संस्कारहीन राजनीति स्वार्थ र कुण्ठाले दुर्गन्धित हुँदै

Read Time = 15 mins
A A- A+

✍️ गणेश सुवेदी
नेपाल अब यस्तो देश बनाइयो कि जहाँ पहिले नै राजनीतिक भविष्यवाणी गर्न सकिन्छ । अबको प्रधानमन्त्रीको, दलका सभापति वा अध्यक्ष को, हुनेवाला राष्ट्रपतिको लगायत यस्ता धेरै पद छन्, जसमा अब त्यहाँ को-को व्यक्ति पुग्दैछन् र कसको पहुँच त्यहाँसम्म छ भन्ने कुराको आकलन जो कोहीले गर्न सक्दछन् । योग्य, दक्ष, सामथ्र्यवान, विषयविज्ञ तथा अनुभवी र नेतृत्व क्षमता छ छैन, त्यो दोस्रो पाटो हो ।
नेपाली राजनीतिसँग जोडिएको अर्को प्रवृति हो, ‘मेरो गोरुको बारै टक्का’ अर्थात् मैले भनेको नै हुनुपर्छ भन्ने सोच । किनकि ‘म नै हुँ सर्वेसर्वा’, ‘म नै हो भाग्य विधाता’ । नेताले माइक त देख्नु नै हुन्न, त्यसमा पनि पत्रकार तथा उनीहरूका क्यामरा त झन् देखिनु नै हुँदैन, देखियो कि त सुरु भयो खुइल्याउने, मोसो दल्ने, उछितो काढ्ने प्रवृत्ति । आफ्नो सुरुवाल फुस्केको थाहा हुँदैन तर अर्काको दौरा च्यात्तिएको इगिंत गर्ने अथवा त्यसले लगाउँनै जान्दोरहेनछ वा उस्तै परे त्यसलाई त मैले नै लगाउन सिकाएको हुँ भन्ने जस्ता कुराले अर्काको बदनाम गराउनु नै अहिलेको प्रमुख ध्येय भएको छ, नेपाली राजनीतिको ।

राजनीति हामीले सकारात्मक परिवर्तनका लागि तथा मुलुक र जनताको समृद्धिका लागि सुरु गरेका हौं । हामीले यस बेलाको यस आन्दोलनको नेतृत्व गर्‍यौं, यस-यस कारण तथा यी-यस्ता योगदानले मुलुकमा परिवर्तन आएको हो भनेर नेतृत्वले भाषण गर्‍यौं भने अब जनताले पत्याउने छैनन् । सुरुका दिनमा नेपाली कांग्रेसले सुरुवात गरेको आन्दोलनदेखि २०४६ सालको आन्दोलनसम्मको अवस्थालाई साँचो रूपमा आन्दोलन मान्न सकिएला अर्थात त्यस बेलाका राजनीतिक दल र तिनका नेतृत्वहरूले गरेका योगदान र त्यागलाई हेर्दा ती आन्दोलन र परिवर्तनहरू साँच्चै नै देश र जनताका लागि समर्पित थिए भन्न सकिएला तर त्यसभन्दा पछाडिका दल नेतृत्व र दलगत गतिविधिहरू हेर्दा नेपालको राजनीति सरकारको वरिपरि मात्र घुमेको देखिन्छ अर्थात् ती सबै परिवर्तनका लागि नभएर केवल पदका लागि मात्र गरिएको राजनीति रहेछ भन्ने बुझिन्छ ।

