पार्टी भित्रकै केही चिप्ले नेताहरु मलाई बदनाम गराउन लागिपरेका छन् : मन्त्री आले

Read Time = 3 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको हो ।

उहाँले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाउनु भयो । मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेसपार्क पाइसक्यो । अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो । तर हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु/चिप्ले किराहरु आलेले धरै चलखेल गर्यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’

मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको बिरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताउनु भयो ।

उहाँले देश-विदेशमा रहेका हिन्दु धर्मावलम्वीहरुले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तो सुलवमा बस्न/खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई पशुपतिको धर्मशाला कौडीको भाउमा दिन नसक्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?