मुसहर परिवारका पुरुषद्वारा मद्यपान नगर्ने घोषणा

हिमालय टाइम्स
Read Time = 7 mins

-प्रकाश मैनाली

सर्लाही । तराई मधेशमा पिछडिएको समुदायका रूपमा मुसहर समुदाय रहेको छ । अहिले पनि यस समुदायका मानिसहरू मद्यपानमै रमाइरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका यस समुदायका मानिसले मद्यपान नगर्ने घोषणा गर्नु परिवर्तनको सुरुवातका रूपमा लिन सकिन्छ । साप नेपालको आयोजना, हरिपुर नगरपालिकाको संयोजन, नेपाल राष्ट्रिय मुसहरको सहकार्यमा अनडेफको सहयोगमा सर्लाहीको हरिपुर–८ मा ‘लैंगिक रूपान्तरणका लागि सामाजिक मूल्य मान्यता तथा व्यवहार परिवर्तन’ विषयक दुईदिने तालिम सञ्चालन गरिएको छ । जेठ २२ र  २३ गते सञ्चालन भएको उक्त कार्यशालामा १० घरपरिवारका मूल सदस्यहरूको सहभागिता रहेको थियो ।

रेडक्रस सोसाइटी सर्लाहीको तालिम हलमा सञ्चालन गरिएको तालिमको उद्घाटन सत्रमा मुसहर महिला सशक्तीकरण मञ्चकी अध्यक्ष राजोदेवी माझीको अध्यक्षता र हरिपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष हरिबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । तालिममा उहाँले मुसहर महिलाहरूको उत्थानका लागि आफू सदैव तत्पर रहेको र विगत लामो समयदेखि उनीहरूको सहयोगका लागि आफू तत्पर रहेको जानकारी गराउनुभयो । त्यस्तै हरिपुर वडा नंं. ८ का जननिर्वाचित वडाध्यक्षले विगतको सहयोगलाई निरन्तरता दिँदै नेपाल मुसहर महिला सशक्तीकरण मञ्चलाई थप सशक्त बनाउन वडा कार्यालयबाट तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो ।  नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋषिले मुसहर महिलाहरूमा गरिबी र अशिक्षाका कारण अझै पनि बाल विवाहका घटनाहरू सार्वजनिक हुने गरेको यथार्थ व्यक्त गर्नुभयो । साथै मुसहर समुदायमा दैनिक आवश्यकता परिपूर्तिका लागि संघर्ष गरिरहनुपरेको बताउनुभयो । त्यस्तै जाँडरक्सी, गुट्का, खैनीलगायत स्वास्थ्यलाई हानी पुर्याउने कुराहरूको सेवनका कारण विभिन्न रोग लाग्नुका साथै कमाइको ठूलो हिस्सा अन्यत्र खर्च गरेका कारण पनि गरिबीमा परिरहेको बताउनुभयो ।

सर्लाहीको हरिपुर नगरपालिकामा मात्र तीन हजार ६०७ दलित छन् । त्यसमध्ये दुई हजार ५१ जना मुसहरको बसोबास रहेको छ । पछाडि पारिएका दलित तथा अल्पसंख्यकहरूमध्ये मुसहरहरूमा लंैगिक असमानता र सामाजिक समावेशीकरणको मुद्दा रहेको ऋषिले बताउनुभयो । परिवारका सदस्यहरू तथा अन्य व्यक्तिहरूको पहलकदमीमा शारीरिक तथा आर्थिकरूपले हानी पुग्ने जाँडरक्सीको सेवनलाई निरुत्साहन गर्न प्रतिबद्धता संकलन गरिएको छ । प्रतिबद्धताहरू कार्यान्वयन भए/नभएका बारेमा अनुगमन गर्न ती परिवारहरूको घर भ्रमणलाई जारी राख्ने कुरा साप नेपालका प्रदेश संयोजक जनक कार्कीले जानकारी गराउनुभयो ।

मुसहरहरूको स्वास्थ्य र आर्थिक पक्षलाई क्षति पुर्याउने मद्यपान र धूम्रपानको लतलाई हटाउनका लागि अझै पनि धेरै कार्यहरू गर्न बाँकी रहेको मुसहर अगुवा तथा तालिम प्रशिक्षक पचुलाल माझीले बताउनुभयो । तालिममा मुसहर समुदायका १० घरपरिवारका ५० जनालाई १० भिन्न समूह बनाई लैंगिक रूपान्तरणका लागि आवश्यक कुराका बारेमा जानकारी दिइएको थियो । सामाजिक व्यवहार परिवर्तन तथा मूल्यमान्यतासम्बन्धी खेल, पारस्परिक जवाफदेहिता, प्रतिउत्तर सत्र, पारिवारिक तनाव व्यवस्थापन तथा नेपाल सरकारले दिने विशेष सुविधाहरूका बारेमा सामूहिक छलफल भएको थियो ।

गोलबन्द भएर गरिएको छलफलमा ४० प्रतिशत सहभागी पुरुषहरूले रोजगारीको कारण देखाउँदै आफूहरूले अन्य विकल्पहरू खोजी गरिरहेको बताएका थिए । ५० प्रतिशत सहभागी महिलाहरूले घरायसी कामबाहेक इँटाभट्टा, कृषि मजदुरी गर्ने तथा न्यूनतम पारिश्रमिकमा कष्टकर जीवन बिताउनुपरेको बारे प्रशिक्षणका क्रममा जानकारी गराएका थिए । त्यस्तै ६० प्रतिशत महिला र १०० प्रतिशत पुरुषहरूले मद्यपानजन्य कुराहरूको सेवनका कारण आफूले आर्जन गर्ने दुई तिहाइ रकम गुमाउनुपरेको स्वीकारेका छन् । भविष्यमा यी कुराहरूलाई कम गर्नका लागि उपस्थित १५ जना पुरुष सहभागीहरूले जाँडरक्सी नखाने प्रतिबद्धता गरी आफ्ना बालबच्चालाई विद्यालयमा पठनपाठनका लागि पहल गर्ने विचार व्यक्त गरेका थिए ।

साप नेपालका फिल्ड सुपरभाइजर मनोज पासवानले लैंगिक समानता, लैंगिक शक्ति, सम्बन्ध र व्यवहारका बारेमा प्रस्तुति दिँदै मुसहर समुदायमा बाल विवाहका कारण मातृ मृत्युदर, प्रजनन् र स्वास्थ्य समस्या उत्पन्न भएको तथ्य सार्वजनिक गर्नुभएको थियो । साथै मधेश प्रदेशको बालिका शिक्षा, बालिका विवाह न्यूनीकरण तथा सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरूका बारेमा जानकारी गराइएको थियो । बालपोषण भत्ताबाट विमुख बालबालिकाका लागि आयोजक र सहकार्य दुवैले भावी दिनहरूमा पहलकदमी गर्ने कुरा मुसहर संघ सर्लाहीका अध्यक्ष ऋषिराज ऋषिले जानकारी गराउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?