राजनीतिमा जब आफ्नो दलभित्रका तथा बाहिरका जो सुकै हुन्लाई खुइल्याउने वा नंग्याउने नीति हावी हुन जान्छ तब हाम्रो देशको जस्तै हविगत हुनजान्छ किनकि मानव विकासक्रमको धेरैपछि भेटिएको चट्टानै चट्टानको अमेरिकाका कहाँ पुगिसक्यो, मरुभूमि र बालुवाबाहेक केही नभएका अरेबियन मुलुकहरूले कसरी फड्को मारिसके, विश्वयुद्धले ध्वस्त भएको जापानले कति प्रगति गरिसक्यो, हिमाली अक्करे भीर र प्राकृतिक रूपले समेत पछि परेको चीनले के के गरिसक्यो, समान संस्कार, संस्कृति र सभ्यता भएको भारत कहाँ पुगिसक्यो तर प्राकृतिक तथा वानस्पतिक सम्पदाले भरिपूर्ण स्वर्ग जस्तै सुन्दर हाम्रो देश जहाँको त्यहीँ छ, बढेको छ त केवल राष्ट्रिय ऋण । जन्मदै ऋणी भएर जन्मन पाउने सौभाग्य हामी नेपालीलाई नेपालको राजनीतिले सर्वसुलभ र उच्चतम उपहार दिएको छ ।

नेपाली राजनीतिज्ञहरू भोलिको चिन्तन, मुलुकको समृद्धिको खाका कोर्नुभन्दा आज कुन नेताले के बोल्यो त्यो सुन्ने अनि भोलि त्यसको भन्दा ठूलो स्वर र दम्भसहित त्यसको उछितो काढ्नुपर्दछ भन्ने मान्यतामा घेरिएका छन् । स्वच्छ तथा सुदृढ रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी त्यसलाई राष्ट्रिय हितमा लगाउने सोचभन्दा पनि कहाँबाट व्यक्तिगत भरणपोषण हुन सक्तछ भन्ने चिन्तनमा मग्न छन् । त्यसैगरी दिनदिनै मत्ताहात्ती जस्ता भएर, अगाडि-पछाडि कार्यकर्ताहरूको झुण्ड लगाएर, केही सोच्दै नसोची हिँडेका छन् । अब लोकलाज, शरम भन्ने कुरै रहेन यहाँ । शरमले नै लाज मानिसक्दा पनि नेताहरूको चेत खुलेन, होस खुलेन ।

नेपाली राजनीतिमा अहिले ‘झोले’ शब्द खुब प्रचलनमा छ । बेशरम नेताहरूको पछि लाग्ने अक्कल नभएका कार्यकर्ता वा उसले जे भने पनि सही हो भनेर कुर्लने भक्त रूपी कार्यकर्ताको पर्यायवाची शब्द बनेको छ यो । कालोलाई सेतो र सेतोलाई कालोभन्दा पनि ‘हो-हो त्यही हो भनेर’ समर्थन गर्ने झुण्ड हो यो । सुरुसुरुमा यो शब्द सुन्दा सार्वभौम जनताको अपमान नै हो भन्ने लाग्दथ्यो तर अहिले कार्यकर्ताको मनोगत अवस्था हेर्दा यो शब्दले शृंगार पाएको हो कि भन्ने भान हुन्छ । यो शब्द नेपाली राजनीतिक शब्दकोषमा ससम्मान छिरिसकेको छ । तर, नेपाली राजनीतिमा यो प्रवृत्ति ऐँजेरुको रूपमा आएको छ र यसले नेतालाई झनझन अदूरदर्शी, विवेकहीन र निरंकुश बनाउँछ ।

राजनीति कसरी अघि बढिरहेको छ ? आन्दोलनले कस्तो उभार लिइरहेको छ ? जनता दलको नीति र सिद्धान्तप्रति विश्वस्त छन्, छैनन् ? कहाँ के कमीकमजोरी भइरहेको छ ? राजनीतिक इतर व्यक्तिको आचरण र व्यवहार ठीक छ, छैन भन्नेलगायत कुराहरू पहिले पहिले हरेक राजनीतिक दलहरूले दलगत समीक्षा गर्ने, नयाँ खालको रणनीति बनाउने, आवश्यक परेमा त्यसलाई सच्याउने, त्यसैगरी नसच्चिने कार्यकर्ता वा नेतालाई दलबाट निष्काशनसमेत गर्ने गर्दथे तर त्यो संस्कार अहिले शून्य अवस्थामा छ । कार्यकर्तासँगको भेला, समीक्षा, गोष्ठीलगायत सामूहिक छलफल अहिले नेताको घरको कोठामा, त्यो पनि नेताहरू-कार्यकर्ताको सट्टा त्यही सीमित व्यक्तिबीच हुन्छन् ।

