काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारसँग तेलका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार छुटको माग रहेको छ । संघले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा भन्सार नघटाएको भन्दै छुटको माग गरेको हो । उपभोक्तालाई चरम महँगीबाट राहत दिन, तयारी सामानभन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महसुल हुने नीति अवलम्बन गर्न र भारतबाट अनधिकृृतरूपमा आयात भइरहेको खाने तेल रोक्नसमेत कच्चा खाने तेल आयातमा भन्सार महसुल शून्य र अन्तःशुल्क करमा ५० प्रतिशत छुट दिनुपर्ने संघको माग रहेको छ ।
त्यसैगरी संघले कच्चा सोयाबिन तेल, कच्चा सनफ्लावर, कच्चा पाम र पामोलिन, तोरीको गेडा आयातमा लाग्दै आएको भन्सार शुल्क पनि खारेजीको माग गरेको छ । सोयाबिन, सनफ्लावर, पाम र पामोलिन तेलको कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र तोरीको गेडा आयातमा पाँच प्रतिशत शुल्क लाग्दै आएको छ ।
संघले सरकारले बिस्कुट तथा चाउचाउ उद्योगलाई पाँच प्रतिशत भन्सार छुटमा प्रशोधित पाम र पामोलिन तेल आयात अनुमति दिएकोमा असन्तुष्टि जनाएको छ । त्यस्ता उद्योगलाई पाँच प्रतिशत भन्सारमै तेलको कच्चा पदार्थ आयात अनुमति नीतिले वनस्पति घिउ तेल उद्योग दीर्घकालसम्म प्रभावित हुने संघको भनाइ छ ।
संघका अध्यक्ष सन्दीप अग्रवालले उपभोक्तालाई चरम महँगीबाट राहत दिन भारत सरकारले खाने तेलको भन्सार महसुल शून्यमा झारेकाले भारतमा नेपालभन्दा सस्तो रहेको भन्दै खाने तेलको अवैध कारोबार बढ्ने बताउनुभयो । उपभोक्तालाई प्रत्यक्षरूपमा राहत दिन खाने तेलको महसुल दर कम गर्नुुको सट्टा अन्य उद्योगलाई कम महसुल दरमा तयारी पाम र पामोलिन तेलको आयात गर्न दिने नीतिले ब्याकवार्ड इन्टिग्रेसमा आधारित स्वदेशी उद्योगलार्ई मर्का पर्न गएको उहाँको भनाइ छ ।
त्यसैगरी कच्चा पदार्थ प्रशोधन गर्दा बाइ प्रोडक्ट (पिएफए/पाल्म फ्याट्टी एसिड) को उत्पादन साबुन उद्योगको कच्चा पदार्थ हो । तयारी सामान आयातमा वृद्धि हुँदा बाइ प्रोडक्टको उत्पादन न्यून हुन्छ र साबुन उद्योगले कच्चा पदार्थ आयातमा वृद्धि गर्नुपर्ने हुन्छ । जसबाट अतिरिक्त बहुमूल्य विदेशी मुद्रा विदेशिने क्रममा वृद्धि हुने बताइएको छ । संघले बिस्कुट कम्पनीलाई तेल आयात गर्न दिँदा स्वदेशी उद्योगको छ अर्ब ५० करोड रुपैयाँको व्यवसायमा असर पर्ने संघले दाबी गरेको छ ।
संघका महासचिव अमित मोरले नेपाली बिस्कुट उद्योगले स्वदेशमा उत्पादित छ अर्ब ५० करोड रुपैयाँ बराबर तेल खरिद गर्ने गरेको भन्दै सरकारले तेलको कच्चा पदार्थको भन्सार नघटाए सञ्चालनमा रहेका २२ र सञ्चालनका क्रममा रहेका तीन उद्योगको एक खर्ब लगानी जोखिममा पर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सरकारले घिउ तेल र बिस्कुट उद्योगलाई बचाउने नीति अख्तियार गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रशोधित तेलमा पाँच प्रतिशत भन्सार शुल्क कायम गर्दा आन्तरिक उद्योग संकटमा परेको भन्दै भन्सार शुल्क शून्यमा झानुपर्ने बताउनुभयो । घ्यू तेल उद्योगमा १५ हजारले प्रत्यक्ष रोजगार पाएकोमा सरकारको नीतिले १५ हजारको रोजगारी जोखिममा परेको संघको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच