मानव तथा प्रकृतिको रक्षाबारे सोचौं

Read Time = 17 mins

✍️ मणि शर्मा
सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा रोक लगाए तापनि सरकारले आगामी वर्षको बजेटमा उक्त विमानस्थल निर्माण गर्न बजेट छुट्याएको छ । अदालतको आदेश मान्ने नमान्ने सरकारको तजबिजमा गएको देखिन्छ । भोलि कुनै सर्वसाधारणले मैले अदालतको आदेश मान्दिन भन्न पाउने कि नपाउने ? नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल चाहिन्छ तर पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा चाहिने मापदण्ड किन अपनाइएन ? निजगढको विकल्प विराटनगर पनि त हुन सक्छ वा अन्त कतै जहाँ पर्यावरणीय क्षति न होस्, यदि भए पनि न्यूनतम होस् ।

आठ हजार पैंतालीस हेक्टरमा फैलिएको वन क्षेत्र र त्यसमा बसोबास गर्दैआएका वन्य जीवजन्तु र पक्षीहरूको सत्यानाश गरी सरकारले कसको स्वार्थ पूरा गर्न लागिरहेको छ ? यस वन क्षेत्रमा भएको चौबीस लाख रूखहरू कटान गरी बेच्दा सरकारी दरमा यसको मुल्य करिब सत्तरी अर्ब बराबर हुन्छ । बजार भाउअनुसार बेच्दा यसको मूल्य करिब एक खर्ब पुग्न जान्छ । ग्लोबल वार्मिङ बढिरहेको बेलामा यसको वातावरणीय प्रभाव यस मूल्यभन्दा कैयौं गुणा बढी तथा खतरनाक हुन्छ ।

संसारको सबैभन्दा ठूलो विमानस्थल साउदी अरबको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल ७७ हजार ६ सय हेक्टर छ, त्यसपछि चीनको संघाई अन्तर्राष्ट्रिय विमानस्थल ३ हजार ९ सय ८८ हेक्टर, बैंककको ३ हजार २ सय चालीस हेक्टर, फ्य्रांकफर्टको २ हजार ३ सय हेक्टर अमेरिकाको हार्टफिल्डज्याक्सन अटलाण्टा अन्तर्राष्ट्रिय विमास्थल १ हजार ९ सय २ हेक्टर । संसारकै लामो रनवे भएको चीनको क्वाम्दो वाम्दम अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको लम्बाइ ५ हजार ५ सय मिटर छ ।

राता कमिलाले सोच्छ कि कालो कमिला शत्रु हो र कालो कमिलाले पनि विश्वास गर्छ कि रातो कमिला शत्रु हो । तर वास्तविक शत्रु त्यो हो जसले भाँडो हल्लायो । २०४६ सालदेखि अहिलेसम्म आउँदा हाम्रो राजनीतिको भाँडो हल्लाएर छिन्नभिन्न पार्ने शत्रु हामीभित्र देखिए तापनि हामी बाहिरका हुन् ।

सबैभन्दा ठूलो कार्गो एयरक्राफ्ट एनटोभलाई ३ हजार १ सय पचास मिटर, कार्गो बोइङ ७४७ लाई ३ हजार ६० मिटर, लामो दूरीको यात्रुवाहक बोइङ ७४७ लाई २ हजार ९ सय ७० मिटर र क्षेत्रीय स्तरको विमानलाई २ हजार ७० मिटर बराबर लम्बाइ भएको रनवे पर्याप्त हुन्छ । यति ठूलो प्राकृतिक तथा वातावरणीय विनाश गरी निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु पछाडि कुन माफियाको षड्यन्त्र छ ? पर्यावरणविद डेभिड एटनबोरोले भनेका छन्, ‘यदि एक सय वटा काला कमिला र एक सय वटा राता कमिलाहरू संकलन गरेर तिनीहरूलाई एउटै भाँडोमा राखियो भने केही हुँदैन ।

