-डम्मर बुढा मगर
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा नाउरको संख्या घटेको छ भने झारल बढेको छ । आरक्ष कार्यालयका अनुसार यसपटकको गणनामा एक हजार २९० नाउर र ७४४ झारल भेटिएका छन् । अघिल्लो गणना २०७२ को तुलनामा नाउरको संख्या कम र झारलको बढी रहेको पाइन्छ ।
२०७२ मा आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ । बर्सेनि १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको संख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो ।
‘नाउरको संख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो,’ उहाँले भन्नुभयो, ‘गणनामा भेटिने नाउर र झारलको संख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ ।’ नाउरको संख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ । केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो । सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’ मा पुगेर नाउर र झारलको गणना गरिएको बताउनुभयो । ‘झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ,’ उहाँले भन्नुभयो, ‘हरेक सिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ, सिकार कोटा पनि त्यहीअनुसार तोकिन्छ ।’ पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत् गरिएको आरक्ष कार्यालयले जनाएको छ ।
नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, वरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भए पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ । झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विश्वविख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् ।
लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरू लालायित हुन्छन् । स्वदेशी सिकार कम्पनीमार्फत् विदेशी सिकार खेल्न जान्छन् । बर्सेनि असोज-मंसिर र फागुन-वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । चालु आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ ।
सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एन्ड ट्रेल्र्सले यस वर्ष सिकार खेलाएको थियो । अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । विद्युतीय बोलपत्रमार्फत् छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ ।
कम्पनीले यस वर्षको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम तीन लाख ५० हजारदेखि १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिनुभयो । कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ ।
बन्दाबन्दी र यात्रा प्रतिबन्धका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ । पछिल्लो समय ढोरपाटन मोटरबाटोले जोडिएपछि आन्तरिक तथा बाहृय पर्यटकको समेत घुइँचो लाग्न थालेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच