एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलायो, चारजना नयाँ मन्त्रीमा सिफारिस, स्वाथ्य राज्यमन्त्री मन्त्रीमा बढुवा हुने, एक गैरसांसद पनि मन्त्री बन्दै

हिमालय टाइम्स
Read Time = 5 mins

डिबी शर्मा/हिटा
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पार्टीका मन्त्री हेरफेर गरेको छ । आइतबार बसेको पार्टी सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएको हो । जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीमा सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहनुभएका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

नेकपा समाजवादीले एकजना गैरसांसदलाई समेत मन्त्री बनाउन सिफारिस गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस कुँवर गैरसांसद हुनुहुन्छ । यसअघि सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित कुँवरको कार्यकाल गत फागुनमै सकिएको हो ।

मन्त्री हेरफेर नियमित प्रक्रिया : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताउनुभएको छ । आइतबार सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेपछि उहाँले यस्तो बताउनुभएको हो । ‘यो नियमित प्रक्रिया हो । पहिले पनि हामीले ६ महिनामा हेरफेर गर्ने भनेका थियौँ,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘सुरुदेखि नै ६ महिनाका लागि भनिएको हो । यो नियमित प्रक्रिया हो ।’

हाम्रा मन्त्रीहरू मानसिक रूपले फर्किनुपर्छ भन्ने तयारीमा हुनुहुन्थ्यो : डा. तुलाधर
पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरका अनुसार ६ महिनाअघि पार्टीले मन्त्रिमण्डलमा पठाएका नेताहरूलाई बोलाएर नयाँ टोलीलाई पठाइएको हो । फिर्ता मन्त्रीहरूलाई पहिले नै ६ महिनामा हेरफेर हुने कुरा बताएकोले मन्त्रीहरू मानसिक रूपले तयार भइसकेको स्पष्ट पार्नुभयो । ‘अहिले सरकारमा भएका मन्त्रीज्यूहरूलाई ६ महिनाअघि नै पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालले ६ महिनापछि फर्किनुपर्छ भन्नुभएको थियो । उहाँहरू ६ महिनाअघि नै मानसिक रूपले फर्किनुपर्छ भन्ने तयारीमा हुनुहुन्थ्यो ।’

उपमहासचिव तुलाधरले काम गर्नेहरूका लागि समयसीमाको कुनै महत्व नहुने भन्दै ६ महिनामा नै पर्याप्त काम गर्नसक्ने बताउनुभयो । ६ महिनाको समय नै जनचाहना अनुसारको काम गर्न पर्याप्त रहेको उहाँको भनाइ छ । तुलनात्मक रूपले अघिल्लो मन्त्रीहरूले नै राम्रो गरेको बताउनुभयो ।

उहाँले नयाँ मन्त्रीले पहिला गरेका राम्रा कामलाई निरन्तरता दिएर जनचासो र जनसरकारका मुद्दाहरूलाई सम्बोधन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । ‘उहाँहरूको पर्फमेन्स मिश्रित खालको छ । आहा भन्ने खालको पनि मिडियाले प्रचार गरेको हिसावले भन्न सकिएला, जति हुनुपर्ने हो त्यति भएन भन्न पनि सकिएला,’ उहाँले भन्नुभयो, ‘उहाँहरूले स्वमूल्यांकन गरेर पनि बताउनुहोला । हामी सचिवालयमा यसको बारेमा घनिभूत छलफल गर्नेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?