कृषि औजार कारखाना सञ्चालन गर्न माग

Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स-साना कृषि उपकरण स्वदेशमै उत्पादन गर्न सम्बद्ध व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को छैटौँ साधारणसभा उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । खुर्पाको बिँडसमेत आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले अब ट्याक्टर व्यापारमात्रै नभएर नर्सरी राख्ने ट्रे जस्ता सानासाना उपकरण स्वदेशमै उत्पादन गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री शर्माले कृषि अनुुसन्धानको पाटो एकदमै कमजोर रहेको भन्दै कृषि मन्त्रालयका कर्मचारीले अनुुसन्धानको काम गरेर कृषिमा आत्मनिर्भर बनाउनतिर लाग्नुपर्ने बताउनुभयो । उत्पादकत्व वृद्धि गर्न मल आपूर्ति, प्रविधि हस्तान्तरणदेखि सिँचाइको पनि व्यवस्था गर्नुपर्ने उहाँको जोड रहेको छ ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘किसानलाई शिक्षा चाहिएको छ । ज्ञान चाहिएको छ । ज्ञान र शिक्षा भयो भने चार गुणासम्म उत्पादन वृद्धि गर्न सक्छौँ, कृषि क्षेत्रमा ६०/६२ आबद्ध हुने होइन । यसलाई विस्तारै प्रविधि, यान्त्रिकरणबाट त्यो प्रतिशतबाट घटाउँदै लैजानुुपर्छ ।’ उहाँले सरकारले किसानमुखी बजेट ल्याएको भन्दै समृद्धिका लागि किसानकै खेतसम्म ऋण पुर्‍याउने प्रस्ताव गरिएको बताउनुभयो । प्लास्टिक आयातमा गरिएको भन्सार वृद्धिबारे पनि पुनर्विचार गर्ने आश्वासन उहाँले दिनुभयो ।

नामियाका अध्यक्ष खोजराज कटुवालले नामियाले कारखाना सञ्चालनको जिम्मा पाएमा नाफा गरेर देखाउने दाबी गर्दै कृषि मेसिन, उपकरण र औजार खरिदका लागि राज्यको नीतिमा सुधार गरेर वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले पनि वीरगञ्जस्थित बन्द कृषि औजार कारखाना पुनः सञ्चालन गर्न सकिने बताउनुभयो ।

कृषि मन्त्रालयभन्दा उद्योग मन्त्रालयसँग सम्पूर्ण अधिकार भएको उल्लेख गर्दै सचिव शर्माले व्यवस्थापन मिलाउन त्रिपक्षीय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघ वस्तुगततर्फका सभापति अन्जान श्रेष्ठ, फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) का अध्यक्ष मीनबहादुर तामाङ, कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेल, सहसचिवद्वय राजेन्द्र मिश्र, प्रकाश सञ्जेललगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?