बैतडीमा १८ जनालाई उद्यमशिलता तालिम

हिमालय टाइम्स
Read Time = 3 mins

-कृष्ण विष्ट
बैतडी । बैतडीमा ग्रामीण उद्यमशिलता कार्यक्रमअन्तर्गत सुधारिएको चुलो निर्माण तथा मर्मतसम्बन्धी तालिम सुरु भएको छ । यही जेठ १८ गतेदेखि जिल्लाको पाटनमा तालिम सुरु भएको हो । जर्मन विकास सहयोग, नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, नवीकरणीय ऊर्जा तथा दक्षता कार्यक्रमको संयुक्त आयोजनामा मातृभूमि सुधारिएको चुलो स्टोभ मास्टर तथा उद्यमशिलता विकास तालिम कार्यक्रमले तालिम दिइरहेको हो ।

बैतडीको पाटन नगरपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका गरी १८ जनालाई उद्यमशिलता कार्यक्रमअन्तर्गत सुधारिएको चुलो निर्माण तथा मर्मतसम्बन्धी तालिम दिइरहेको मातृभूमि सुधारिएको चुलो स्टोभ मास्टर तथा उद्यमशिलता विकास तालिम कार्यक्रमका मुख्य प्रशिक्षक राम चन्द्र थापाले जानकारी दिनुभयो । सुधारिएको चुलो निर्माण तथा मर्मत सम्भारसम्बन्धी तालिम दिएर उद्यमशिलतासँग जोड्ने हेतुले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

चुलो निर्माण र मर्मतका लागि प्रयोगात्मक र उद्यमशिलतासम्बन्धी सैद्धान्तिक जानकारी सहितको तालिम भइरहेको हो । नौ दिने तालिममा ६ दिनसम्म एकमुखे वा दुई मुखे सुधारिएको चुलो निर्माणका लागि प्रयोगात्मक तालिम दिइनेछ भने दुई दिन व्यक्तित्व विकाससँग सम्बन्धित तालिम दिइनेछ । त्यसैगरी, अन्तिम दिन सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूलाई समेत आमन्त्रण गरी अन्तरक्रिया कार्यक्रम हुने मुख्य प्रशिक्षक थापाले बताउनुभयो ।

महिला, दलित, अल्पसंख्यक र सीमान्तकृत वर्गका नागरिकहरूलाई समेटेर तालिम सञ्चालन भइरहेको छ । उनीहरूको आयस्तर वृद्धिमा समेत उक्त कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ । तालिममा १८ जना सहभागीमध्ये १६ जना महिला छन् । महिलाहरूलाई उद्यमशिलता कार्यक्रमसँग जोडेर आर्थिक उपार्जन हुने विश्वास गरिएको छ । तालिममा सहभागीहरूले चुलो निर्माण तथा मर्मत गर्न आवश्यक पर्ने उपकरण प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?