तर, कसैले त्यो भाँडो लियो, त्यसलाई बेस्सरी हल्लायो र टेबुलमा छाडिदियो भने कमिलाहरूले एक अर्कालाई मार्न सुरु गर्छन् । राता कमिलाले सोच्छ कि कालो कमिला शत्रु हो र कालो कमिलाले पनि विश्वास गर्छ कि रातो कमिला शत्रु हो । तर वास्तविक शत्रु त्यो हो जसले भाँडो हल्लायो । २०४६ सालदेखि अहिलेसम्म आउँदा हाम्रो राजनीतिको भाँडो हल्लाएर छिन्नभिन्न पार्ने शत्रु हामीभित्र देखिए तापनि हामी बाहिरका हुन् । अहिले हाम्रो प्राकृतिक तथा पर्यावरणीय सन्तुलन बिगार्न खोज्ने पनि देखिँदा हामीभित्रै शत्रुहरू भए पनि यसलाई हल्लाउने बाहिरी नै हुन् । त्यसैले अदालतको आदेशको अपहेलना गर्दै निजगढ विमानस्थल निर्माण गर्न यो सरकारले बजेट छुट्याउने आँट गर्‍यो ।

सन् २०२१ मा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले आयोजना गरेको जलवायु संकटसम्बन्धी गोष्ठीमा प्रकृति तथा पर्यावरणविद डेविड एटनबोरोले भनेका थिए, ‘कोही पनि पछि हट्ने होइन, अब हामी जे गर्छौं, जलवायु परिवर्तनबाट बच्न धेरै ढिलो भइसकेको छ र सबैभन्दा गरिब, सबैभन्दा कमजोर, जो कमभन्दा कम सुरक्षामा छन्, अब निश्चितरूपले पीडित छन् । उक्त सम्मेलनमा अमेरिकी जलवायु दूत जोन क्यारीले भनेका थिए, ‘हामी आफ्नो जोखिममा आफ्नो शिर बालुवामा लुकाउँछौं । यो संकट आइसकेको छ कि जलवायु संकटलाई तत्काल सुरक्षा खतरा शरह स्वीकार गरौँ, जुन कि यो छ । यो वस्तुतः हाम्रा सबै पिँढीहरूको चुनौती हो ।’

प्रकृतिवादी तथा वातावरणविदले उक्त सम्मेलनमा एउटा तातो ग्रहले वैश्विक अस्थिरता बिग्रिने खतराको कुरा गरेका थिए । उक्त सम्मेलमा एटनबोरोले भनेको कुरालाई हामीले हृदयंगम नगरे हाम्रो भोलि अन्धकारमय हुनेछ । उनले भनेका थिए, ‘कृपया कसैले गल्ती नगर्नुस्, जलवायु परिवर्तन सुरक्षाका लागि आफ्नो वर्तमान पथलाई जारी राख्छौं, त्यसो भए आफ्नो सुरक्षा प्रदान गर्ने प्रत्येक वस्तुको पतनको सम्मुखिन हुनु पर्नेछ : खाद्य उत्पादन, मीठो पानीसम्म पहुँच, बस्नेयोग्य परिवेशको तापक्रम र समुद्री खाद्य शृंखला ।’ सरकारले पुनः चुरे दोहन गरी गिट्टी ढुंगा निर्यात गर्ने भनेको छ ।

चुरे दोहनले प्राकृतिक सम्पदाहरू मासिनुका साथै पर्यावरणीय असर गर्नेछ । यसले पानीको मुहानसमेत सुकाउनेछ । यो सरकारले कसको आदेश वा मिलोमतोमा प्रकृतिको बलात्कार गर्ने दुस्साहस गरेको छ ? प्रकृति तथा मानव जीवनसँग खेलबाड गर्न कसले यो सरकारलाई आदेश दियो ? प्रकृतिको विनाशले विकास होइन मानव जाति तथा सभ्यताको विनाश निम्त्याउँछ ।

वेदहरूमा जल, पृथ्वी, वायु, अग्नि, वनस्पति, अन्तरिक्ष, आकाश आदिप्रति असीम श्रद्धा व्यक्त गरिएको छ । प्रकृति, पर्यावरण र मानिसबीच सामञ्जस्य नराखेमा यो संसारमा कुनै प्राणी बस्न योग्य हुने छैन । त्यसैले हाम्रा पुर्खाले प्रकृति र पर्यावरणसँग सन्तुलन मिलाएर बस्न भनेका थिए । वेदमा वर्णित तथा ऋषिहरूको जीवन पद्धतिको अनुसरण गरेर बसेमा पर्यावरण असन्तुलनको अवस्था नै आउने थिएन । जो देशको रक्षक हो उही प्रकृतिको भक्षक भए मानव जीवन कसरी सन्तुलित तथा चिरस्थायी रहन सक्छ ? ऋगवेदमा जलको विशिष्टता बताइएको छ । जलमा औषधीय गुण विद्यमान रहन्छ ।

