‘ग्रामीण क्षेत्रबाट सुरु हुन्छ अबको विकास’

हिमालय टाइम्स
Read Time = 15 mins

-प्रकाश नेपाल 

इलाम । केदार थापा नवनिर्वाचित इलाम नगरपालिकाका मेयर हुनुहुन्छ । नेपाली कांग्रेसका महासमिति सदस्य उहाँ ३० वर्षपछि इलाम नगरमा कांग्रेसको विरासत फर्काउने मेयरसमेत हो । सदरमुकामसमेत रहेको नगर भएका कारण इलामलाई विशेष महत्वका साथ हेरिएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पाँचवर्षे विकासको खाका कोर्ने जिम्मेवारी पनि आएको छ । आर्थिक वर्ष नजिकिँदै गर्दा नीति तथा कार्यक्रमसमेत बनाउनुपर्ने आवश्यकता देखिन्छ । सोही सन्दर्भमा नवनिर्वाचित मेयर केदार थापासँग हिमालय टाइम्सकर्मी प्रकाश नेपालले गर्नुभएकोे संवाद-

नगरप्रमुखमा निर्वाचित भएपछि नगरको काम कसरी सुरु भएको छ ?

२०७९ को निर्वाचनमा मैले इलाम नगरपालिकामा गठबन्धनका तर्फबाट नगरप्रमुखको उम्मेदवारी दिएको थिएँ । उम्मेदवारी पाएपछि सबै वडामा उम्मेदवारको हैसियतले पुगियो । इलाम नगरपालिका अत्यन्तै पुरानो नगरपालिकाका रूपमा चिरपरिचित छ । २०१५ सालमा स्थापना भएको नगरपालिका र इलाम नगरपालिका ऐतिहासिक हिसाबले महत्वपूर्ण रहेको छ । साबिकको नगरपालिकामा नौवटा वडा थिए । ती वडाहरू सदरमुकाम केन्द्रित वडाहरू थिए । पछि स्थानीय तह घोषणा भएपछि अरू वडाहरू थपिने काम भयो । नौवटा वडामा समायोजन गरेर चारवटा बनाउने काम गरियो । साबिक नगरपालिकाका वडाहरूलाई र त्यसपछि थपिएका आठवटा वडाहरू सबै ग्रामीण क्षेत्रहरूबाट थपिएका वडाहरू छन् । आठवटा वडाहरू पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यको हिसाबले अत्यन्त विकट र विकास नभएका वडाका रूपमा परिचित छन् । म ४० वर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील राजनीतिक कार्यकर्ता पनि हो । जिल्लाको भूगोल विकास, कुन क्षेत्रमा कुन समुदाय कसरी बसेको छ भन्ने अवगत छ । तथापि वडाहरूमा मतदाताहरूसँग भेट्दा धेरै कुराहरू सुनेँ र मेरा कुराहरू पनि राखेँ । स्थानीय तह घोषणा गर्नुअघिको इलाम नगरपालिकामा भौतिक संरचना, सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा त्यति धेरै मिहिनेत गर्नुपर्ने जस्तो देखिँदैन । सुन्दर नगरपालिकाका रूपमा सदरमुकामलाई हामीले विकास गरे हुन्छ । अब हामी ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौँ ।

नयाँ आर्थिक वर्षको बजेटको निर्माण प्रक्रिया सुरु भएको छ, अब बजेट कस्तो बन्छ ?

ग्रामीण क्षेत्रबाट बनेका वडाहरूमा सबै कुरामा हामीले बढी प्राथमिकता दिएर विकास गर्नुपर्छ भन्ने अवधारणामा निर्वाचित भएर आएका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू पनि सहमत छन् । हामीले जुन हिजो बोलेका थियौँ प्रत्येक वडामा एक करोडको हिसाबले बजेट विनियोजन गर्छौं । प्रत्येक वडामा एक करोडका दरले बजेट विनियोजन गर्ने निधो भइसक्यो । बजेट विनियोजन पनि उपमेयर, वडाध्यक्ष, सदस्यसँग समन्वय गरेर भइरहेको छ । मूलभूत कुरा के भने बजेट विनियोजन गर्दा कम्तीमा वडाहरूमा उपलब्ध हुने हिसाबका योजनाहरू कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारको क्षेत्रमा प्राथमिकीकरण गरेर शिक्षा, स्वास्थ्य र त्यसपछि कृषिको क्षेत्रमा विषयगत अनुभव भएका व्यक्तिहरू, विषयगत विशेषज्ञहरू, शिक्षामा, स्वास्थ्यमा सबैको सुझाव लिएर अघि बढ्छौँ । स्वास्थ्यमा जिल्ला स्वास्थ्य कार्यालय र हाम्रो स्वास्थ्य प्रमुख बसेर कसरी सर्वसुलभ ढंगले सेवा दिन सकिन्छ त्यसबारे निर्णय गर्छौँ । कृषिको क्षेत्रमा गरिब तथा विपन्न वर्गहरूलाई व्यावसायिक र रोजगारी कसरी दिन सकिन्छ भन्ने कुरामा अध्ययन र छलफल गरिरहेका छौँ । त्यसअनुरूप हामीले नीतिगत छलफल गरेर बनाएपछि इन्डिकेटरका रूपमा वडाध्यक्षहरूसमेत बसेर परिणाम आउने किसिमको नतिजामुखी योजनाहरू बनाउने योजना छ । एक करोड बजेट वडाका निम्ति भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि र अन्य क्षेत्रमा विनियोजन गर्ने हो भने पाँच वर्षमा परिणाम निकाल्न सक्छौँ । तथापि हामीले धेरै कुराहरू सोचेका छौँ । कृषिक्षेत्रमा अन्य दातृ संस्थाहरू कुन-कुनले सहयोग गर्छन्, त्यसतर्फ पनि छलफल चलाइरहेका छौँ । उनीहरूसँग कृषि प्रवद्र्धनका लागि समन्वय गरेर नीति बनाउने कुरा पनि रहेको छ । हाललाई मैले भनेको क्षेत्रमा उपलब्धि हुने हिसाबले सबै वडाध्यक्षहरूलाई राखेर योजना बनाउने काम भइरहेको छ ।

