यौन दुव्र्यवहारको आरोपमा छानविन गर्न चलचित्र पत्रकार संघले बनायो समिति

Read Time = 3 mins

काठमाडौं । पत्रकार रिना मोक्तानले आफूमाथि पाँच वर्षअघि यौन दुव्र्यवहार गर्ने व्यक्ति हाल चलचित्र पत्रकार संघको नेतृत्वमा रहेको आरोप लगाएपछि संघले छानविन समिति बनाएको छ । सोमबार बसेको संघको बैठकले समिति गठन गरेको हो ।

संघका अध्यक्ष दिनेश सिटौलाद्वारा जारी विज्ञप्ति अनुसार समितिको संयोजकमा कार्यसमिति सदस्य सुरक्षा भट्टराई हुनुहुन्छ । यसैगरी, सदस्यहरूमा श्रृष्टि पोखरेल, गोपीकृष्ण चापागाइँ, अञ्जना दाहाल र आशिष ओली रहनुभएको छ । संघ आफ्ना सदस्यहरू तथा जोकोहीमाथि हुने सबै प्रकारका दुव्र्यवहार तथा हिंसाविरुद्धमा सदैव दृढतापूर्वक उभिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर मिडिया ग्रुपमा आबद्ध पत्रकार मोक्तानले आफूमाथि यौन दुव्र्यवहार गर्ने व्यक्ति निर्णायक मण्डलमा रहेको भन्दै चलचित्र पत्रकार संघले दिन लागेको पुरस्कार बहिष्कार गर्ने बताउनुभएको थियो । सामाजिक सञ्जालमा रिनाले आफूमाथि पाँच वर्षअघि यौन दुव्यवहार भएको भन्दै लेखेपछि चलचित्र नगरीमा चर्चा बढेको छ ।

उहाँँलाई दुव्र्यवहार गर्ने व्यक्ति अहिले घोषित ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ को आयोजक र निर्णायकमण्डल सदस्यसमेत रहेको उहाँँको भनाइ छ । ‘मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरहृयो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुव्र्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुव्र्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु,’ रिनाले लेख्नुभएको छ । ‘महिलालाई आफू यौन हिंसापीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर, आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्टाटस लेखेको हुँ ।’

चलचित्र पत्रकार संघले तीन वर्षदेखि थाति रहेको पुरस्कार तथा सम्मानबारे गत वैशाखमा निर्णय गरेको थियो । पत्रकार रिनालाई २०७७ सालका लागि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार दिने निर्णय त्यसबेला भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?