सिमी जोन कार्यक्रमले राराका किसानलाई राहत

हिमालय टाइम्स
Read Time = 5 mins

-विजय रावत

जुम्ला । सिमी जोन कार्यक्रम लागू भएपछि जुम्लाको तिला गाउँपालिका–१ राराका किसानलाई राहत भएको छ । सो वडाका किसानहरूको घरखर्चदेखि अन्य गुजारा सिमी खेतीबाटै चल्ने गरेको छ ।

किसान दलबहादुर बुढा सिमी उत्पादन गरेर बर्सेनि न्यूनतम ८ देखि १२ क्विन्टल बेच्छन् । प्रतिकेजी २२० रुपैयाँमा घरमै बिक्री हुने गरेको छ । बुढाले भन्नुभयो, ‘१० क्विन्टल बेच्दा दुई लाख २० हजार रुपैयाँ कमाए । सिमीबाट कमाएको रुपैयाँले घरको आवश्यकता पूरा हुने गरेको छ । सिमी खेतीको राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँका किसानको सिमी एक मुख्य आर्थिक स्रोत हो ।’

सिमीको उत्पादन निकै कम हुँदा मूल्य आकासिएको छ । कालिकोटका व्यापारी ग्रामीण बस्तीमा पुगेर सिमी खरिद गरेर लैजान्छन् । जुम्ली सिमी कर्णालीका जिल्लालगायत देशका ठूला सहर सुर्खेत, नेपालगञ्ज, काठमाडौं, पोखरा, चितवन, बुटवलको बजारसम्म पुग्ने गरेको स्थानीय व्यापारी कालिबहादुर बुढाले जानकारी दिनुभयो । पछिल्लो समयमा सिमीको माग नेपाली बजारमा बढेको छ । सिमी उत्पादन धेरै हुँदा पहिला १६० रुपैयाँ प्रतिकेजीमा बिक्ने जुम्ली सिमी अहिले २२० सम्म पुगेको छ ।

सिमीले मूल्य पाउन थालेपछि बाँझो बारी सबैतिर सिमी छर्न थालिएको रारावासी बताउँछन् । किसानको सिमीप्रतिको लगाव देखेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुम्लाले यस क्षेत्रलाई सिमी जोनका रूपमा अघि बढाएको छ । सिमी खेती गर्ने किसानका लागि प्रतिकेजी सिमीमा ५० प्रतिशत अनुदान दिने व्यवस्था कार्यालयले गरेको छ ।

सिमी खेती प्रविधि, सिमी खेतीबाट हुने फाइदा र सिमी खेती गर्ने तरिका र सिमीको मूल्य तोक्नेलगायत विषयमा किसानसँग छलफल गर्न थालिएको स्याउ सुपरजोन जुम्लाका कार्यालय निमित्त कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले बताउनुभयो । तिला १ र २ मा सिमी जोन कार्यक्रम सुरु भएको छ । व्यावसायिक रूपमा सिमी खेती गरेर किसानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन कार्यालय लागिपरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय जुम्लाले जनाएको छ ।

सिमी जोन क्षेत्रमा रातो, कालो, सेतो, गाढा रातो, छिप्रे, रातो सेतो, कालो सेता भएको सिमी जिल्लामा उत्पादन हुने गरेको सो कार्यालयले जनाएको छ । तिला १ मा सिमी जोन समन्वय समितिसमेत बनेको छ । समितिले सिमीको उत्पादन, बजारीकरण, मूल्य निर्धारण र रोगकिराको प्रकोप, समाधानका उपायबारे छलफल चलाउने जस्ता काम समितिले गरेको वडाध्यक्ष जंगबहादुर बस्नेतले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जिल्लामा २१ हेक्टरमा सिमी खेती हुने गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा सिमी खेती हुने गरेको कृषि विकास कार्यालय जुमलाका प्रविधिक सुकिराम नेपालीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?