अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरपालिकाले नउठाउने: मेयर साह

Read Time = 4 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले उक्त जानकारी दिनुभएको हो ।

‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

महानगरले पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्याउने प्रतिवद्धता उहाँले जनाउनु भएको छ । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने दाबी उहाँको छ ।

‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन,’ साहले लेख्नुभएको छ ।

अब फोहोर उठ्ने र यो सबैको लागि खुसीको खबर भएको मेयर साहले बताउनु भएको छ । उहाँले लेख्नुहुन्छ, ‘अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’

फोहोर उठ्नु मात्रै समाधान नभएको भनाइ उहाँको छ । महानगरको फोहरको समस्याको दिर्घकालिन समाधानको लागि अझै धेरै गर्न बाँकी रहेको उहाँले जनाउनु भएको छ ।

‘हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन,’ मेयर साहले भन्नुभएको छ छ ।

महानगरवासीको साथबिना समस्याको समाधान निकाल्न सम्भव नहुने उहाँले बताउनु भएको छ । उहाँले आग्रह गर्दै लेख्नुभएको छ, ‘अब तपाईँको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् ।’

कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन गर्न सहज हुने दाबी मेयर साहको छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरवासी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउने उहाँको भनाइ छ । यस्तो गर्दा महानगरवासीको कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पनि नपर्ने उहाँले जनाएका छन् ।

‘अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ,’ उहाँले सबै महानगरवासीसँग अनुरोध गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?