बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ ।

सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित हुने छ ।

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसद्मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

संसद्मा पेस गरिँदै दुई विद्येयक

यस्तै आजको बैठकमा दुई वटा विद्येयक पेस हुने सम्भावना रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ ।

सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउने छ ।

समितिलाई सम्भावित कार्यसूचीमा रहेका विद्येयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?