यिनीहरू आफ्नो व्यक्तिगत रिस साँध्न तथा दुनो सोझ्याउन अरूका विषयमा भए नभएका कुरा लगाउँछन् र नेताहरू पनि आफ्नो विवेक प्रयोग नगरी तिनका कुरा पत्याउँदछन् । सोझा, इमानदार र निष्ठाको राजनीति गर्ने व्यक्तिहरू जो नेताहरूको घरको ढोका काम नपरी छिर्दैनन् । यस्ता कार्यकर्तालाई कुरा नबुझी कारबाही गर्ने तथा दलको सदस्य नै नरहने गरी निष्काशन गर्ने जस्ता गलत निर्णय नेताहरूले गर्दछन् । वर्षौंदेखि दलमा निष्ठापूर्वक रहेको, त्याग र बलिदान दिएको इमानदार कार्यकर्तालाई कलंकसहित बहिर्गमनमा बाध्य बनाइन्छ । यी सबै दृश्य तथा घट्ना प्रष्टसँग देखेको, थाहा पाएको जनताले राजनीतिक दल तथा नेताहरूलाई कुन नजरले हेर्छन त ?

लोकतन्त्र संसारकै उच्चतम तथा लोकप्रिय शासनव्यवस्था । जसलाई आत्मसाथ गरेर नेपालले गणतन्त्रसम्मको फड्को मार्न सक्यो । लोकतन्त्र र गणतन्त्र दुवै शब्दले पक्कै पनि समृद्धितर्फ उन्मुख गराउँदछ । मुलुक समृद्धिको बाटोमा जानको लागि लोकतन्त्र वा गणतन्त्र एउटा नै काफी छ तर हामीकहाँ त्यतिले मात्रै पुग्दैन भनेर दुवै शब्द वा दुबै तन्त्रलाई आत्मसाथ गरेका छौं । संविधानमा उल्लेखमात्रै होइन संविधानको सफल कार्यान्वयन पनि भइरहेको छ । त्यसमा झन् संघीयताको सुगन्ध पनि थपिएको छ । तर, नेतृत्वहरू र राजनीतिक दलहरूको जालझेल र तिगडमले संघीयतालाई धमिल्याउने काम गरेको छ । जसले गर्दा जनस्तरमा संघीयताको खारेजीको कुरासमेत उठिरहेको छ । तर, जुन उद्देश्य र योजनासहित मुलुकमा संघीयता लागू गरिएको हो, त्यसमा कहाँ कमीकमजोरी भयो र कसरी त्यो कमीकमजोरी हटाउने भन्ने विषयमा हालसम्म छलफल भएको, अभिमत बुझेको थाहा छैन । यसको बारेमा न त सदनमा, न त दलमा, न त जनताका बीचमा चर्चा भएको छ । यसलाई हेर्दा नेताहरू कति गैरजिम्मेवार छन् भन्ने प्रष्ट पारेको छ ।

नेपाली राजनीतिक दल र तिनका नेतृत्वहरूले २०६२/०६३ सालको जनआन्दोलनले पुनःस्थापित संसदको व्याख्या गर्नुपर्छ कि पर्दैन ? राजसंस्थाको व्याख्या गर्नुपर्छ कि पर्दैन ? धर्मनिरपेक्षताको व्याख्या गर्नुपर्छ कि पर्दैन ? लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्नुपर्छ कि पर्दैन ? अर्थात यी सबै विषयको अध्ययन, विश्लेषण र निचोड निकाल्नुपर्छ कि पर्दैन ? त्यसको गुण-दोष छुट्टयाएर भावि रणनीति निर्माण गर्नुपर्छ कि पर्दैन ? यस्तै–यस्तै विषयलाई नदेखे झैं गर्दाखेरि जनतामा अहिले वितृष्णा बढेको हो कि होइन ?

