१० दिनअघि नै सुरु भयो मनसुन, अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात् जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो । मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भूभागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’

सामान्यतः नेपालमा जेठ ३०, ३१ (१३ जुन) मा दक्षिण पूर्वी नेपालबाट मनसुन प्रवेश गर्छ । तर, यो वर्ष निकोबार र एन्डमानमा सरदरभन्दा साताअघि देखिएको मनसुनी गतिविधिका कारण नेपालमा सदरभन्दा एक साताअघि प्रवेश गरेको हो । मौसमविद् समीर श्रेष्ठका अनुसार गत वर्षहरूमा ती स्थानमा २२ मेमा मात्र मनसुनी गतिविधि सुरु हुन्थ्यो, त्यो हिसाबले नेपालमा जुन दोस्रो सातादेखि मात्र मनसुन प्रवेश गथ्र्योे । ‘निकोबार र एन्डमानमा सोमबारदेखि सुरु भएको गतिविधिले यो पटक जुन पहिलो साता नै मनसुन भित्रिएको छ,’ श्रेष्ठले भन्नुभयो ।

फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्री-मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । मार्च, अप्रिल र मे प्री-मनसुन हुने महिना हुन् । यसपटक मे महिना सुरु भएपछि मात्र सबैतिर वर्षा भएको छ । ढिलो गरी प्री-मनसुन सक्रिय भए पनि यो वर्षको मनसुन भने करिब साताअघि नै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विज्ञहरूका अनुसार बंगालको खाडी नजिकको निकोबार र एन्डमान टापु (भारतीय भाग) मा यसपटक औसत समयभन्दा करिब एक साताअघि (मे १६ अर्थात् सोमबार) नै मनसुनी गतिविधि सक्रिय भएकाले मनसुन एक साताअघि सुरु हुने भएको हो ।

मौसमविद् श्रेष्ठका अनुसार गत वर्षहरूमा ती स्थानमा २२ मेमा मात्र मनसुनी गतिविधि सुरु हुन्थ्यो, त्यो हिसाबले नेपालमा जुन दोस्रो सातादेखि मात्र मनसुन प्रवेश गथ्र्यो । तर, यो वर्ष निकोबार र एन्डमानमा सरदरभन्दा साताअघि देखिएको मनसुनी गतिविधिका कारण नेपालमा सदरभन्दा एक साताअघि प्रवेश गर्न सक्ने मौसमविद्हरूको विश्लेषण छ । सामान्यतः नेपालमा ११२ दिन मनसुन रहन्छ । गत वर्ष जेठ ३० (जुन १२) मा मनसुन भित्रिनुपर्नेमा दुई दिनअघि नै भित्रिएको थियो ।

विभागले मनसुनको अवधिमा भने सुदूरपश्चिमी भागमा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । मनसुनको अवधि (जेठ-असोज) मा भने विभागले मुलुकका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको मनसुन आँकलन प्रतिवेदनअनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भाग र बागमती प्रदेशका दक्षिणी भागहरूमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर, बाँकी भागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

मनसुनको चार महिनाको अवधिमा प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ  । यसैगरी, सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भूभाग र प्रदेश नं १ को मध्य भूभागहरूमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

यी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ । गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरूमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । तर, प्रदेश नं. १ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरूमा सरदर वर्षा हुने आँकलन विभागको छ । गत वर्षको मनसुन अवधिमा बाढी, पहिरो र वर्षाका कारण १३६ जनाको मृत्यु र ४० जना बेपत्ता भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?