) ।

कुनै कालखण्डमा भएका सर्वहारामध्ये अधिकांशको मध्यमवर्गमा वर्गोन्नति भइसकेको छ । यसलाई यदि मध्यमवर्ग मान्न तयार नहुने हो भने पनि निम्न मध्यमवर्ग भन्न सकिन्छ तर सर्वहारा त कुनै पनि अवस्थामा होइन । यसले सावित गर्न खोजेको कुरा के हो भने सर्वहारा वर्ग समाप्तितर्पm उन्मुख छ तर यसको समाप्ति अन्यायपूर्ण तरिकाबाट नभई वर्गोन्नतिको सम्मानजनक तरिकाबाट हुँदैछ । यसै अर्थले अबको न्यायपूर्ण व्यवस्था भनेको यो परिवर्तनलाई गति दिने हो । मध्यमवर्गलाई सर्वहारामा तानेर सर्वहाराको हित गर्ने सोच आधुनिक जमानामा कत्तिको सान्दर्भिक हो भन्ने कुरामा खुला छलफल गर्ने बेला भइसकेको छ । आफ्नो थातबासमा बसेर स्वतन्त्रतापूर्वक सरल जीवनयापन गर्न पाउने व्यवस्था नै मध्यमवर्गको व्यवस्था हुन सक्छ ।

यसका निमित्त स्वच्छ तरिकाले आफ्नो कमाइ गरेर खान पाउने अवस्था नै मध्यमवर्गको आकांक्षा हो । क्षमता र योग्यताको आधारमा समाजमा आफ्नो स्थान बनाउन नपाउने अवस्था मानव सभ्यताको विनाशतर्फको पाइला हो । उचालेको कुकुरले मृग मार्दैन भन्ने उखान व्यर्थमा प्रचलित भएको होइन । आफ्नो सञ्चित सम्पत्ति खर्च गरेर, समाज तथा मुलुकको साधन स्रोत उपभोग गरेर हासिल गरेको क्षमता आफ्नो थातवासको विकासमा उपयोग गर्न नपाउनु तथा त्यसको लाभ वैदेशिक रोजगारीको नाममा विदेशले पाउनुभनेको भण्डार खनेर आँगन पुर्ने कुरा हो । आफ्नो थातवासमा बस्ने तथा बन्धुबान्धवसँग रम्ने इच्छाको आलंकारिक रूप नै राष्ट्रवाद हो र यो नै मध्यमवर्गको आफ्नो आधारभूत सोचभूमि हो ।

पुँजीवादसँग जोडिएको अन्तर्राष्ट्रिवाद वा विश्व भूमण्डलीकरण तथा साम्यवादको राष्ट्रिय सोचभन्दा व्यक्तिवादी सोच (श्रमजीवीहरूको कुनै देश छैन, कम्युनिष्ट पार्टीका घोषणापत्र, दुसरा संशोधित संस्करण १९८६ पृ.५३) तथा अन्तर्राष्ट्रिय प्रभावलाई उच्च स्थानमा राख्ने समाजवाद सबैले आफ्नो ठाउँ र आफन्तको स्थानलाई निम्न प्राथमिकतामा राख्ने गर्दछन् ।

वादको विद्वानको रूपमा आफूलाई चिनाउन गौरव गर्ने विद्वतवर्गले फेरि एक पटक आत्ममन्थन गरेर बहुजन हितायको मन्त्रलाई आत्मसात गरेर चिन्तन गर्नुपर्ने आजको माग हो । कुनै वादले विद्वान पैदा गर्ने होइन विद्वानले वाद पैदा गर्ने हो । यदि यो कुरा असत्य भएको भए कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले साम्यवादको सिद्धान्त प्रतिपादन गर्न सक्ने थिएनन् । पूर्वीय पद्धतिमा ऋषिहरूले समाज र राज्य व्यवस्थाको निमित्त अनेकौं सिद्धान्तको प्रतिपादन गरेर आफ्नो दायित्व पूरा गरेको उदाहरण प्रयाप्त छन् ।

विद्वानहरूलाई समाजले आफ्नो शिरको रूपमा मानेको छ भने विद्वानहरूले कुनै वादको अधिन भएर काम गर्नु समाजप्रतिको अपराध हो होइन स्वमूल्यांकन गर्न आवश्यक भएको छ । आफूले समाजलाई देखाएको बाटोले यदि समाजको अहित गर्दछ भने त्यसको नैतिक दायित्व विद्वतवर्गमा पनि पर्नुपर्ने हो ।