यसैले भनिएको छ जल अमृत हो, अतः यसको शुद्धता स्वच्छता बचाएर राख्नुपर्छ । अथर्ववेदको पृथ्वीसूक्तमा जलको शुद्धतालाई जीवनका लागि अत्यन्त आवश्यक मानिएको छ । यो सूक्तमा भनिएको छ कि जलको शुद्धताले नै भूमिमा अत्यन्त सरसता आउँछ, पृथ्वीमा हरियाली छाइराख्छ, वातावरणमा स्वाभाविक उत्साह देखिन्छ र समस्त प्राणीहरूको जीवन सुखमय तथा आनन्दमय बनिरहन्छ । प्रकृतिको विनाश गरे जल कसरी शुद्ध हुन्छ ? जलसँगसँगै सबै ऋतुहरूलाई अनुकूल राख्न वेदले भन्छ । वायुमा जीवनदायिनी शक्ति हुन्छ भनेर ऋग्वेदमा भनिएको छ । त्यसैले यसको स्वच्छता पर्यावरणको अनुकूलतका लागि परम अपेक्षित छ । वेदमा सम्पूर्ण पर्यावरणलाई स्वच्छ, विस्तृत तथा सन्तुलित राख्न भनेको छ ।

इन्द्र पनि वायुको एउटा रूप हो । यी दुवैको स्थान अन्तरिक्ष अर्थात् पृथ्वी तथा आकाशको बीचमा छ । अन्तरिक्षबाटै वर्षा हुन्छ र हुरी बतास पनि त्यहीँबाट आउँछ । सूर्य आकाशबाट प्रकाश दिन्छ र पृथ्वीबाट औषधियुक्त जललार्ई वाष्प बनाउँछ र मेघको निर्माण गर्छ । उद्देश्य एउटै हो पृथ्वीको वातावरणलाई अनुकूल बनाएर राख्नु । तर, जब हामी यही पृथ्वीमा प्रकृतिको विनाश गर्छौं भने प्रकृति र हाम्राबीच सन्तुलन कहाँ रहन सक्छ ? यो असन्तुलनले खडेरी, अतिवृष्टि, बाढी पहिरो, विभिन्न किसिमका रोग आदि ल्याउँछ ।

अग्नि पृथ्वीमा मात्र होइन अन्तरिक्ष र आकाशमा पनि छ । अन्तरिक्षमा विद्युत्को रूपमा द्युलोकमा सूर्यलोकमा अग्नि छ । यी तीनै ठाउँमा सबै एक सूत्रमा बाँँधिएका छन् । ऋगवेदमा भनिएको छ, सम्पूर्ण पृथ्वी, सम्पूर्ण परिवेश, शुद्ध रहोस्, नदी, पर्वत, वन, उपवन सबै स्वच्छ रहोस्, ग्राम, नगर सबैलाई विस्तृत उत्तम परिसर प्राप्त होस्, तबमात्रै जीवनको सम्यक विकास हुनेछ । हामी जथाभावी खेतहरूलाई मासेर प्लटिङ गरी घरहरू बनाइरहेका छौं । खेतमा रासायनिक मल र विषादी हालेर पृथ्वीलाई विषाक्त बनाई त्यही विषाक्त भोजन खाएर रोगी बनिरहेका छौं, मन्दविष भएको जर्र्सी आदि विकासी गाईहरूको दूध खाएर शरीरमा मन्द विष प्रक्षेपण गरिरहेका छौँ ।

