गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार

Read Time = 5 mins

काठमाडौं । गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार आएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा सम्पन्न स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो छ महिनामा अर्थात् साउनदेखि पुससम्म गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार आएको हो ।

पछिल्लो समय कोरोना महामारी क्रमशः न्यून हुँदै गएको, कृषि उत्पादनमा केही वृद्धि भएको, उद्योगको क्षमता उपयोग बढ्दै गएको, यातायात र पर्यटनलगायतका सेवा क्षेत्रसमेत क्रमशः पुनरुत्थान हुँदै गएकाले प्रदेशको समष्टिगत आर्थिक गतिविधिमा सुधार आएको नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आव २०७८/०७९ को प्रथम अर्धवार्षिक अवधिमा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ३.८ प्रतिशतले वृद्धि भएको छ भने धान, मकै, कोदो र तेलहनले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ तर आलु, ऊखु, भटमास र दलहन खेतीको क्षेत्रफल भने घटेको छ । त्यसैगरी तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ४.६ प्रतिशतले घटेको छ भने फलफूल तथा मसलाबालीले ढाकेको क्षेत्रफल ३.७ प्रतिशतले वृद्धि भएको छ । स्याउ, केरा र सुन्तलाखेतीको क्षेत्रफलमा क्रमशः ५.८ प्रतिशत, ३.६ प्रतिशत र ३.४ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा फापर ८.५ प्रतिशत, मकै ५.१ प्रतिशत, धान २.३ प्रतिशत, कोदो दुई प्रतिशत, तेलहन १.५ प्रतिशत, ऊखु ०.८ प्रतिशत र आलु ०.२ प्रतिशतले उत्पादन वृद्धि भएको छ भने भटमास र दलहनको उत्पादनमा भने केही ह्रास आएको छ ।

पशुजन्य उत्पादनतर्पm अण्डा उत्पादन १५.२ प्रतिशत, माछा १.४ प्रतिशत, मासु ०.४ प्रतिशत र दूध उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ भने वनजन्य उत्पादनतर्फ काठ उत्पादनमा ३८.६ प्रतिशतले वृद्धि भएको छ ।

२०७८ पुसमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा २९ अर्ब ५४ करोड कर्जा लगानी गरेका छन्, उक्त प्रदेशमा प्रवाहित कुल कर्जाको ८.४ प्रतिशत हुन आउँछ ।

समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४२.७ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनतर्पm तोरी तेल, बिस्कुट, चुरोट, औषधि र सिमेन्टको उत्पादनमा वृद्धि भएको छ भने दूध, चकलेट, चाउचाउ, बियर र इँटा उत्पादनमा ह्रास आएको छ । २०७८ पुसमा बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १४.५ प्रतिशत अर्थात् ५० अर्ब ९२ करोड कर्जा औद्योगिक क्षेत्रमा लगानी गरेका छन् ।

२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २०७८ असारको तुलनामा १.८ प्रतिशतले वृद्धि भई तीन खर्ब ७५ अर्ब तीन करोड पुगेको छ । कुल कर्जा प्रवाह भने ११.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५० अर्ब ७४ करोड पुगेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य करिब ९१ प्रतिशत सम्पन्न भएको छ भने मध्य पहाडी लोकमार्गको गोरखा-लमजुङ खण्डको करिब एक सय ११ किलोमिटर निर्माणमध्ये ५६ प्रतिशत र कास्की-पर्वत-बागलुङ खण्डको करिब दुई सय ४५ किलोमिटरमध्ये ८५ प्रतिशत सम्पन्न भएको छ । प्रदेशमा ४६ जलविद्युत् आयोजनाबाट पाँच सय ९३ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपालको कुल जलविद्युत् उत्पादनमा गण्डकीको योगदान २८.२ प्रतिशत रहेको छ । गण्डकीमा हाल सात सय ३७ मेगावाटका ३६ आयोजना निर्माणाधीन रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?