स्वास्थ्य क्षेत्रलाई कसरी सुधार गरिन्छ ?

हामी गठबन्धनबाट निर्वाचनमा जाँदै गर्दा स्वास्थ्यलाई सुधार गर्ने र गरिबीको रेखामुनि भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना बनाएका छौँ । इलाम स्वास्थ्य बिमा लागू भएको जिल्ला हो । हामीले विपन्न परिवारले समयमा उपचार पाउन नसक्दा मृत्युको सिकार बन्नुपर्ने अवस्था पनि देखेका छौँ । हामीले घोषणापत्रमा के भन्यौँ भने प्रत्येक वडामा अति गरिब र विपन्न वर्गको तथ्यांक संकलन गरेर यो वर्ष एउटा वडाबाट २० जनाका दरले स्वास्थ्य बिमा लागू गर्दैछौँ । ५० प्रतिशत अति गरिबलाई बिमा लगानी गरिदिन्छौं र ५० प्रतिशत सहभागितामा २० परिवारलाई गर्दछौं । क्रमशः वार्षिक हिसाबले गरेर पाँच वर्षभित्रमा अति गरिबलाई विपद्को बेला र बिरामी भएको अवस्थामा बचाउन नीति ल्याउने निर्णय गरेका छौँ । सबै वडामा बाह्रैमास जाने सडक निर्माण गर्ने । सबै वडामा नयाँ बाटो निर्माण नगर्ने । नयाँ बाटो मेसिन लगाएर जुन खन्ने परम्परा छ यसले वातावरणीय प्रभाव पारेको छ । बाटाहरू स्तरोन्नति गर्दै जाने हो । नयाँ बाटाहरू खोल्न जरुरी छैन भन्ने निर्णय गर्दैछौं। विकासको दृष्टिकोणले नगरपालिकाभित्रको कुन वडा विकास, आर्थिक अवस्था, भौतिक पूर्वाधार, शिक्षा, कृषिको सन्दर्भमा तुलनात्मक हिसाबले पछाडि परेको छ, त्यसलाई अध्ययन गरेर ग्रामीणमुखी विकास गर्नेक्रममा प्राथमिकतामा राखेर विकास गर्ने सोच राखेका छौँ ।

पर्यटकीय क्षेत्रहरू धेरै छन्, कसरी प्रवद्र्धनको काम हुन्छ ?

पर्यटनको क्षेत्र प्रवद्र्धन गर्ने सन्दर्भमा इलाम नगरपालिकाले नगरपालिकाभित्रको क्षेत्रमात्र प्रवद्र्धन गर्ने होइन, समग्र जिल्लाको पर्यटनलाई प्रवद्र्धन गर्न सकियो भने मात्र पर्यटकीय हिसाबले महत्व राख्न सक्ने जिल्लाका रूपमा इलाम स्थापित हुन सक्छ । सन्दकपुर, इलाम, सूर्योदय र अन्य पालिकाहरूसँग छलफल गरेर एकीकृत योजना बनाउन सकिन्छ कि भन्ने लागेको छ । त्यो हिसाबले गर्यौं भने समग्र इलामको पर्यटन प्रवद्र्धन गर्न सहज हुन्छ भन्ने विश्लेषण छ । पाँच वर्ष नगरको विकासका लागि सबै नागरिकको आर्थिक उन्नति गर्न शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकीकरण गर्न व्यावसायिकरूपमा कृषकहरूलाई उन्मुख गराउन सकिन्छ कि भन्ने सोचेका छौं । केन्द्र, प्रदेश र जिल्लामा छलफल चलाएर त्यसतर्फ पनि जाने योजना तयार गरेका छौँ ।

करको दर कसरी समायोजन हुन्छ ?