यसको लेखाजोखा गर्नुपर्छ कि पर्दैन ? राजनीतिक परिवर्तनका नाममा लोकप्रिय र प्रचलित शब्द थोपर्दैमा शासन व्यवस्थामा सुधार आउँछ त ? सपना बाँडेरमात्रै जनतामा परिवर्तन र मुलुकमा समृद्धि आउँछ त ? यसतर्फ दलहरू कहिले सजग बन्ने, कहिले गम्भीर बन्ने ?
यस पटकको स्थानीय तहको निर्वाचन परिणाम हेर्दा नेपालका प्रचलित दलहरूको नै वर्चस्व रहेको देखिन्छ तर यसको विश्लेषण गर्दा अभिमत कता बहकिँदैछ भन्ने संकेत गरेको छ । यसमा युवाहरूको अभिमत मात्रै बहकिएको होइन, निष्ठापूर्वक दशकौंदेखि मान्दै आएको र पुज्दै आएको दलभन्दा अर्कै विचार र व्यक्तिमा वृद्धवृद्धा बुबाआमाको अभिमत गएको स्पष्ट हुन्छ ।

दलहरूले अब माइक होइन, फाइल खोजौं । बहकिने-भड्किने होइन संयमित बनौं । तपाइँ जत्तिकै शक्तिशाली अरू पनि छन् भन्ने हेक्का राखौं । माइक देख्ने बित्तिकै ठूलो स्वर गरेर, मुन्टो बटार्दै, औंला तेर्साउँदै, कुम उचालेर बोल्न छोडौं । के आजकै दुर्दशा देख्नलाई हो तपाइँहरूले राजनीति गरेको ? के राजनीतिलाई व्यापार बनाउन हो, शहीदको खेती गरेको ? निर्वाचन आयोगमा दर्ता भएका र हिजो आन्दोलनमा समाहित भएका व्यक्ति र राजनीतिक दलहरूलाई हो यो प्रश्न । तपाइँहरू अहिले कति व्यक्ति राजनीतिबाट टाढा हुनुहुन्छ ? जनतालाई भुंग्र्रोमा हालेर तथा देशलाई अधोगतिमा धकेलेर के तपाइँ आनन्दले निदाउन पाउनुहुन्छ ?

नेताजीहरू, तपाइँहरूकै गलत प्रवृतिका कारण हिजोको राणाशासन, पञ्चायती शासन र शाही शासन-सत्ताभन्दा पनि अलोकप्रिय भइसक्यो यो शासन व्यवस्था । तपाइँहरूको स्वार्थ र कुण्ठाले राजनीति दुर्गन्धित भइसक्यो । बहुदलीय व्यवस्थाभन्दा निर्दलीयतातर्फ जनअभिमत अघि बढिसक्यो । तपाइँहरूलाई लागेको होला दुई/चारवटा बालेन शाह, हर्क साम्पाङ, गोपी हमालले हाम्रो विरासत ढल्दैन । विरासत उनीहरूले ढाल्ने होइन, तपाइँहरूकै असक्षमताले ढल्ने हो, तपाइँहरूकै सहयोगीहरूले ढाल्ने हो ।

हाल परिस्थिति जे जस्तो भएको भए तापनि अझै सच्चिने ठाँउ भने बाँकी नै छ । मुख्य कुरा यो हो कि हिजोको गल्तीलाई स्मरण तथा स्वीकार गरौं र अरूको अस्तित्वलाई जरोकिलो उखाल्ने नगरी सम्मान गरौं, बस राजनीति स्वतः सँगलिन्छ । माइकको दुरुपयोगले नै आजको अवस्था आएको हो किनकि माइक यस्तो वैज्ञानिक प्रविधि हो जसको प्रयोग गरेर धेरै व्यक्तित्वहरू महान् बनेका छन् भने त्यही माइकको दुरुपयोग गरेर खरानीसमेत बनेका छन् । त्यसैले माइक होइन देश र जनतालाई प्यारो ठानौं किनकि तपाइँहरूको शुभचिन्तक माइक होइन, जनताहरू नै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Gita Adhikari
Gita Adhikari
2022-06-07 11:05 am

समसामयिक लेख

Bhumi Kala Poudel
Bhumi Kala Poudel
2022-06-07 12:47 pm

Ramro Article !👌👍️
Neta Haru Ko Buddhi Ko Birko Xittai Khulos !🤔

छुटाउनुभयो कि ?