काठमाडौं । बिमा समितिले गाभ्ने गाभिने र प्राप्ति गर्न इच्छुक कम्पनीलाई २०७९ असारभित्र समझदारीपत्रमा हस्ताक्षर गरिसक्न निर्देशन दिएको छ । समितिले सोमबार इजाजतप्राप्त सबै बिमा कम्पनीलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
न्यूनतम चुक्ता पुँजी पूरा गर्न मर्जर÷प्राप्ति गर्ने प्रक्रियामा संलग्न हुन इच्छुक कम्पनीले कर छुट तथा सुविधासमेत प्राप्त गर्न २०७९ असारभित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने परिपत्रमा उल्लेख छ ।
मर्जरका लागि समझदारी गरेका कम्पनीले गाभिने प्रक्रिया २०८० असारभित्र पूरा गर्नुपर्नेछ । मर्जरमा जाने कम्पनीका लागि सेयरधनीले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्री भएको सेयरमा पुँजीगत लाभ कर नलाग्ने, दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने र गाभिने प्रक्रियामा रहेका बिमकले कर्मचारीलाई सामूहिकरूपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट भुक्तानी कर कट्टी दरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । बिमा समितिले २०७८ चैत ११ गते निर्जीवन बिमा कम्पनीलाई दुई अर्ब ५० करोड र जीवन बिमा कम्पनीलाई पाँच अर्ब पुँजी पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।