यो स्थानीय तहको निर्वाचनमा जाँदै गर्दा सबैतिर भूमि कर, सम्पत्ति करको सन्दर्भमा उत्पादनभन्दा कर बढी तिर्नु परेकाले सबै कुरा छाडेर विस्थापित हुनुपर्ने भन्ने जनताका कुरा आए । बसाइसराइ नै जानुपर्ने अवस्था आयो भन्छन् गरिब विपन्न मानिसहरू । जमिन धेरै हुनेहरू पनि जमिन धेरै छ उत्पादन छैन भन्छन् । त्यसको भूमिकर अत्यन्त धेरै छ, त्यस्तो क्षेत्रलाई हाललाई १० प्रतिशत हामीले त्यस्ता वर्गलाई, किसानलाई नागरिकलाई र पाँच प्रतिशत विभिन्न पेशा व्यवसायमा छुट गर्ने नीति लिएका छौँ । कोभिडका कारण अहिले व्यापार व्यवसाय अस्तव्यस्तसँगै समस्यामा छ । त्यसले गर्दा पेशा व्यवसायमा पाँच प्रतिशत छुट गर्ने, पर्यटनअन्तर्गत होटलहरूलाई मध्यनजर गरेर पाँच प्रतिशत छुट दिने निर्णय गरेका छौँ । अब क्रमशः व्यापार व्यवसाय, उद्योगधन्दा कलकारखाना चलेर जाने अवस्था आयो । उनीहरूको आर्थिक हिसाबले पेशा सृदृढ बनेपछि सहमति गरेर नगरपालिकाको कर बढाउने कुरामा परामर्श गरेर गर्न सकिन्छ कि भन्ने लागेको छ । अर्को कुरा करको दायराको कुरा, जसले पेशा व्यवसाय गर्ने सबै क्षेत्रलाई कम्तीमा पनि कानुनी हिसाबले दर्ता गर्ने, दर्तापछि आम्दानी हेरेर इलाम नगरपालिकालाई कर बुझाउनुपर्छ भन्ने छ । करको दायरा फराकिलो बनाएर जाने हो, दर्ता भएका उद्योग व्यवसायीहरूलाई आर्थिक बोझ हुने गरी कर बढाउने हैन । त्यसलाई अर्थशास्त्रको नियमअनुसार जति धेरै भयो उति उठ्ने हो, थोरै भएकालाई कर लगाउँदा मर्का पर्छ । त्यसैले करको दायरा बढाएर लाने योजना छ ।

इलाम चिया कारखाना र बगानलाई नगरपालिकाले चलाउने कुरा थियो, त्यो कसरी अघि बढ्छ ?

इलाम नगरपालिकाभित्र रहेको नेपालकै सबैभन्दा पुरानो चिया बगान हो । प्रजातन्त्र आएपछि निजीकरणको सिद्धान्त विकास भयो । र, उद्योगधन्दा, कलकारखानालाई सञ्चालनमा ल्याउन औद्योगिकरूपमा सञ्चालन गर्न सरकारको नियन्त्रणभित्र हैन, व्यापारीहरूले उनीहरूको इच्छाअनुसार औद्योगिक विकास हुने बाटो खुला गरिदिनुपर्छ भन्ने नीतिले गर्दा त्यो समयमा यहाँ काम हुन सकेन । उनीहरूबाट लिने कर हो, उत्पादको हिसाबले बिक्रीवितरणको हिसाबले कर लिनुपर्छ । निजीकरणका सन्दर्भमा सरकारी चिया बगान संघाई समूहले अहिले ५० वर्षको लिजमा लिएको छ । हामी नियम कानुन संविधान मान्ने पार्टीका कार्यकर्ता हौँ । जनताले हामीलाई निर्वाचित गरेर पठाएका छन् । नियम कानुन के छ कसरी उसले निजीकरण गरेर लिएको छ, हामी चलाउँछौँ भन्दा अनर्थ हुन जान्छ । संघाईसँग कुरा गर्छौँ, पुरातात्विक हिसाबले महत्व राख्ने चिया बगान उद्योग, यति पुरानो उद्योग, यो अनुसन्धान र खोजको विषय बन्न सक्छ । इलाम चिया बगानलाई अनुसन्धानका रूपमा केही गर्न सकिन्छ । उसले ५० वर्षको लिजमा लिएको छ । उसँगको सम्झौता नहेरी यो गर्छौँ त्यो गर्छाँै भन्नु सस्तो लोकप्रियताका निम्ति सबै कुरा नबुझी बोल्नुहुँदैन । के छ उहाँ आउनुहुन्छ होला, सम्झौता के छ, त्यो हेरेर अनुसन्धानका रूपमा, पार्टनरसिपका रूपमा हामीले के गर्नुपर्छ कि एउटा खोज र अनुसन्धानको केन्द्र बनाउन सकिन्छ होला । ब्रिटिसकालीन अवस्थामा खुलेको बगान उद्योगको सबै मेसिन ब्रिटिसकालीन थिए । त्यसबीचमा बाहिर लगिएको थियो । अहिले ल्याएर राखिएको छ । नगरप्रमुखका रूपमा यसलाई बुझ्दै जानेछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?