नाडाललाई कीर्तिमानी चौधौँ फ्रेन्च ओपनको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले कीर्तिमानी चौधौँ पटक फ्रेन्च ओपन टेनिस एकलको उपाधि जितेका छन् ।

पेरिसमा आइतबार भएको फाइनल खेलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६-३,६-३ र ६-० को सेटमा पराजित गरे ।

यो जितसँगै राफेलको खातामा कीर्तिमानी २२ एकल ग्रान्डस्लाम उपाधि आएको छ । नाडाल फ्रेन्च ओपनको पुरुष सिंगल्स जित्ने सबैभन्दा पाको उमेरका टेनिस खेलाडी पनि बनेका छन् ।

खेल सकिएपछि उनले भने, ‘मलाई आफैंलाई पत्याउन गाह्रो छ। मैले ३६ वर्षको उमेरमा आफ्नो करियरको यो महत्त्वपूर्ण कोर्टमा फेरि एकपटक प्रतिस्पर्धा गर्न सक्छु भन्ने सोचेको थिइनँ। मलाई थाहा छैन भविष्यमा के हुन्छ तर म संघर्ष गरिरहनेछु ।’

यो जितसँगै नाडालले रोजर फेडेरर र नोभाक जोकोभिचलाई पछि पार्दै ग्रान्डस्लाम एकल जित्ने कुल संख्या बढाएका छन् । नाडालको यो २२ औं ग्रान्डस्लाम उपाधि हो भने फेडेरर र जोकोभिचले कुल २०-२० ग्रान्डस्लाम जितेका छन् ।

महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् । पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।

इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?