विमानस्थलभित्र सेन्ट्रल प्लाजाको अवैध क्यान्टिन

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेमा होटल सेन्ट्रल प्लाजाका दुई शाखा छन् । जिल्लाको कोहलपुरमा यसको पाँचतारे होटल सञ्चालनमा छ । अहिले अग्नि ग्रुपले सञ्चालन गरिरहेको सेन्ट्रल प्लाजाको शाखा नेपालगञ्ज विमानस्थलभित्र सञ्चालनमा छ । तर, उक्त शाखा नै अवैध रहेको पाइएको छ ।

त्यति मात्रै होइन खाद्य वस्तुसमेत गुणस्तरहीन बिक्री वितरण भइरहेको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको अगुवाइमा भएको संयुक्त अनुगमन टोलीले विमानस्थलमा होटेलले क्यान्टिन दर्ता नगरीकनै सञ्चालन गरिरहेको खुलासा भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक विवेक सुवेदीले खाद्य स्वच्छताको अवस्थाका बारेमा गरिएको अनुगमनका क्रममा विमानस्थलमा सञ्चालित क्यान्टिन दर्ता नगरिएको पाइएको जानकारी दिनुभयो । यसैगरी त्यहाँ लेबल नभएका खाद्य पदार्थ राखिएको, उत्पादन मिति उल्लेख नभएको, गुणस्तरहीन खाद्य पदार्थ राखेर सञ्चालन गरेको पाइएको उहाँको भनाइ छ ।

त्यस्तै, तयारी पेष्ट्रि, ब्रेड, चाउमिनमा पनि उत्पादन मिति उल्लेख नभएको पाइएको सुवेदीले बताउनुभयो । उहाँले फ्रिजमा शाकाहारी र मांसहारी खाद्य पदार्थहरू एकै ठाउँमा राखिएको पाइएको बताउनुभयो । सुवेदीका अनुसार अनुगमनपछि क्यान्टिनबाट लेबल नभएको तीन किलो चाउमिन, २५ प्याकेट ब्रेड, पाँच पिस वन, चार पिस पेष्ट्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

यसैगरी सञ्चालनको लागि आवश्यक व्यवसाय दर्ता नगर्दासम्म कारोबार रोक्का गर्ने, आवश्यक दर्ता गरेर मात्र सञ्चालन गर्ने, बिक्रीमा राखिएका सामानको उत्पादन मिति र लेबल भएको मात्र बिक्रीको लागि राख्ने लिखित निर्देशन होटलका फाइनान्स प्रमुख आशिष गुप्तालाई दिइएको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपालगञ्ज उपमहानगरपालिका र प्रहरीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?