स्वच्छ प्रतिस्पर्धा गरेर स्वतन्त्र उद्यमबाट आफ्नो थातवासको उन्नति गर्ने र बन्धुबान्धबसँग जन्मदेखि मृत्युपर्यान्तसँगै बस्न पाउने व्यवस्था अन्य वाद जस्तो अरूलाई निषेध गर्ने व्यवस्था होइन । शान्तिपूर्ण सहअस्तित्व, समान व्यवहार अनि भेदभावरहित समाजको कल्पना मध्यमवर्गको अभिष्ट हो । यो लक्षमा पुग्न आज विश्वमा प्रचलित कुनै पनि वाद सक्षम छैनन् भन्ने कुरा बिस्तारै बिस्तारै प्रमाणित हुँदैछ । पुँजीपतिहरूको एकाधिकार, साम्यवादको राप तथा समाजवादको वृद्धि रोकेर सधैं यथास्थितिमा राख्ने प्रणालीले मध्यमवर्गको मात्र अहित गर्ने होइन स्वयं मानव सम्यताको पनि विनास गर्ने खतरा छ ।

पुँजीवादका समर्थकले ९० को दशकदेखि निरन्तर साम्यवादलाई अव्यावहारिक र पतनोन्मुख व्यवस्था हो भन्ने कुराको समर्थन गर्ने घटनाक्रम उदाहरणको रूपमा पाउँदै गए । सोभियत संघको विगठनपछि त्यहाँ उजागर भएको आर्थिक मन्दी होस् या राज्य नियन्त्रित वा समुदायमा आधारित उत्पदन प्रणालीलाई खुकुलो पारेर निजी क्षेत्रलाई पनि उत्पादन प्रणालीमा सामेल गराउने चीनको आर्थिक नीति होस पुँजीवादका समर्थकलाई साम्यवादको क्षणभंगुरता औल्याउने बलियो आधार भयो । यस्ता तर्कको खण्डनको निमित्त साम्यवादको सिद्धान्त ठीक भएको र विभिन्न बाहृय कारण अझ पुँजीवादी षड्यन्त्रको प्रतिफल भएको जिकिरबाहेक अन्य तथ्य साम्यवादका समर्थकसँग नरहेको झैँ देखियो ।

त्यसपछि फेरि स्थिति केही फरक देखियो । पुँजीवादी व्यवस्थाको सबैभन्दा बलियो उदाहरण भएको अमेरिका र त्यहाँ देखिएको आर्थिक मन्दीले साम्यवादीलाई फेरि हौस्यायो । निजी उपक्रमलाई आर्थिक मन्दीको चपेटाबाट बचाउन सरकारले मद्दत गर्न लागेको घटनालाई उत्पादन साधनमा राज्यको स्वामित्व हुनुपर्ने साम्यवादको आधारभूत सिद्धान्तको स्वीकारोक्तिको रूपमा चित्रित गरियो । बिक्री हुन छोडेका कार्ल माक्र्सका ठेलीहरूको माग हृवात्तै बढ्यो भन्ने समाचार सुनियो । बीचको आर्थिक नीतिको पैरवी गर्ने समाजवादीहरू पुँजीवाद र साम्यवादको योे दन्तबझानमा आफ्नो अपरिहार्यता सावित भएको आकलन गर्न थाले । किन्तु परन्तुले भरिभराउ नीति भएकोले समाजवाद धेरै जसो भ्रष्टाचरको उर्वरभूमि भएको तथ्य नदेख्नु र अष्ट्रिचले आफ्नो टाउको बालुवामुनि घुसाएर अरू कसैले नदेखेको भ्रम पाल्नु एउटै कुरा हो ।

आज विश्वमा विद्यमान भ्रष्टाचारका किसिममध्ये धेरै किसिम समाजवादमा मात्र छ साम्यवाद वा पुँजीवादमा यस प्रकारका भ्रष्टाचारहरूको अस्तित्व सम्भव छैन । यसको अर्थ साम्यवाद वा पुँजीवाद भ्रष्टाचार छैन भन्ने होइन । साम्यवादमा मात्र मौलाउन सक्ने र पुँजीवादको काखमा मात्र हुर्कने भ्रष्टाचार सामेल भएर थप किसिमका भ्रष्टाचार पनि समाजवादमा पाइन्छ । समाजवादमा यसको नीतिलाई टेवा दिन बनाइने नियम कानुनहरू अत्यन्तै दुरुह हुने गर्दछन् । यसको परिणाम स्वरूप कुनै कार्य केही समयागाडि अत्यावश्यक हुन्थ्यो भने अहिले त्यही अपराध हुन सक्छ । आपूmले गरेको कुन काम कतिखेर राम्रो र कतिखेर अपराध हुन्छ यो नै जान्न मुस्किल हुन्छ ।

यसको फलस्वरूप समाजका टाठाबाठा या राष्ट्रसेवकले जसो भन्छन् त्यसै गर्न जनता बाध्य हुन्छन् । समाजवादमा प्रयोग गरिने सिमान्तीकृत वर्ग, निरपेक्ष गरिबीको रेखा जस्ता शब्दावलीको परिभाषा र परिधि मुलुक, क्षेत्र वा समाजअनुसार फरक पर्ने र उनीहरूको विशेषाधिकार हुने कारणले सामान्य हेरफेरबाट त्यस परिधिमा पर्न मानिसहरू प्रयत्नरत रहने गर्दछन् ।

अवास्तविक पारपाचुके वा अंशबण्डाको बेलाबखत चल्ने लहर यसै प्रयत्नको उपज हो । यस्ता मनस्थितिमा भएका जनता आफ्नो साथ वा स्वार्थसाधन गरिदिने टाठाबाठाको हरेक कुरामा समर्थन गर्न बाध्य हुन्छ । यो नै दास मनोवृत्ति हो । समाजिक सुरक्षा, समान अवसर र नागरिक अधिकारको प्रत्याभूति गर्ने र आर्थिक उपार्जनको निमित्त आफ्नो क्षमता र कुशलता प्रयोग गर्नुपर्ने पुजीवादी धारणा हो । तोकिएको काम गरेर दाना नाना र छानाको चिन्ता गर्नु नपर्ने साम्यवादी धारणा हो । पुजीवादका आलोचकहरूले लगाउने गरेको दोष यसले निमुखा र कमजोरको रक्षा गर्दैन भन्ने हो ।

साम्यवादका आलोचकहरूका भनाइ साम्यवादमा व्यक्तिगत स्वतन्त्रता हुँदैन भन्ने हो । यस्ता आलोचना सही नै मान्ने हो भने पनि दुवै व्यवस्थाले केही कुरा खोसेर भए पनि धेरै कुराको प्रत्याभूति गर्दछ । दुवै व्यवस्थाको दाँजोमा दुवैको विशेषता बोकेको दाबी गर्ने सामजवादले वास्तवमा दुवैको आलोचनात्मक गुणहरू अपनाएको छ । सिमान्तीकृतको कल्याणको नाममा आफूलाई मन नपरेकाको स्वतन्त्रता खोस्ने र बजारमुखी अर्थतन्त्रको नाममा मध्यमवर्गको उद्यम प्रयत्नलाई अवरोध गर्ने काम केवल समाजवादमा मात्र सम्भव छ ।

आत्मनिर्भर र स्वावलम्बी नागरिक बनाउने वादमात्र मध्यमवर्गको वाद हुन सक्छ । पुँजीपतिहरूको पुँजीको बलले एकाधिकार जमाएको उत्पादन अवसर र बजारले मध्यमवर्गलाई उनीहरूको कारखानाको पुर्जामात्र बन्न बाध्य पार्दछ । यसै गरेर साम्यवादले तोकिएको काम मात्र कर्तव्य बनाएर सम्पूर्ण सर्वसाधारणलाई एउटा पद्धतिको दासमात्र हुन बाध्य गर्दछ । तर, आफ्नो अन्य सबै अधिकार छोडेर दासत्व स्वीकार गरेबापत दाना, नाना र छानाको चिन्ताबाट मुक्ति भने अवश्य पाइन्छ ।

मौलिक अधिकारको सुनिश्चितता, एकाधिकारको लेससम्म नभएको बजार र उत्पादन व्यवस्था अनि स्वतन्त्र आर्थिक कृयालाप गर्न पाउने अवस्था नै मध्यमवर्गको हित गर्ने व्यवस्था हुन सक्छ । योग्यता र क्षमतानुसार उसको अस्तित्व सम्भव हुन्छ । पेशा वा व्यवसाय बदल्न पाउने स्वतन्त्रतासहित भेदभावरहित समान अवसर पाउने अधिकार सुनिश्चित भएमा राज्यले कसैको थालको गाँस गन्नु पर्दैन र हुँदैन पनि । अहिलेका कुनै पनि वाद मध्यमवर्गका हितका वाद होइनन् । संसारमै सबैभन्दा धेरै संख्या भएको मध्यमवर्गको हित हुने वादका विषयमा चिन्तन मनन् गर्न ढिला भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?