हुम्लाका किसानलाई धान रोप्ने चटारो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हुम्ला नेपालको उच्च हिमाली जिल्लामा पर्दछ । यहाँ वर्षमा एकपटक धान उत्पादन हुन्छ । धान जस्तै उच्च हिमाली क्षेत्रमा उवा, जौ र गहुँ पनि वर्षमा एक पटक मात्रै उत्पादन हुन्छ । अन्य समयमा कागुनो, कोदोलगायत जातका बाली वर्षमा दुईपटक उत्पादन हुन्छ । धान उत्पादन जन्मजातदेखि यहाँ उत्पादन हुँदै आएको छ ।

जिल्लाको उच्च क्षेत्रमा रहेको सिमकोट गाउँपालिका-८ खोल्सी गाउँमासमेत यहाँका स्थानीयले धान उत्पादन गर्दै आएका छन् । प्रत्येक वर्षको जेठ महिनाको मध्यदेखि असार पहिलो हप्तासम्म यहाँका किसानलाई धान रोपाइँको चटारो पर्ने गर्दछ । यहाँका किसानले हुम्लामा दुईथरि धानको उत्पादन गर्दछन् । जिल्लामा रातोमार्सी धान र कालोमार्सी धान उत्पादन हुँदै आएका छन् । हुम्लाको खोल्सी, ग्याग्ररू, ताक्ला, बाम्टा, याङ्चु, छिप्रा, रिप, उनापानी, दार्मा लगायतका गाउँमा रहेका (जिउल) अर्थात खेतमा किसानलाई धान रोप्न भ्याइनभ्याई भएको छ ।

यतिबेला किसानलाई कालीमार्सी तथा अन्य जातको धान रोपाइँमा बिहानदेखि रातिसम्म खेतमा भ्याइनभ्याई भएको खार्पुनाथ गाउँपालिका–५ का स्थानीय दिल्ली बोहराले बताउनुभयो । जेठको मध्यदेखि असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो लाग्ने गरेको उहाँले बताउनुभयो । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक जिल्लाको ६ वटा गाउँपालिकामा धान उत्पादान हुने गरेको जिल्ला कृषि विकास कार्यालय हुम्लाले बताएको छ । धान उत्पादन सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिका रहेका छन् ।

जिल्लाका ६ वटा गाउँपालिकाको ५८० हेक्टर क्षेत्रमा धान उत्पादन हुँदै आएको सोही कार्यालयले जनाएकोे छ । यतिबेला यहाँका किसान अन्य बालीको खनजोत नहुने भएका कारण धान रोपाइँमा व्यस्त हुने गरेका छन् ।

बिहानैदेखि खेतमा हलीसहित रोपाइँमा व्यस्त हुने गरेको सिमकोट गाउँपालिका-२ का हेमन्त बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्याग्ररू (जिउला) अर्थात् खेतमा प्रायजसो अधिकांशका गाउँका स्थानीयको खेत छन्, यस क्षेत्रमा वर्षौंदेखि धान उत्पादन हुँदै आएको छ, राम्रो उत्पादन नभए पनि अन्य बाली उत्पादन नहुने भएकाले धान खेती मात्र गरिँदै आएको छ ।’ यहाँ धान र मकै उत्पादन हुन्छ प्रायजसो किसानले धान मात्रै फलाउने गरेको उहाँको भनाइ छ ।

हुम्लामा एक केजी धानको दुई सयदेखि २५० सम्म मूल्य पर्ने गरेको उहाँले बताउनुभयो । हुम्लाको बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा मात्रै धान उत्पादन हुने गर्दछ । नाम्खाबाहेक जिल्लाको ६ वटै स्थानीय तहमा धान खेती हुन्छ ।

यस्तै, हुम्लालगायत कर्णाली प्र्रदेशका जुम्ला, मुगु, कालिकोट, जाजरकोट, रुकुम र दैलेख लगायतका जिल्लामा धान रोपाइँ सुरु भइसकेको छ । उच्च पहाडमा फल्ने धानको भात स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरूभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र अडिलो हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?