सरकारलाई भ्रष्टाचार तथा कमिसनसँग मात्र मतलब छ, जनताको जीवनलाई विषाक्त बनाउन कुनै कसर छाडेको छैन । शुक्ल यजुर्वेदको शास्वत भनाइ छ (पवन मधुर, सरस, शुद्ध र गतिशील रहोस्, सागर मधुर वर्षण गरोेस् । ओज प्रदान गर्न अन्नादि वस्तुहरू भोजनपश्चात् मधु समान सुकोमल होस्, रात सँगसँगै दिन पनि मधुर होस् । न केवल जीवित मनुष्यहरूको, अपितु पितृहरूको जीवन पनि मधुमय होस्, सूर्र्य मधुमय रहोस्, गाईहरूले मधुर दूध दिने हुन्, निखिल ब्रहृमाण्ड मधुमय रहोस् ।

हिमालदेखि तराईसम्मको प्रकृतिको रक्षा गर्दै वातावरणलाई स्वच्छ बनाउन बेला बेलामा यज्ञ, हवनादि गर्नुपर्छ । हाम्रा ऋषिमुनिहरूले वैज्ञानिक आधारमा शोध गरेर हवन सामग्री र समिधाहरूको चयन गरेका थिए जो आज विज्ञानले पनि मानेको छ । वर, पीपल, आँप, बिल्व, पलाश, शमी, अशोक, पारिजात, आवँला, मौलश्री आदिको रूखको समिधालाई घ्यूसँगै यज्ञ, हवन गर्ने विधान छ । यसको उद्देश्य पञ्चभूतहरूको शुद्धि हो जो हाम्रो पर्यावरणका अंग हो । यज्ञबाट वर्षा हुन्छ तर आज सडकको किनारमा भएका यी रूखहरू सडक बनाउने नाममा काटिएको छ । पुनः यस्तै रूखहरू लगाउने ठाउँहरू राखिएको छैन ।

आज यस्ता सडकले ग्राम होस् या शहर मरुभूमि जस्तै भएका छन् । हिन्दू, बौद्ध तथा किरात परम्परामा रहिआएको अहिंसाको सिद्धान्तले जीवजन्तु, रूखबिरुवा, पशुपक्षी तथा समस्त जगतलाई नोक्सानी हुन नदिन नैतिक धरातल प्रदान गरी वातावरणीय नैतिकता देखाउन मानव जातिलाई प्रेरित गरेको छ । तर, हाम्रो शासन व्यवस्था नै सनातन धर्मविरोधी भएकोले आज सनातन धर्मका साथसाथै प्राकृतिक विनाशमा जोड दिइरहेको छ । पञ्चायत कालमा हरियो वन नेपालको धन भनिन्थ्यो । तराईको चारकोसे झाडी संसारमै प्रसिद्ध थियो । २०३६ सालमा निहित स्वार्थका कारण तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सुरु गरेको वन विनाश २०४६ सालपछि अहिलेसम्म कम्युनिष्टहरूले सुकुम्बासीलाई जग्गा दिने नाममा विनाश गर्दै आए ।

पञ्चायत कालमा नेपालको तराई अन्नको भण्डार थियो । नेपाल अन्न निर्यात गर्ने प्रमुख देशमा पथ्र्यो । २०४६ सालपछि स्थानीय जातका अन्नका बिउहरू मासियो, स्थानीय जातका गाईहरू विस्थापित गराइयो, किसानलाई अल्छी बनाउन गोरु र हलो विस्थापित गरियो, वनजंगल फाँडेर पानीको स्रोत सुकाएर सिञ्चाइँमा व्यवधान हालियो, गोबर र प्राकृतिक मलको सट्टा रासायनिक मल र विषादीको प्रयोग गर्न बाध्य तुल्याएर पृथ्वीलाई विषमय बनाउनुका साथै मानव जीवनमा मन्दविष दिने काम गरियो । भएभरका सबै उद्योगहरू निजीकरण गरियो ।

अहिले विदेशीको शर्तमा ऋणमाथि ऋण लिई जनताको टाउकोमा प्रतिव्यक्ति, करिब चौसट्ठी हजार ऋणभार थपियो । प्रकृति वातावरण र जनताको शत्रु यो व्यवस्थालाई यथावत् राख्ने कि हाम्रो मौलिक व्यवस्थालाई फर्काउने सोच्न ढिलो नगरौं । मानव जातिमात्र होइन प्रकृतिको पनि रक्षाका लागि एकजुट बनौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?