भारतीय एसएसबीद्वारा नेपाली युवक कुटिए

Read Time = 3 mins

-संजीवकुमार मिश्रा
बारा । भारतको आदापुरमा जुत्ता खरीद गर्न गएका एक नेपाली युवकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएर मंगलवार निर्घात कुटपीट गरेका छन् ।

भाइको बिहेमा सरिक हुन जुत्ता खरीद गर्न हिडेका कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वाका १६ वर्षिय सजिल मियालाई नियन्त्रणमा लिएर भारतीय एसएसवीले निर्घात कुटपीट गरेका हुन् ।

एसएसबीको कुटाईबाट घाईते भएका मियाको कलैया अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतीय सिमा क्षेत्रमा तस्करसंग एसएसबीको विवाद भएको मटिअर्वाका स्थानीयहरुले बताएका छन् । तस्करीको मालसामान बरामद गर्ने क्रममा तस्करहरुले अवरोध पु-याएपछि एसएसबीले लाठी चार्ज गरेका थिए ।

लाठी चार्जको भिडियो मोबाईलबाट खिचेको आशंकामा एसएसबीले मियालाई नियन्त्रणमा लिएर कुटपीट गरेको प्रत्यक्षदर्शीले बताए ।

घटनापछि आक्रोशित युवाले मटिअर्वावासीले मटिअर्वा भन्सार नजिकैबाट भारतिय एसएसबी तथा बिहार पुलिस माथी केहीबेर ढुङ्गा मुढा गरेका थिए । सोही क्रममा बाराको महागढीमाई मन्दिरमा दर्शन गरेर फर्किदै गरेका एक भारतीय सुरक्षाअधिकारीको सरकारी गाडीमा आक्रोशित मटिअर्वावासीले तोडफोड गर्ने प्रयास गरेका थिए ।

घटनास्थलमा तत्कालै पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय प्रहरीको गाडी तथा त्यसमा सवार भारतीय सुरक्षाअधिकारीको परिवारलाई जोगाएका थिए ।

बिहान करीब साढे ९ बजे देखि तनावग्रस्त बनेको जनजीवन सहमति पश्चात दिउँसो २ बजेपछि सामान्य बनेको बाराका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले बताउनुभयो ।

घाईते नेपाली युवकलाई भारतीय सुरक्षाअधिकारीले उपचारमा सहयोग गर्ने आश्वासन दिएपछि स्थिति सामान्य बनेको प्रउ देउवाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?